मुस्ताङको लोमान्थाङ गाउँपालिका–१, छोसेरस्थित झोङ गुफा । पहाडमा रहेको ६ तले झोङ गुफामा ५० भन्दा बढी कोठा छन् । परापूर्वकालमा यो गुफाभित्र मानव बस्ती रहेको इतिहास छ । तस्बिर : सन्तोष गौतम/रासस ।
म्याग्दी २२ भदौ : पर्यटकको सहजताका निम्ति उपल्लो मुस्ताङका पदमार्गमा साइन पोस्टिङ र पर्यटकीयस्थलमा सूचनापाटी तथा होर्डिङ बोर्ड राखिएको छ ।
लोमान्थाङस्थित अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्पाप) इलाका संरक्षण कार्यालयले पदमार्ग पहिचान गर्न सहयोग पुग्ने साइन पोस्टिङ, पर्यटकीय, धार्मिक, ऐतिहासिकस्थलको महत्त्वका विषयमा जानकारीमूलक सूचनापाटी तथा वन्यजन्तुको संरक्षणबारे सन्देशमूलक होडिङबोर्ड राखेको हो ।
एक्याप लोमान्थाङका रेन्जर मदन पौडेलले बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका छुसाङ, लो–घेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकाका ४८ स्थानमा साइन पोस्टिङ, सूचनापाटी र होडिङ बोर्ड राखिएको जानकारी दिए । “पर्यटकहरूले संकेत चिह्न हेरेर आफ्नो गन्तव्य पहिचान गरेर यात्रा गर्न सहज होस्, नहराउन र दुःख नपाउन भनेर साइन पोस्टिङ राखिएको हो,” उनले भने, “गुफा, ताल, गुम्बा, दरबारलगायत ऐतिहासिक, प्राकृतिक, धार्मिक र पर्यटकीयस्थलको महत्त्व र विशेषता बुझ्नका लागि नक्सासहितको सूचनापाटी राखेका छौँ ।”
स्थानीयस्तरमा पाइने दुर्लभ वन्यजन्तुको संरक्षण, मानव र वन्यजन्तुुको द्वन्द्व न्यूनीकरण गराउन सावधानी अपनाउन सन्देश प्रवाह गराउने र पर्यटकलाई जानकारी गराउने उद्देश्यले हिउँचितुवा, रातो भालु, तिब्बती अर्गेलीलगायत जनावरका बारेमा होडिङ बोर्ड राखिएको छ ।
अग्ला, नांगा र उजाड पहाड पार गरेर छरिएका मानव बस्ती तथा पर्यटकीय, धार्मिक र प्राकृतिकस्थल जाने क्रममा पर्यटकले बाटो बिराएर भनेको भन्दा अन्यत्र पुग्ने, घुमाउरो बाटो हिँड्नुपर्ने र दुःख पाउने समस्या न्यूनीकरणका निम्ति सडक र पदमार्गछेउछाउमा रेन्जिङ पोल र साइन पोस्टिङ राखिएको एक्यापका प्रमुख प्रमोदराज रेग्मीले बताए ।
उपल्लो मुस्ताङको दामोदरकुण्ड पुगेर फर्किएका म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ का गणेश गुरुङ (सुरेन)ले उचाइ, गन्तव्यमा पुग्न लाग्ने दूरी, समय र त्यहाँको विशेषता उल्लेख भएको सूचनापाटी तथा साइन पोस्टिङले सहज बनाएको बताए । अझै धेरै ठाउँमा साइन पोस्टिङ, सूचनापाटी र होडिङ बोर्ड राखिनुपर्ने उनले उल्लेख गरे ।
अन्नपूूर्ण संरक्षण क्षेत्र (एक्याप)मा समेटिएको उपल्लो मुस्ताङमा माटोको पर्खालभित्र रहेको लोमान्थाङ बस्ती, हरेक गाउँका ऐतिहासिक दरबार, गुम्बा, गुफा, दामोदरकुण्डलगायत थुप्रै पर्यटकीय र धार्मिकस्थल छन् । मौलिक संस्कृति, रहनसहन, जीवनशैली र पृथक् भूगोल पनि यहाँका आकर्षण हुन् ।
सन् २०२३ मा तीन हजार ४८४ जना विदेशी पर्यटकले उपल्लो मुस्ताङ भ्रमण गरेका थिए । विदेशीको तुलनामा पछिल्लो समय उपल्लो मुस्ताङमा आन्तरिक पर्यटकको आगमन बढेको छ ।
अर्धनिषेधित क्षेत्र घोषित लोमान्थाङ, लो–घेकर दामोदरकुण्ड गाउँपालिकाको पूरै र वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ मा पर्ने उपल्लो मुस्ताङ भ्रमण गर्न विदेशी पर्यटकले १० दिनका निम्ति ५०० अमेरिकी डलर शुल्क तिर्नुपर्छ । १० दिनभन्दा बढी भ्रमण गर्न प्रतिदिन ५० डलरका दरले शुल्क तिर्नुपर्ने नियम छ ।
बढी शुल्क तिर्नुपर्ने हुुँदा पर्यटक आगमन अपेक्षित रूपमा बढ्न नसक्दा स्थानीयको जनजीवन तथा आर्थिक गतिविधि प्रभावित भएकाले निषेधित क्षेत्र हटाउन माग गरिएको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टासीनर्बु गुरुङले बताए । -रासस
दसैं बजार: यसपालि गुल्जार भयो नेपालगन्ज, नेपाली उपभोक्ता नभएपछि पारितिर सुनसान
नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय मान्यता, एनपिएल अब आईसिसीमा अभिलेख हुने
सात दिनपछि सकियो काँग्रेसको मतगणना, शपथग्रहण दसैंपछि
‘पुलिस ब्याटन’ यसपालि लुम्बिनी प्रदेश प्रहरीलाई
बाँकेका प्रहरी प्रमुख अंगुर जिसीलाई ‘पूर्णशान्ति पुरस्कार’
काँग्रेस केन्द्रीय नेतृत्वमा लुम्बिनीबाट दाङको वर्चश्व, बाँकेका ३ जना