नेपालगन्ज ३१ असार : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले २१ मन्त्रालयको जिम्मेवारी टुंग्याएर ४५औँ प्रधानमन्त्रीका रूपमा शपथ ग्रहण गरे । सरकारमा नेपाली काँग्रेस, एमाले, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी सहभागी भएका छन् ।
ओली सरकारमा राजनीतिक पृष्ठभूमिबाट आएकाले नै मन्त्री पाएका छन् । तर, विषयविज्ञ भने कम छन् । विभिन्न कालखण्डमा दल अदबदल गरी मन्त्रीबनेकाहरूदेखि नयाँ अनुहार मन्त्रिपरिषद्मा अटाएका छन् । ओली मन्त्रिपरिषद्मा दलित समुदायको प्रतिनिधित्व शून्य छ । दुई महिलाले जिम्मा पाएका छन् ।
हेरौं मन्त्री बनेकाहरूको संक्षिपत पृष्ठभूमि
प्रकाशमान सिंह, उपप्रधान तथा सहरी विकास मन्त्री
–नेपाली काँग्रेसका पूर्वउपसभापति प्रकाशमान सिंह उपप्रधानसहित सहरी विकासमन्त्री बनेका छन् । उनकै नेतृत्वमा काँग्रेस सरकारमा गएको हो । सिंहले यसअघि स्थानीय विकास र संघीय मामिला मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् ।
२०३० सालमा राजनीतिमा होमिएका सिंह ०३६ सालमा नेपाल विद्यार्थी संघको काठमाडौं जिल्ला अध्यक्ष बनेका थिए । ०४६–०५६ सम्म काँग्रेस काठमाडौं जिल्ला सभापति भएका उनी २०५७ मा केन्द्रिय सदस्य निर्वाचित भएका थिए । उनी ०४८ मा काठमाडौं–४ र ०५६ मा काठमाडौं–३ बाट संसदीय निर्वाचनमा पराजित भएका थिए । ०६४, ०७०, ०७४ र ०७९ मा लगातार काठमाडौं–१ बाट निर्वाचित भए ।
उनी ०६५ सालमा काँग्रेस (प्रजातान्त्रिक)को उपसभापति बनेका थिए । सिंह ०६७ मा काँग्रेस महामन्त्री निर्वाचित भए । ०७८ मा भएको १४औँ महाधिवेशनमा सभापतिको उमेदवार बनेका थिए । उनी पहिलो चरणमा पराजित भएपछि उमेदवार बनेनन् ।
विष्णु पौडेल, उपप्रधान तथा अर्थमन्त्री
–एमालेका उपाध्यक्ष समेत रहेका विष्णु पौडेल उपप्रधानसहित अर्थमन्त्री बनेका छन् । उनी ७औँ पटक मन्त्री बनेका हुन् । उनी २०५३ मै पहिलोपटक युवा, खेलकुद तथा संस्कृतिमन्त्री भएका थिए । त्यसपछि २०६७ मा झलनाथ खनाल नेतृत्वको सरकारमा रक्षामन्त्री बने ।
पौडलेको राजनीतिक यात्रा २०३३ सालदेखि सुरु भएको संसद्को रेकर्डमा छ । उनी २०३५ सालमा अखिल नेपाल कम्युनिस्ट क्रान्तिकारी कोअर्डिनेसन कमिटी (मार्क्सवादी–लेनिनवादी)को सदस्य भएका थिए । पौडेल २०४१ सालदेखि जिल्ला कमिटी सचिव नेकपा (माले), २०४७ मा एमालेको केन्द्रीय सदस्य बनेका थिए । २०५९ देखि स्थायी कमिटी सदस्य बने । ०७१ सालमा एमालेका नवौँ महाधिवेशनबाट उपमहासचिव भए । ०७५ मा एमाले र माओवादी केन्द्रबीच एकता भई नेकपा गठन हुँदा उनी महासचिव बनेका थिए ।
