योगी आदित्यनाथको घोषणाः बाँकेसहित नेपालको सीमामा ‘मित्र वन’ बनाउने

मित्र वनका लागि ३५ करोड बिरुवा रोपिदैँ


सेतोखरी सेतोखरी   सोमबार, असार २४, २०८१
योगी आदित्यनाथको घोषणाः बाँकेसहित नेपालको सीमामा ‘मित्र वन’ बनाउने

लखनऊ(यूपी–भारत) २३ असार : नेपाल–भारत सीमामा ‘मित्र वन’ बनाइने भएकोछ । भारतको उत्तर प्रदेश सरकारले नेपालसँगको सीमाक्षेत्रमा ‘मित्र वन’ बनाउने घोषणा गरेको हो । 
योगी आदित्यनाथको सरकारले आफ्नो ‘वृक्षरोपण जनअभियान–२०२४’ अन्तर्गत उक्त वनको घोषणा गरेको छ ।

मित्र वन बनाउन ३५ क्षेत्र छुट्ट्याइएको जनाइएको छ । मुख्यमन्त्री योगी आदित्यनाथको निर्देशनानुसार वन विभागका कर्मचारी उक्त अभियानका निम्ति सक्रिय भएर लागेका छन् ।

अभियानअन्तर्गत ३५ करोड बिरुवा रोपिनेछ । अभियान यही जुलाई २० देखि सुरु हुनेछ । नेपालसँग सीमा जोडिएका सबै जिल्लामा यसको तयारी भइरहेको जनाइएको छ ।

मुख्य रूपमा महाराजगञ्जका सुनौली, लखिमपुर खेरी, श्राबस्ती, बहराइच, पिलभीतलगायत सीमावर्ती क्षेत्रमा वृक्षरोपण गरिनेछ । त्यसक्रममा सीमाक्षेत्रका नेपालका प्रतिनिधिसँग समेत संयुक्त रूपमा काम गरिने जनाइएको छ ।

योगी आदित्यनाथले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको ‘एक पेड मा के नाम’ अभियानलाई साथ दिन यो अभियान ल्याएका बताइएको छ । 

नेपालको बाँके जिल्ला भारत उत्तरप्रदेश राज्यको बहराईच जिल्लासँग ६५ किलोमिटरको सीमा क्षेत्रफल रहेकोछ । भारतसँग बाँकेको नेपालगन्ज उपमहानगरपालिकासंगै राप्तीसोनारी, नरैनापुर, डुडुवा, जानकी र खजुरा गाउँपालिकाको सीमाना जोडिएकोछ ।

‘मित्र वन’ले नेपाल–भारत सीमा जोडिएका क्षेत्रमा रहेका नेपालका सामुदायिक वन संरक्षणमा समेत टेवा पुग्ने अपेक्षा राखिएकोछ । यी वनजङ्गल हुँदै वन्यजन्तु दुईदेश ओहोरदोहोर समेत गर्ने गर्छन् ।