डेंगुबाट बाँके सहित देशभर १५३७ बिरामी, ३ जनाको मृत्यु


डेंगुबाट बाँके सहित देशभर १५३७ बिरामी, ३ जनाको मृत्यु

नेपालगन्ज:डेंगुबाट बाँके सहित देशभरका १ हजार ५ सय ३७ जना संक्रमित भएका छन् । ३ महिनाअघि धरानमा देखापरेको डेंगु नियन्त्रणमा नआएपछि यसको प्रकोप बढ्दै गएको हो ।

देशभर डेंगुको प्रकोप फैलिएसगैं बाँके पनि अछुत रहन सकेन । बाँके जिल्लामा पनि यो रोगको प्रकोप देखिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, टेकुका अनुसार बाँकेमा दुई जना डेंगुका बिरामी देखिएका छन् ।

पछिल्लो समय डेंगुको प्रकोप बढ्दै गएपछि चिन्ता र चासो बढेको छ । डेंगु नियन्त्रण सफल नहुँदा देशको कर्णाली प्रदेश बाहेकका सबै प्रदेशमा यो रोग फैलिइसकेको छ ।

Kanti Aarogya Hospital Nepalgunj

देशमा ३ महिनाअघि डेंगु देखापरे पनि नियन्त्रणमा आउन सकेको छैन । संक्रमण घट्नुको साटो बढ्दै गएपछि नियन्त्रण प्रयास फितलो भएको भन्दै आलोचना भइरहेको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, टेकुका अनुसार डेंगु संक्रमण देखिएका ६ वटा प्रदेशमध्ये प्रदेश नम्बर १ सबैभन्दा बढी संक्रमित छ । भदौ ११ गतेसम्मको तथ्यांकअनुसार यो प्रदेशको १८ जिल्लामध्ये ९ जिल्ला डेंगुबाट प्रभावित छन् र ५ सय ६३ जना संक्रमित छन् ।

प्रदेश १ को सुनसरीमा सबैभन्दा धेरै ३ सय ३१ जना संक्रमित भएका छन् । सुनसरीको पनि धरानमा सबैभन्दा धेरै डेंगु रोगी भेटिएका महाशाखाको तथ्यांकमा उल्लेख छ । धरान यस वर्ष पहिलोपटक डेंगु भेटिएको स्थान हो ।

प्रदेश १ कै झापामा पनि डेंगु टाउको दुखाइको विषय बन्दै गएको छ । महाशाखाका अनुसार, भदौ ११ गतेसम्मा यहाँका १ सय २४ जना बिरामी उपचारका लागि अस्पतालको सम्पर्कमा पुगेका छन् ।

प्रदेश १ को तुलनामा प्रदेश २ मा डेंगुका कम बिरामी छन् । प्रदेश २ का ९ जिल्लामध्ये ७ मा संक्रमण फैलिएको छ र बिरामीको संख्या १४ पुगेको छ ।

डेंगु संक्रमितको तथ्यांक केलाउँदा प्रदेश ३ पनि प्रदेश १ कै हाराहारीमा देखिन्छ । महाशाखाले सार्वजनिक गरेको डेंगु संक्रमितको तथ्यांक अनुसार, भदौ ११ गतेसम्म अस्पतालको सम्पर्कमा पुगेका यहाँका ५ सय ५९ जनामा डेंगुको संक्रमण पुष्टि भएको छ ।

प्रदेश ३ को मकवानपुर र चितवनमा सबैभन्दा धेरै संक्रमित छन् । मकवानपुरका २ सय ९६ र चितवनका २ सय २४ जना डेंगुबाट संक्रमित भएका हुन् । प्रदेश ३ को काभ्रे, भक्तपुर, ललितपुर र सिन्धुलीमा भने १–१ जना डेंगुका बिरामी भेटिएका छन् ।

लामखुट्टेको टोकाइबाट सर्ने डेंगुबाट गण्डकी प्रदेशका ३ सय ३९ जना बिरामी परेका छन् । बिरामीमध्ये अधिकांश कास्की जिल्लाका छन् । महाशाखाका अनुसार, अस्पतालको सम्पर्कमा पुगेकामध्ये कास्कीका ३ सय ५९ जनामा डेंगु पुष्टि भेटिएको छ । उनीहरूले विभिन्न अस्पतालमा उपचार गराइरहेका छन् ।

प्रदेश ५ र सुदूरपश्चिममा भने डेंगुको संक्रमण अन्यको तुलनामा कम देखिएको छ । प्रदेश ५ मा ५६ र सुदूरपश्चिममा ६ जना डेंगुका बिरामी पाइएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

३ महिनाअघि धरानमा देखापरेको डेंगुको संक्रमणबाट हालसम्म कम्तिमा ३ जनाको ज्यान गइसकेको छ । डेंगु संक्रमित दरमा आएको वृद्धि र मृत्युका घटनापछि सरोकारवालाहरूले थप नोक्सानी हुनसक्ने भन्दै चिन्ता व्यक्त गरिरहेका छन् ।