पौडेल २०५१ को चुनावमा निर्वाचित भएका थिए । त्यस्तै, २०६४ र २०७० को संविधान सभा निर्वाचनमा निर्वाचित भएका थिए । २०७४ र ०७९ को निर्वाचनमा रुपन्देही–२ बाट निर्वाचित भए ।
अर्थमन्त्रीका रूपमा भने पौडेलको यो पाँचौँ कार्यकाल हो । उनी २०७२ मा ओली पहिलोपटक प्रधानमन्त्री बन्दा अर्थमन्त्री बनेका थिए । ओलीको दोस्रो कार्यकालमा सुरुवातमा युवराज खतिवडा अर्थमन्त्री थिए । उनी बाहिरिएपछि २०७७ मा पौडेलले दोस्रो कार्यकालको रूपमा अर्थ मन्त्रालय सम्हालेका थिए । २०७८ वैशाखमा प्रधानमन्त्री ओलीले राजीनामा दिएर पुनः प्रधानमन्त्री नियुक्त भएपछि पौडेल तेस्रोपटक उपप्रधान तथा अर्थमन्त्री बनेका थिए ।
त्यसपछि उनी २०७९ साल पुस १० मा बनेको नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकारमा उपप्रधानसहित अर्थमन्त्री बने । उनले त्योबेला जम्मा ६४ दिन मात्र अर्थमन्त्रीको कार्यभार सम्हाले ।
पृथ्वीसुब्बा गुरुङ, सञ्चार तथा सूचना प्रविधिमन्त्री
–एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ सञ्चार तथा सूचना प्रविधिमन्त्री बनेका छन् । २०३३ सालबाट राजनीतिमा होमिएका गुरुङ एमालेको सातौँ महाधिवेशनबाट केन्द्रिय सदस्य बनेका थिए । ०६५ को आठौँ महाधिवेशबाट पोलिट ब्युरो सदस्य भए । ०७१ को नवौँ महाधिवेशनबाट पार्टी सचिव बनेका थिए । उनी संविधानसभा सदस्य हुन् । उनी ०६४ सालमा संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री बनेका थिए ।
गुरुङ गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री पनि बने । उनी २०७९ को निर्वाचनमा भने लमजुङबाट माओवादी केन्द्रका महासचिव देव गुरुङलाई पराजित गर्दै निर्वाचित भएका थिए । उनी एमालेको दशौँ महाधिवेशनबाट उपमहासचिव बनेका हुन् ।
रमेश लेखक, गृहमन्त्री
–नेपाली काँग्रेसका सांसद रमेश लेखक गृहमन्त्री बनेका छन् । ०४६ सालको जन आन्दोलसँगै सक्रिय राजनीतिमा होमिएका थिए । उनी ०५६ सालमा पहिलोपटक कञ्चनपुर–४ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए । उनी ०६४ र ०७० को संविधानसभा सदस्य बनेका थिए । उनले श्रम राज्यमन्त्री, भौतिक पूर्वाधारमन्त्रीको जिम्मेवारी सम्मालिसकेका छन् ।
शरदसिंह भण्डारी, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री
–लोकतान्त्रिक समाजवादी पार्टीका सांसद् शरतसिंह भण्डारी श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री बनेका छन् । उनी १७औँपटक मन्त्री बनेका हुन् । उनी २०३८ र ०४३ मा राष्ट्रिय पञ्चायत सदस्य थिए ।
