नेपालगन्ज : ज्ञानोदय सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्रले कोहलपुरमा बृहत्त रक्तदान कार्यक्रम गरेको छ । ‘पठन संस्कृतीको पूर्वाधारः पुस्तकालयको विकास र विस्तार’ भन्ने मूल नारासहित १२ औं राष्ट्रिय पुस्तकालय दिवशको तथा १८ औं साधारण सभाको सन्दर्भमा पुस्तकालयले रक्तदान कार्यक्रम गरेको हो ।
सप्ताहव्यापी कार्यक्रम अन्र्तगत आयोजित रक्तदान कार्यक्रममा ६१ पिन्ट रगत संकलन भएको छ । कार्यक्रमको उद्घाटन गर्दै कोहलपुर नगरपालिका उपप्रमुख सञ्जु कुमारी थारुले सामाजिक संस्थाहरुले यस्ता सामाजिक गतिविधीमा सक्रियता बढाउँदा रगत अभावको समस्या अन्त्य हुने बताइन् ।
उनले रक्तदान जिवनदान भन्ने मूल नारालाई जो कोहीले पनि आत्मसाथ गर्नुपर्नेमा जोड दिइन् । रगत अभाव आपतकालिन रुपमा जो कोहीलाई पनि आवश्यक पर्ने भएकाले रक्तदान जस्तो महान एवम् पवित्र कार्यमा सबैको उपस्थिती तथा सहभागिता हुनुपर्ने उनको भनाई थियो ।
रगत अभावमा दुर्घटनाग्रस्त तथा विरामीहरुले अकालमै ज्यान गुमाउन नपारेस् भन्ने उद्देश्य सहित कार्यक्रमको आयोजना गरिएको पुस्तकालयका उपाध्यक्ष तथा कार्यक्रम संयोजक लाल बहादुर रानाले बताए ।
नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र कोहलपुरको प्राविधिक सहयोगमा आयोजित कार्यक्रममा पुस्तकालयका आजिवन सदस्यहरु, उद्योगी, व्यवसायी, पत्रकार तथा नगरवासीहरुले स्वतः स्फुर्त रुपमा रक्तदान गरेको पुस्तकालयका अध्यक्ष चेतकान्त भट्टराईले बताए ।