बाँकेमा स्क्रब टाइफसको समस्या बढ्दै


बाँकेमा स्क्रब टाइफसको समस्या बढ्दै

नेपालगन्ज:बाँकेमा भाइरल ज्वरोका विरामीको संख्या बढेको छ । सदरमुकामका साथै ग्रामीण क्षेत्रका स्वास्थ्य संस्थामा पनि विरामीको उत्तीकै भीड छ । गर्मी र वर्षाको कारण भाइरल ज्वरोका विरामीले अस्पताल भरिएका छन् ।

उच्च ज्वरो, रुघाखोकी, घाँटी दुख्ने र खसखस हुने, टाउको दुख्ने, नाक पोल्ने र सिँगान निस्कने लगायतका लक्षण देखिन थालेपछि अस्पतालमा विरामीको भीड लाग्न थालेको छ ।

भाइरल ज्वरोका विरामीको धेरै रहेको भेर अस्पतालका फिजिसियन डा.राजन पाण्डे बताउँछन् । उनका अनुसार विरामीको चाप बढेपछि एउटै बेडमा दुई जना विरामी राखेर उपचार गर्नुपरेको छ । ‘मौसमी ज्वरोको समस्या पनि देखिएको छ,’ उनले भने, ‘फाट्टफुट्ट रुपमा स्क्रब टाइफसको समस्या पनि देखिएको छ ।’

‘अहिले औषतमा हरेक दिन भेरी अस्पतालमा ४०/५० जना भाइरल ज्वरोका बिरामी आउने गरेका छन,’ डा.पाण्डेले भने, ‘बिरामीको चाप धेरै भएकोले कुनै पनि वार्ड खाली छैन ।’ अस्पतालको आकस्मिक कक्षमा समेत एउटै शैय्यामा दुई÷तीनजना बिरामी राखेर उपचार गराउनुपर्ने अवस्था रहेको छ ।

Kanti Aarogya Hospital Nepalgunj

बिरामीको चाप धेरै भएकै कारण अस्पतालमा बिरामी थपिए भर्ना गरेर राख्न सकिने अवस्था नरहेको अस्पताल बताउँछ । शैया खाली नहुँदा भेरी अस्पतालमा आएका बिरामीलाई भर्ना गरेर राख्न पनि समस्या भइरहेको छ । बिरामी नीजि अस्पतालमा पुग्ने गरेका छन् ।

भाइरल ज्वरोबाट सबैभन्दा धेरै बालबालिका प्रभावित भएको बाल बिशेषज्ञ डा.रोमा बोरा बताउँछिन् । नेपालगन्ज मेडिकल कलेजमा दैनिक ५० प्रतिशत भाइरल ज्वरोबाट प्रभावित बालबालिका आउने गरेका छन् ।

बालबालिकामा रुघाखोकी, ज्वरो, श्वास फेर्न गाह्रो हुने समस्या अधिक देखिएको डाक्टर बोराले बताइन् । यसले बालबालिकामा निमोनिया र स्वाइनफ्लुको खतरा बढ्न सक्ने उनको भनाई छ ।

अस्पतालमा भर्ना भएर बसेका ८० प्रतिशतभन्दा बढी भाइरल ज्वरोकै बिरामी रहेको डा.जीवन शर्मा बताउँछन् । उनका अनुसार शहरी क्षेत्रमा मात्रै नभएर ग्रामीण क्षेत्रमा पनि यसको संक्रमण उच्च देखिएको छ । मौसम परिर्वतन, दुषित पानी र खानपिनमा सर्तकता नअपनाउँदा भाइरल ज्वरोको विरामी बढेको फिजिसियन डा.प्रकाश नाग बताउँछन् ।

उनका अनुसार विरामीहरुमा शुरुमा रुघाखोकी लाग्ने, ज्वरो आउने, टाउको दुख्ने लगायतका लक्षण देखापर्ने गरेको र अहिले यहाँका अस्पतालहरुमा विरामीको संख्या केही बढेका छन् ।

सामान्य अवस्थाभन्दा विरामीको संख्या केही बढेको भए पनि भाइरल प्रकृतिको ज्वरो भएकाले अस्पतालमै भर्ना गर्नुपर्ने विरामी कमै संख्यामा रहेको भेरी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर रुपानन्द अधिकारी बताउँछन् ।

अस्पताल र क्लिनिकहरुमा समेत भाइरल ज्वरो र टाइफाइडका विरामीको संख्या बढेको छ । एक–दुई दिन टाउको दुखाईपछि ज्वरो आउने र त्यसपछि रुघा लागेजस्तो लक्षण देखिने डाक्टर अधिकारीले बताए ।