२०४८, ०५१, ०५६, ०६४, ०७०, ७४, ०७९ को निर्वाचन जितेका भण्डारी लगातार मन्त्री बन्दै आएका छन् । उनी ०४५ सालमा वाणिज्य राज्यमन्त्री भएका थिए । ०५२ मा मन्त्री भएका थिए । विभिन्न कालखण्डमा उनी मन्त्री बन्दै आएका छन् ।
डा. आरजु राणा देउवा, परराष्ट्र मन्त्री
–नेपाली काँग्रेसकी सांसद आरजु डा. आरजु राणा देउवा पहिलोपटक मन्त्री बनेकी छन् । ओली मन्त्रिपरिषद्मा उनले परराष्ट्र मन्त्रालयको जिम्मेवारी पाएकी छन् । काँग्रेस सभापति शेरबहादुर देउवा पत्नी राणा ०७९ को निर्वाचनमा समानुपातिक सांसद् बनेकी हुन् । सांसद बनेपछि कृषि समितिको सभापतिको जिम्मेवारी पाएकी आरजु पहिलोपटक सोमबार मन्त्री बनेकी हुन् ।
उनी ०६४ र ०७० को संविधानसभा सदस्य हुन् । ०७४ को निर्वाचनमा भने उनी कैलाली–५ बाट पराजित भएकी थिइन् । उनलाई एमालेका नारदमुनि रानाले पराजित गरेका थिए ।
प्रदीप यादव, खानेपानी मन्त्री
–जनता समाजवादी पार्टीका सांसद प्रदीप यादवले खानेपानी मन्त्रीको जिम्मेवारी पाएका छन् । उनी दोस्रोपटक मन्त्री बनेका हुन् । जनता समाजवादी पार्टी, नेपाल विभाजनपछि उनले मन्त्री बन्ने मौका पाएका थिए । प्रचण्ड नेतृत्वको सरकारमा उनी ०८१ वैशाख ३१ गते स्वास्थ्यमन्त्री बनेका थिए । जसपाले प्रचण्ड सरकारको समर्थन फिर्ता लिएर कांग्रेस–एमाले गठबन्धनलाई साथ दिँदा उनी मन्त्री बनेका हुन् । उनले ०७४ मा पर्साबाट चुनाव जितेका थिए ।
बलराम अधिकारी, भूमि व्यवस्था तथा सहकारी मन्त्री
–बलराम अधिकारी मन्त्रीमा दोहोरिएका छन् । उनी भूमि व्यवस्था तथा सहकारी मन्त्रीमा दोहोरिएका हुन् । गएको फागुनमा एमाले–माओवादी गठबन्धन पुनः बनेपछि उनी मन्त्री बनेका थिए । ०३४ सालबाट राजनीतिमा होमिएका अधिकारी ०४२ मा एमाले कपिलवस्तु जिल्ला कमिटी सदस्य बनेका थिए । २०५० देखि २०७९ सम्म जिल्ला पार्टी प्रमुख, २०७० देखि २०७७ सम्म अञ्चल प्रदेश कमिटीमा आबद्ध भएका थिए । ०७८ देखि केन्द्रिय सदस्य कपिलवस्तु इन्चार्ज बनेका थिए ।
उनी ०५६ मा कपिलवस्तु क्षेत्र नम्बर–३, ०६४ मा कपिलवस्तु क्षेत्र नम्बर १ को निर्वाचनमा पराजित भएका थिए । ०७० मा संविधान सभा सदस्य निर्वाचित भएका अधिकारी २०७९ मा प्रतिनिधिसभा सदस्य बनेका हुन् ।
दामोदर भण्डारी, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री
–दामोदर भण्डारी तेस्रोपटक मन्त्री बनेका छन् । भण्डारी उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री बनेका हुन् । ०४६ बाट राजनीतिमा होमिएका हुन् । बैतडीका भण्डारी अनेरास्ववियु जिल्ला अध्यक्ष भएका थिए । २०४९ सालमा (एमाले) जिल्ला कमिटी सदस्य, २०५४ सालमा जिल्ला उपसचिव भएका थिए । भण्डारीले एमाले जिल्ला अध्यक्ष हुँदै (एमाले) सुदूरपश्चिम प्रदेश कमिटीको अध्यक्षको जिम्मेवारी सम्हालिसकेका छन्।
