अनि अपहरणमा परेकी बालिका सकुशल भेटिइन्, गाली हानेर समातिए अपहरणकारीलाई 

तिलोत्तमाको चक्रहवा जंगलमा प्रहरीले चलाएको ३८ घण्टाको त्यो अपरेशन


सेतोखरी सेतोखरी   ४२ मिनेट अगाडि
तिलोत्तमाको चक्रहवा जंगलमा प्रहरीले चलाएको ३८ घण्टाको त्यो अपरेशन

नेपालगन्ज। गत बुधबार राति रुपन्देहीको तिलोत्तमा नगरपालिका–१० दरखस्वास्थित घरमै सुतिरहेकी १० वर्षीया बालिका एकाएक गायब भइन्। त्यही दिन उनि हजुरबुवा-आमासँग भारतबाट नेपाल आएकी थिइन्।

परिवारले घरवरिपरि र छरछिमेकमा खोज्दा पनि कतै अत्तोपत्तो नभएपछि घटनाबारे इलाका प्रहरी कार्यालय मंगलापुरलाई जानकारी गराए। 

खबर पाउनासाथ राति ३ बजे नै प्रहरी निरीक्षकसहितको एक प्रहरी टोली घटनास्थल पुग्यो। 

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक कृष्णकुमार चन्दका अनुसार बिहानसम्म पनि प्रहरीले कुनै ‘क्लु’ भेटाउन सकेन। 

त्यसपछि प्रहरी अपरेसनको दायरा अलि फरक भयो। 

जिल्ला प्रहरी कार्यालय रुपन्देही, लुम्बिनी प्रदेश प्रहरीको सादा पोशाकको टोली, इलाका प्रहरी कार्यालय बुटवल र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको तालिमप्राप्त कुकुर सहितको संयुक्त टोली चक्रहवाको जंगलतिर खोजी केन्द्रित गरेको थियो । 

तालिमप्राप्त कुकुर र जासुसी टोलीले जंगलका झाडीहरुमा निरन्तर ३८ घण्टा लामो घनीभूत खोजतलासपछि असोज १६ गते बेलुका ५:३० बजे अन्ततः चक्रवाहा जंगलको घना झाडीभित्र बालिका बन्धक बनाइएको अवस्थामा भेटिएकी थिईन । प्रहरीले बालिकाको सकुशल उद्धार त गर्‍यो। तर अपहरणकारी भने फेला पार्न सकेको थिएन। 

‘बालिकाको उद्धारपछि पनि प्रहरी टोली जंगलबाट फर्किएन। अपहरणकारीलाई फुत्किन नदिन प्रहरीले रातभर ‘सर्च एन्ड स्वीप अपरेसन’ जारी राख्यो,’ चन्दले भने असोज १७ गते प्रहरी टोली जंगल घेरेर बसेको थियो, घेराबन्दी तोडेर भाग्ने प्रयासमा अभियुक्त जंगलबाट बाहिर निस्किए र प्रहरीमाथि नै आक्रामक बने।’

स्थिति नियन्त्रणमा लिन र अभियुक्तलाई उम्किन नदिन प्रहरीले गोली चलाएको चन्दले बताए। गोली अभियुक्तको घुँडामा लागेको र घाइते अवस्थामा नियन्त्रणमा लिइ उनको अहिले प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।

ती अपहरणकारी थिए, २७ वर्षीय विशाल भन्ने युवराज थारु। जो आपराधिक पृष्ठभूमिका हुन्।

अभियुक्त विगतमा चोरी, अभद्र व्यवहारलगायतका घटनामा संलग्न रहेको तथ्य भेटिएपछि प्रहरीले उनको आपराधिक गतिविधिको विस्तृत विवरण संकलन गर्न थालेको हो। 

चक्रवाहा जंगल(जसलाई स्थानीय र प्रहरीले विगतदेखि नै आपराधिक पृष्ठभूमि भएका व्यक्तिहरु लुक्ने सुरक्षित अखडाका रुपमा चिनाउँछन्। विशाल पनि धेरैजसो जंगलतिर बस्थे र त्यहिँ वरिपरि भेटिन्थे।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी चन्दका अनुसार पक्राउ परेका व्यक्ति पुराना आपराधिक पृष्ठभूमिका हुन्। 

उनी २०८० सालमा अभद्र व्यवहार मुद्दामा पक्राउ परिसकेका व्यक्ति हुन्  यसबाहेक मोटरसाइकल तथा मोबाइल चोरी र महिला एवं बालबालिकामाथि हुने विभिन्न अपराधमा उनको संलग्नता रहँदै आएको थियो। स्थानीयस्तरमा उनी त्रासको पर्याय बनेका थिए।

‘उनी महिला तथा बालबालिकाप्रति आसक्त हुने, उनीहरूलाई यातना र उत्पीडन दिने विकृत प्रवृत्तिका व्यक्ति हुन्,’ डिएसपी चन्दले भने, ‘बालिकाको स्वास्थ्य परीक्षण भइरहेको छ। रिपोर्ट प्राप्त हुनासाथ अपहरण र बन्धकसहितका कडा कानुनी सजायको प्रक्रिया अघि बढाउँछौँ।’

यसैबीच, देवदह–५ मा पनि असोज १७ गते दीपक खरेलसहितका व्यक्तिहरुले पेस्तोलबाट गोली चलाउँदा एक युवक घाइते भएका थिए। प्रहरीले सो घटनामा संलग्न तीनै जनालाई हतियार र दुई राउण्ड गोलीसहित तत्काल नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ। 

बालिका अपहरण र देवदह गोलीकाण्डका घटना फरक–फरक भए पनि प्रहरीले पुराना आपराधिक रेकर्ड भएका व्यक्तिहरुमाथि अनुसन्धानको सुई सोझ्याएको छ। 

डिएसपी चन्द भन्छन्, ‘अभियुक्तको आपराधिक पृष्ठभूमि हाम्रो अनुसन्धानको मुख्य केन्द्र हो। विगतका गतिविधि, अहिलेको घटनाको प्रकृति र सम्भावित अन्य अपराधसँगको सम्बन्धबारे तथ्य र प्रमाणका आधारमा सूक्ष्म अनुसन्धान गरिरहेका छौँ।’