बाँकेमा ७ जनामा डेंगु संक्रमण


बाँकेमा ७ जनामा डेंगु संक्रमण

नेपालगन्ज : बाँकेको नेपालगन्जमा डेंगुको संक्रमण देखिएको छ । सोमबारसम्मको रेकर्डलाई हेर्दा बाँकेमा सात जना बिरामीमा डेगुको संक्रमण देखिएको छ ।

जसमा ६ जना बाहिरी जिल्लाका भएको भेरी अस्पतालले बताएको छ । अस्पतालका अनुसार एक जना बाँकेको विरामी छन् । तर, विरामीका लागि समयमै उचित उपचार भने भेरी अस्पतालमा हुन सकेको छैन् । यहाँका कतिपय डाक्टरहरू विरामीको उपचार गर्ने भन्दापनि उनीहरूलाई जतिसक्दो चाँडो उपचारबीनै अन्यत्र रिफर गर्ने काममा सक्रिय देखिदै आएका छन्।

भेरीमै उपचार गर्दा ठिक हुने खालका विरामीलाई पनि अस्पतालका चिकित्सकले उपचार नै नगरी बाहिर रिफर गर्ने गरेको विरामीका आफन्तको आरोप छ ।

भेरीमा डेगुको प्रभावकारी उपचारका सम्भावना नदेखिएको त्यहाँका चिकित्सक नै बताउँछन् । पछिल्लो समय भेरी अस्पतालका कतिपय नाम चलेका चिकित्सक विरामीको उपचारमा गैरजिम्मेवार हुँदै आएको चौतर्फी आलोचना भइरहेको छ ।

Kanti Aarogya Hospital Nepalgunj

अस्पतालमा भेटिएका डेंगुका बिरामीमा कैलालीका एक, बर्दियाका एक, पाल्पाका एक, बुटवलका तीन जना रहेको मेडिकल सुपरिटेन्डेन्ट डाक्टर रूपानन्द अधिकारी बताउँछन् ।

बाहिरी जिल्लाबाट नेपालगन्ज आएका व्यक्ति बिरामी भई अस्पताल आउँदा डेंगु फेला परेको मेडिकल सुपरिटेन्डेन्ट डाक्टर अधिकारीको भनाई छ । तर, भेरी अस्प्तालमा यसको रोकथाम तथा उपचारका लागि नत प्रविधी छ नत चिकित्सकनै जिम्मेवार देखिएका छन् ।

‘अहिलेसम्म बाँकेमा उच्च जोखिम देखिएको छैन,’ मेसु डाक्टर अधिकारीले भने, ‘यद्दपि, सुरक्षाका उपाय भने अपनाउनु आवश्यक छ ।’ अस्पतालमा फेला परेका डेंगुका बिरामीमा कडा संक्रमण भने देखिएको छैन् ।

‘बाँकेमा बाहिरी जिल्लाबाट उपचारमा आउनेमा डेंगु देखिए पनि यहींका बिरामीमा त्यस्तो कम पाइएको छ,’ उनले भने, ‘भाइरल बिरामीको संख्या भने यहाँ बढेको छ ।’ ‘डेंगुको डरका कारण भाइरल संक्रमण हुनेहरू पनि उपचारका लागि अस्पताल पुग्ने गरेका छन ।’

बाँकेमा डेंगु जोखिम नदेखिए पनि सतर्कता अपनाउनु पर्ने अस्पतालका डाक्टर खगेन्द्र शाही बताउँछन् । ‘नियमित झुल लगाएर सुत्नस,’ उनले भने, ‘पानी जम्न सक्ने भाँडाहरू जस्तै गमला, फूलदान, खाली बट्टा, खाली ड्रम, गाडीका टायर आदिमा पानी जम्न नदिनु उचित हुन्छ ।’

डेंगु एडिस एजिप्टाइ जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने रोग हो । अस्पतालमा उपचारका लागि आएका विरामीको अस्पतालको क्षमताअनुसार उपचार गरिएको र अति सिरियसलाई मात्रै रिफर गरिएको डाक्टर राजन पाण्डे बताउँछन् ।