०७९ को निर्वाचनमा बैतडी–१ बाट निर्वाचित भएका भण्डारी त्यसयता एमाले सरकारमा हुँदा लगातार मन्त्री भएका छन् । उनी ०७९ पुस ११ गते मन्त्री बनेका थिए । त्यस्तै, फेरि एमाले माओवादी गठबन्धन बनेपछि गएको फागुनमा उद्योग मन्त्री बनेका थिए । भण्डारी ०७० र ७४ मा पनि सोही क्षेत्रबाट निर्वाचित भएका थिए । उनी यसअघि ०७३ सालमा अर्थराज्यमन्त्री बनेका थिए ।
नवलकिशोर साह सुडी, महिला बालबालिका तथा समाजकल्याणमन्त्री
–जसपाका सांसद नवलकिशोर साह महिला बालबालिका तथा समाजकल्याणमन्त्री बनेका छन् । जसपा विभाजनमा साथ दिँदा उनले प्रचण्ड नेतृत्वको सरकारमा वन मन्त्रीको जिम्मेवारी निरन्तर पाएका थिए । ०७९ को निर्वाचनमा सप्तरी–१ बाट निर्वाचित साह ०८० फागुन २७ गते वनमन्त्री बनेका थिए । उनी ०७४ को निर्वाचनमा सप्तरी–१ को खबाट प्रदेशसभा सदस्य बनेका थिए ।
देवेन्द्र दाहाल, भौतिक पूर्वाधार तथा यातायात मन्त्री
–२०३६ मा तत्कालीन मालेबाट राजनीति सुरु गरेको देवेन्द्र दाहाल मन्त्री बनेका छन् । राष्ट्रियसभा सदस्य दाहाल भौतिक पूर्वाधार तथा यातायात मन्त्री बनेका हुन् । उनी ०५३ मा एमाले झापा जिल्ला सचिव थिए । उनी ०७६ माघ ९ गते राष्ट्रियसभा सदस्य निर्वाचित भएका थिए । उनी कोसीबाट अन्यतर्फ निर्वाचित भएका थिए । ०७९ पुुस १२ गते उनले एमाले राष्ट्रियसभा संसदीय दलको नेताको जिम्मेवारी पाएका थिए ।
तेजुलाल चौधरी, युवा तथा खेलकुद मन्त्री
–नेपाली काँग्रेसका सांसद तेजुलाल चौधरी युवा तथा खेलकुद मन्त्री बनेका छन् । ०७३ मा खेलकुद राज्यमन्त्रीको जिम्मेवारी पाएका चौधरी अहिले खेलकुदमन्त्री बनेका हुन् । उनी ०७० को दोस्रो संविधानसभा सदस्य हुन् । त्यस्तै, ०७४ मा पनि उनी निर्वाचित भएका थिए । ०६४ सालबाट महासमिति सदस्य भएका थारू कल्याणकारिणी सभा र थारू विद्यार्थी समाजको केन्द्रिय सल्लाहकार हुन् ।
प्रदीप पौडेल, स्वास्थ्यमन्त्री
–स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलले पाएका छन् । ०७९ को मा काठमाडौं–५ बाट निर्वाचित पौडेल पहिलोपटक मन्त्री बनेका हुन् । ०४६ सालको आन्दोलबाट सक्रिय भएका पौडेल ०५३ मा अमृत साइन्स क्याम्पसको स्ववियु सभापति बनेका थिए । ०६४ मा नेविसंघको केन्द्रिय सभापति बने । उनी ०७० देखि निरन्तर काँग्रेस केन्द्रिय सदस्य छन् । ०७८ मा भएको काँग्रेस महाधिवेशनमा पौडेल महामन्त्रीमा पराजित भएका थिए ।
अजय चौरासिया, कानून मन्त्री
