निरन्तर सेवा बिस्तार गर्दै लर्डबुद्ध एजुकेसन एकेडेमी

कोहलपुरमा क्यानसर सेन्टरको स्थापना 


सेतोखरी सेतोखरी   शुक्रबार, भदौ २८, २०८१
निरन्तर सेवा बिस्तार गर्दै लर्डबुद्ध एजुकेसन एकेडेमी

कोहलपुर २८ भदौ : लर्ड बुद्ध एजुकेसनल एकेडेमी लिमिटेडले कोहलपुर र नेपालगन्जमा सञ्चालित शिक्षण अस्पताल र मेडिकल कलेजमा पछिल्लो समय गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा बिस्तार गर्दै आईरहेको छ । 

दुई महिना अघि मात्रै शिक्षण अस्पताल भित्र डेन्टल हस्पिटल र दन्त चिकित्सा स्नातकतह (बीडीएस)को अध्यापन सुरु गरेकोमा शुक्रवार क्यानसर सेन्टरको भवन शिलान्यास तथा सेवा शुभारम्भ गरिएको छ । 

कोहलपुरबाट शिक्षण अस्पताल र नेपालगन्जबाट मेडिकल कलेजका रूपमा सञ्चालन गर्ने घोषणा गरेको लर्ड बुद्ध एजुकेसन एकेडेमीले शुक्रबार कोहलपुरमा क्यानसर सेन्टरको भवन शिलान्यास गरेको हो । भवन शिलान्याससँगै हाल रहेको भवनमै क्यानसर वार्डको समेत शुभारम्भ गरिएकोछ । काठमाण्डौ विश्वविद्यालयका उपकुलपति डाक्टर भोला थापाले भवनको शिलान्यास तथा सेवा शुभारम्भ गरेका हुन् ।

लर्ड बुद्ध एजुकेसनल एकेडेमी लिमिटेडले पश्चिम नेपालमै गुणस्तरीय स्वास्थ्य सेवा र शिक्षाका साथ सुपर स्पेसलिटी सेवा दिने जमर्को गरेको अस्पतालका सञ्चालक अध्यक्ष खुमा अर्यालले बताए । उनले आफूले पोखरा, भैरहवा र कोहलपुर नेपालगन्जमा मेडिकल कलेज स्थापना गरेको भएपनि कोहलपुर र नेपालगन्जको मेडिकल कलेजलाई थप विशिष्टीकृत गर्दै लैजाने सोँच रहेको बताए । कोहलपुर र नेपालगन्जमा लगानी बढाउँदै लैजाने उनको भनाई छ  ।

Kanti Aarogya Hospital Nepalgunj

Kohalpur_medical-2-1726234855.jpg
काठमाण्डौ विश्वविद्यालयका उपकुलपति डा. भोला थापाले छोटो अवधीमै दोस्रो पटक कोहलपुर आएर थप सेवा बिस्तार शुभारम्भ गर्न पाउँदा आफू निकै खुसी भएको बताए । उनले लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका जनतालाई सेवा दिई रहेको कोहलपुर र नेपालगन्ज मेडिकल कलेजका  सञ्चालकको उत्साह देखेर आफू खुशी भएको बताए । उनले स्वास्थ्य र शिक्षामा लगानी गर्ने निजी व्यवसायी उपर सबैको गिद्दे नजर रहने गरेको गुनासो गरे ।  स्वास्थ्य र शिक्षा क्षेत्रमा नीतिगत सुधारका कुराहरू गर्नु जरुरी रहेको बताउँदै उनले निजी क्षेत्रले नै देश बाहिर जाने करोडौँ रकम स्वदेशमै रोक्न सकेकोमा खुशी व्यक्त गरे ।

यसअघि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा दन्त चिकित्सा स्नातक तह (बीडीएस)को अध्यापन सुरु गरिएको छ । चितवनदेखि पश्चिमतर्फ पहिलो पटक बाँकेको कोहलपुरमा दन्त चिकित्सा स्नातक तह(बीडीएस) को अध्यापन सुरु गरेको अस्पतालको भनाई छ । दन्त चिकित्सामा स्नातक अध्यापन गराउनका लागि सो मेडिकल कलेजले कोहलपुर शिक्षण अस्पतालमा डेन्टल अस्पताल विधिवत् रूपमा सञ्चालनमा ल्याई सकेको छ । डेन्टल अस्पतालमा ५० वटा डेन्टल चियर राखेर बिरामीको उपचार भई रहेको छ ।

लर्ड बुद्ध एजुकेसनल एकेडेमी लिमिटेडमा नयाँ व्यवस्थापनपछि अस्पताल सुधार लागि विभिन्न कार्ययोजना अघि बढाएको छ । कम्पनीले २६ औं वार्षिक साधारणसभाबाट खुमा अर्यालको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन गरेको छ ।

लर्ड बुद्ध एजुकेसन एकेडेमीले ‘बिडिएस, बिएमआइटी, बिएमएलटी, बिएससी नर्सिङ्ग कोर्षका साथै एमबीबिएस, एमडी÷एमएस, सञ्चालन गरिरहेको लर्ड बुद्ध एजुकेसनल एकेडेमी लिका उपनिर्देशक श्याम शर्माले बताए । मुटु रोग सम्बन्धी विशिष्टीकृत सेवा, क्याथ ल्याब सेवा निकट भविष्यमा शुरु गर्न लागिएको शर्माको भनाई छ ।

२०५४ सालमा स्थापना भएको लर्ड बुद्ध एजुकेसनल एकेडेमी अन्तर्गतको शिक्षण अस्पताल नेपालगन्ज र शिक्षण अस्पताल कोहलपुरसँगै नर्सिङ्ग क्याम्पस, मेडिकल कलेज लगायतका प्रतिष्ठानहरूमा एक सय ६५ चिकित्सक, ३९ मेडिकल अफिसर, ६ सय ३० नर्स, एक सय बढी प्यारामेडिकल सहित एक हजार ४ सय बढी कर्मचारी कार्यरत छन् ।

कोहलपुरमा ५ सय २५ र नेपालगन्जमा ३ सय १५ शैयाको अस्पताल सञ्चालनमा छ । शुक्रवारको कार्यक्रममा लर्डबुद्ध एजुकेसन एकेडेमीका सञ्चालक सुरेश कुमार कनोडिया, काठमाण्डौ विश्वविद्यालयका डिन मनोज कुमार हुमागाईँ लगायतको सहभागीत रहेको थियो ।