नेपालगन्ज ३ असोज : भूकम्पले ढलेको ९ वर्षपछि सर्वसाधारणले नयाँ धरहरा चढ्न पाएकाछन् । विसं २०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्पमा ढलेको भीमसेन स्तम्भ पुनःनिर्माण गरेर नौ वर्षपछि सर्वसाधारणका लागि खुला गरिएको छ ।
संविधान दिवसका अवसर पारेर सरकारले सर्वसाधारणका लागि खुला गरेको धरहरा निर्माण पूर्णरूपमा भने सकिएको छैन । धरहराको ९८ प्रतिशत संरचना निर्माण मात्रै अहिलेसम्म पूरा भएको सहरी विकास मन्त्रालयले जनाएको छ ।
गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले असोज ३ गतेदेखि धरहरा सञ्चालनमा ल्याउने निर्णय गरेको थियो । उक्त निर्णयअनुसार आजदेखि सर्वसाधरणका लागि धरहरा खुला गरिएकोछ ।
सरकारको आलटालका कारण समयमा पुनर्निर्माण शुरु हुन सकेको धरहरा ढलेको ३ वर्षपछि मात्रै पुनर्निर्माण थालियो । केपी शर्मा ओली प्रधानमन्त्री भएकै बेला ‘मै बनाउँछु मेरो धरहरा’ भन्दै पुनर्निर्माणका लागि २०७५ पुस १२ मा शिलान्यास गरेका थिए ।
तर, पुनर्निर्माण नसकी ३ वर्षअघि नै उनले उद्घाटन गरेका थिए । निर्माणाधीन धरहराको कामै नसकी जस पाउन उनै ओलीले हतारहतार २०७८ वैशाख ११ मा उद्घाटन गरेका थिए । त्यसपछि उनको चौतर्फी आलोचना भएको थियो । उनले उद्घाटन गरेको ३ वर्षपछि सर्वसाधारणहरूको लागि खुला भएकोछ ।
धरहरा सञ्चालनको जिम्मा शहरी विकास मन्त्रालयलाई
सरकारले धरहरा सञ्चालनको जिम्मा शहरी विकास मन्त्रालयलाई दिएको छ । सोहीअनुसार धरहरा सञ्चालनको लागि समिति नै गठन गरेको शहरी मन्त्रालयले जनाएको छ । यसअघि क्षेत्रअधिकार नतोकिँदा धरहरा बन्दै गर्दा नै विवादमा परेको थियो ।
काठमाडौं महानगरपालिकाले धरहरा बनिनसक्दै निःशुल्क पार्किङ खोलेपछि प्रधानमन्त्री केपी शर्मा ओली महानगरपालिका प्रमुख बालेन साहसँग रुष्ट बनेका थिए । महानगरपालिकाले २०८० माघ १४ गतेदेखि धरहरा पार्किङ भवनको पहिलो तलामा निःशुल्क पार्किङ खुला गरेको थियो ।
धरहरा बनि नसक्दै निःशुल्क पार्किङ खोलिदिएपछि प्रधानमन्त्री ओलीले धरहरा पालिका विशेषको नभएको समेत बताएका थिए ।
साउन १४ गते मन्त्री र सचिवहरूलाई निर्देशन दिँदै उनले भनेका थिए,‘धरहरा बनेको छ, मान्छे चढ्न चाहन्छन्, चढ्न पाएका छैनन् । त्यहाँ पार्किङ बनेको छ, तयार भइसकेको छैन, निःशुल्क पार्किङ भनेर ल्याएर पार्किङ गरायो, सरकारले त्यत्रो खर्च गरेको छ । यो पालिका विशेषको होइन, खुलाउनुपर्छ ।’
निःशुल्क चढ्न पाइने
आजदेखि सञ्चालनमा आएको धरहरामा सर्वसाधारणहरूले निःशुल्क चढ्न पाउनेछन् । हालसम्म शुल्क लिने भन्ने निर्णय भएको छैन । सर्वसाधारणहरूले निःशुल्क धरहरा चढ्न पाउने छन्, पछि चाहिँ शुल्क लिइने व्यवस्था भए शुल्क तोकिनेछ ।
धरहराको इतिहास
धरहरा वि.सं. १८८२ सालमा तत्कालीन प्रधानमन्त्री भीमसेन थापाले महारानी त्रिपुरा सुन्दरीदेवीको सम्झनास्वरूप निर्माण गरेको इतिहासमा उल्लेख छ। त्यस समयमा यसको उचाइ ११ तलाको ६१.८८ मिटर अग्लो थियो । ९० सालको भूकम्पले भत्काइदिएपछि दुई वर्षपछि तत्कालीन प्रधानमन्त्री जुद्धशमशेर जंगबहादुर राणाले नौ तला कायम गरी पुनर्निर्माण गरेका थिए ।
पुरानो धरहरा अगाडिको ४२.२ रोपनी क्षेत्रफलमा नयाँ धरहरा पुनर्निर्माण भएको हो। धरहरामा भ¥याङसँगै लिफ्टबाट उक्लिन सकिनेछ। धरहरामा अन्डरग्राउन्ड बेसमेन्ट छ । बेसमेन्टमा तलमाथि गर्नका लागि लिफ्टको व्यवस्था गरिएको छ ।
धरहरा परिसरमा दुई तलाको आकर्षक संग्रहालय हुनेछ । संग्रहालयमा पुराना सिक्का र सिक्का छाप्ने मेसिन प्रदर्शनीमा राखिनेछ । संग्रहालय जाने बाटोमा ५० फिट अग्लो वाटर फाउन्टेन छ । पुरानो धरहराको भग्नावशेष संरक्षण गरेर राखिएको छ ।
दसैं बजार: यसपालि गुल्जार भयो नेपालगन्ज, नेपाली उपभोक्ता नभएपछि पारितिर सुनसान
नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय मान्यता, एनपिएल अब आईसिसीमा अभिलेख हुने
सात दिनपछि सकियो काँग्रेसको मतगणना, शपथग्रहण दसैंपछि
‘पुलिस ब्याटन’ यसपालि लुम्बिनी प्रदेश प्रहरीलाई
बाँकेका प्रहरी प्रमुख अंगुर जिसीलाई ‘पूर्णशान्ति पुरस्कार’
काँग्रेस केन्द्रीय नेतृत्वमा लुम्बिनीबाट दाङको वर्चश्व, बाँकेका ३ जना