–पर्सा–२ बाट निर्वाचित नेपाली काँग्रेसका सांसद अजय चौरासिया कानून न्याय तथा संसदीय मामिला मन्त्रीको जिम्मेवारी पाएका छन् । कांग्रेसका केन्द्रीय सदस्य चौरासिया ०५६ सालमा प्रतिनिधि सभामा पर्सा–२ बाट निर्वाचित भएका थिए । उनी २०५८ सालमा स्थानीय विकास सहायकमन्त्री बनेका थिए । पुनःस्थापित प्रतिनिधिसभा एवम् अन्तरिम व्यवस्थापिका संसदको सदस्य भए । पहिलो संविधानसभा सदस्य निर्वाचनमा पर्सा–३ बाट निर्वाचित भएका थिए । दोस्रो जनआन्दोलनमा पटकपटक थुनामा परेका थिए । पौने चार महिना वीरगन्ज कारागारमा जेल परेको संसद् सचिवालयमा प्रकाशित पुस्तकमा उल्लेख छ ।
बद्री पाण्डे, संस्कृति पर्यटन मन्त्री
–संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको जिम्मेवारी नेपाली काँग्रेसका सहमहामन्त्री बद्री पाण्डेले पाएका छन् । उनी पहिलोपटक मन्त्री बनेका हुन् । ०५० मा नेविसंघ बाजुरा बाजुरा जिल्ला अध्यक्ष भएका थिए । ०५३ मा स्ववियू सभापति, बाल्मिकी क्याम्पस, २०५४ सालमा स्ववियू परिषद् अध्यक्ष, ०५६ सालमा केन्द्रीय सदस्य नेविसंघ, २०५७ सालमा सहमहामन्त्रीको जिम्मेवारी पाएका थिए ।
उनी ०७० सालमा संविधान सभा सदस्य बने । २०७४ सालमा राष्ट्रियसभा सदस्य बनेका थिए । राष्ट्रियसभामा उनको कार्यकाल दुई वर्षको थियो । ०७९ मा बाजुरा क्षेत्र–१ मा निर्वाचित भएका थिए ।
रामनाथ अधिकारी, कृषीमन्त्री
–नेपाली काँग्रेस धादिङ सभापतिसमेत रहेका सांसद रामनाथ अधिकारी कृषीमन्त्री बनेका छन् । उनी पहिलोपटक मन्त्री बनेका हुन् । ०५६ को आमनिर्वाचनमा उनी धादिङ नम्बर–२ बाट निर्वाचित भएका थिए । उनी ०६४ र ०७० को निर्वाचनमा काँग्रेसबाट टिकट पाए पनि पराजित भएका थिए । ०७९ को निर्वाचनमा भने धादिङ–२ बाट विजयी भए ।
०५४ देखि ०७२ सालसम्म काँग्रेस धादिङको सभापति बनेका अधिकारी ०७८ पुनः सभापति बनेका थिए ।
विद्या भट्टराई, शिक्षा मन्त्री
–एमाले सांसद विद्या भट्टराई शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री बनेकी छन् । ०४७ सालदेखि राजनीतिक दलमा आबद्ध भएकी भट्टराई पहिलोपटक मन्त्री बनेकी हुन् । उनी ०५५ सालमा अनेरास्ववियुको केन्द्रिय सचिव भएकी थिइन् । उनी एमाले केन्द्रिय कमिटी सदस्यसमेत हुन् । उनी त्रिभुवन विश्वविद्यालयको प्राध्यापक थिइन् ।
संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री बनेका बेला श्रीमान् रविन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा निधन भएपछि संसदीय राजीतिमा होमिएकी हुन् । उनी अधिकारीको निधनपछि रिक्त स्थानमा ०७६ मा भएको उपनिर्वाचनबाट सांसद बनिन् । ०७९ को प्रतिनिधिसभा निर्वाचनमा पनि सोही क्षेत्रबाट निर्वाचित भएकी हुन् ।
मानवीर राई, रक्षामन्त्री
