सहकारी अपचलन प्रकरणः ३५ जनालाई मुद्दा


सहकारी अपचलन प्रकरणः ३५ जनालाई मुद्दा

नेपालगन्ज: सहकारी वित्तीय विकास संस्था नेपालगन्जमा भएको करोडौं अपचलन प्रकरणमा मुद्दा प्रक्रिया अघि बढेको छ । दोषीलाई कारबाहीको दायरामा ल्याउन मुद्दा प्रक्रिया आवश्यक भए पनि यसले निक्षेपकर्ताको बचत रकम फिर्तामा भने अन्योल सिर्जना गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेले ३५ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । सोमबारसम्म ६ जना प्रहरी नियन्त्रणमा छन । फरारको खोजी भइरहेको बाँकेका प्रहरी प्रमुख एसपी वीरबहादुर ओली बताउँछन् ।

प्रहरीले निक्षेपकर्तालाई आफ्नो प्रमाणसहित रकम दाबी गर्नका लागि गत भदौ १५ मा सूचना जारी गरेको थियो । ‘करिब ७ करोड रुपैयाँ दाबी गर्दै निवेदन प्राप्त गरिसकेका छौं,’ उनले भने ‘बचतकर्ताले रकम दाबी गर्दै सम्पर्क गरिरहनु भएको छ ।’ सहकारीमा भएको अपचलन मुद्दा प्रक्रियामा जाँदा त्यसले बचत फिर्तामा भने अन्योल बढाएको छ ।

मुद्दा प्रक्रियामा जाँदा बचत फिर्ताको विषय अब अदालतबाट नै टुंगो लाग्छ जिल्ला सहकारी संघ बाँकेका अध्यक्ष प्रेम सुवेदीले भने, ‘अदालतले दोषीलाई सजाय देला, बिगो तोक्ला तर बचतकर्ताले आफ्नो रकम फिर्ता पाउँछन् भन्नेमा आशंका नै छ ।’ सहकारीका पीडित बचतकर्ताले रकम फिर्ताका लागि संघर्ष समिति गठन गरेका छन् ।

Kanti Aarogya Hospital Nepalgunj

विजयकुमार गुप्ताको संयोजकत्वमा गठित संघर्ष समितिका पदाधिकारी र सदस्य रकम फिर्ताको सुनिश्चितता गर्न कार्यालय धाइरहेका छन् । अपचलन रकम निश्चित गर्न तीनवटा समिति गठन भएका छन् ।

५२ करोड रुपैयाँ अधिकतम पुँजी रहेको सहकारीका प्रमुख प्रबन्धक गोपाल भण्डारीको संयोजकत्वमा गठित आन्तरिक छानबिन समितिले २६ करोड रुपैयाँ अपचलन भएको प्रतिवेदन र जिल्ला सहकारी संघले गठन गरेको नवराज उपाध्याय संयोजक रहेको समितिले ३८ करोड १७ लाख ५० हजार अपचलन भएको प्रतिवेदन तयार गरेको थियो ।