–एमाले सांसद मानवीर राई रक्षामन्त्री बनेका छन् । संसद् सचिवालयले प्रकाशित गरेको पुस्तकमा उल्लेख भए अनुसार राई ०४२ सालबाट राजनीति दलमा आबद्ध भएका थिए । भूमिगत विद्यार्थीथी आन्दोलनमा सहभागी बने । ०५४ मा जिल्ला विकास समिति सदस्य बनेका थिए । त्यसपछि दुर्गम क्षेत्र विकास समिति सदस्य हुँदै दलीय जिम्मेवारीमा आबद्ध रहे । उनी ०७९ को निर्वाचनमा सोलुखुम्बु क्षेत्र नम्बर–१ बाट निर्वाचित भएका हुन् । एमाले केन्द्रिय सदस्य समेत रहेका राईले नेपाली कांग्रेसका बलबहादुर केसीलाई पराजित गरेका थिए ।
दीपक खड्का, ऊर्जा मन्त्री
–ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्रीको जिम्मेवारी काँग्रेस सांसद दीपक खड्काले पाएका छन् । संखुवासभा क्षेत्र नम्बर १ बाट निर्वाचित खड्का ०७३ मा सुशील कोइराला नेतृत्वको सरकारमा खानेपानी तथा स्वास्थ्य राज्यमन्त्री बनेका थिए । उनले ऊर्जा मन्त्रालयको जिम्मेवारी पाएका हुन् । ०७२ मा संखुवासभा–२ बाट निर्वाचित भएका खड्का ०६४ सालको निर्वाचनमा भने पराजित भएका थिए ।
राजकुमार गुप्ता, संघीय मामिला तथा समान्य प्रशासनमन्त्री
–एमाले सांसद राजकुमार गुप्ता संघीय मामिला तथा समान्य प्रशासनमन्त्री बनेका छन् । ०३४ सालबाट राजनीतिमा होमिएका थिए । पर्साका गुप्ता त्यसपछि अखिल, युवासंघमा आबद्ध हुँदै ०६७ सालमा पार्टीको क्षेत्रीय अध्यक्ष बनेका थिए । ०७० सालमा संविधानसभा सदस्य बनेका थिए । ०७४ सालको निर्वाचनमा पराजित भएका थिए । ०७८ मंसिरमा भएको एमालेको दशौँ महाधिवेशनबाट केन्द्रिय सदस्य बनेका थिए । ०७९ को प्रतिनिधिसभा निर्वाचनमा पर्सा–३ बाट निर्वाचित भएका थिए ।
ऐनबहादुर शाही, वन तथा वातावरण मन्त्री
–वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी नेपाली काँग्रेसका सांसद ऐनबहादुर शाहीले पाएका छन् । उनी पहिलोपटक मन्त्री बनेका हुन् । मुगु–१ बाट निर्वाचित भएका शाही ०७० को संविधानसभा निर्वाचनमा भने पराजित भएका थिए । ०४३ सालबाट राजनीतिक दलमा आबद्ध भएका शाही विभिन्न समयमा काँग्रेसको मुगु सभापतिको जिम्मेवारीमा रहे ।
आप्रवासन रोक्न माग गर्दै अष्ट्रेलियामा प्रदर्शन सुरु
१ घण्टा अगाडि
बाँकेमा यी तीन युवाले बनाएको ‘फूल’को संसार
१६ घण्टा अगाडि
आप्रवासन रोक्न माग गर्दै अष्ट्रेलियामा प्रदर्शन सुरु
डोल्पा जेल ब्रेक : भागेर जंगलमा बसेका दुई कैदीहरू, अब दुई जना बाँकी
बाँकेमा यी तीन युवाले बनाएको ‘फूल’को संसार
अब नेपालगन्ज धाउनुपर्दैन, कोहलपुर नगरपालिकाबाटै पाइनेछ प्यान नम्बर
अनुसन्धान हुनुपर्ने गगन थाप कि कुमार बेनमाथि?
दैलेखमा घरघर घुसेर हँसिया प्रहार, एकजनाको मृत्यु, चारजना गम्भिर घाइते