भुरिगाँउ(बर्दिया) : बढ्दो सवारी साधन दुर्घटना न्यूनिकरणका लागि युवाहरुले तदारुक्ता देखाएकाछन् । सडकमा खुल्लारुपमा छाडिएका छाडा पशुचौपायाका कारण दिनहुँ हुने गरेको सवारी दुर्घटना न्यूनिकरण गर्न युवाहरु सक्रिय भएका हुन् ।
छाडा पशुचौपायाको उचित व्यवस्थापनका लागि बर्दियाका युवाहरुले चासो देखाएका छन् । उनीहरुले छाडा पशुचौपायाहरुमा प्रकाश परार्वतन गर्ने स्टिकर लगाएका हुन् ।
ठाकुरबाबा नगरपालिका वडा नम्बर–१, भुरिगाउँका सडकमा रहेका छाडा पशुचौपायाको घाँटीमा रिफ्लेटिभ पेपर अर्थात प्रकाश परार्वतन गर्ने कागज लगाइएको हो ।
बर्दियाको भुरीगाँउमा रहेको विकास प्रेमी युवा समुह बर्दियाले सडकमा छाडिएका छाडा पशुचौपायमा रिफ्लेकटिभ पेपर (लाइट परेपछी टल्किने) लगाएका हो । उक्त पेपर अन्ध्यारोमा प्रकाश पाएपछि टल्किन्छ । जसलाई हामी निश्चित दुरीबाट सहजै देख्न सक्छौं ।
युवा समुह र क्यान बर्दियाको आयोजना तथा ईलाका प्रहरी कार्यालय भुरिगाँउ र अस्थायी ट्राफिक पोष्ट भुरिगाँउको सहकार्यमा उक्त पेपर सोमबार लगाइएको विकास प्रेमी युवा समूह बर्दियाका अध्यक्ष गोपाल निरौलाले जानकारी दिए ।
बढदो सवारी दुर्घटनालाई न्यूनीकरण गर्न केही सहयोगी हुने भनेर उक्त पेपर टाँसिएको अध्यक्ष निरौलाले बताए । सडकमा रहेका छाडा पशुचौपायाका कारण सवारी आवागमनमा समस्या हुनुका साथै दुर्घटना दर बढिरहेकोले टल्किने पेपर टाँसिएको हो । युवा समुहका सचिव नारायण गौतमले भने –रातको समयमा सडकमा रहेका छाडा पशुचौपाय सजिलै नदेखिने र सवारी चालक झुक्किने हुँदा दुर्घटना बढिरहेको सचिव गौतमको बुझाई छ ।
अभियानका बारेमा बोल्दै युवा समुहका सचिव गौतमले भने यसरी अव्यवस्थितरुपमा सडकमा रहेका छाडा पशुचौपायामा सवारी साधन ठोकिन पुगि हुने सडक दुर्घटनालाई केही न्यूनीकरण गर्न सकिन्छ कि भनी यो अभियान चलाइएको हो ।
सो कार्यक्रममा बोल्दै ठाकुरबाबा नगरपालिका वडा नम्बर–१, का वडाध्यक्ष श्यामलाल थारु युवाद्वारा गरिएको कार्यको प्रसंसा गर्दै भने छाडा पशुचौपायाको उचित व्यवस्थापनमा कसरत गरिरहदाँ युवाद्वारा गरिएको कार्यले थप सहयोग पुगेकोछ । यो अनुसरणी कार्य अन्य क्षेत्रले पनि अवलम्बन गर्नुपर्ने वडा अध्यक्ष थारुले बताए ।
यस्तै ईलाका प्रहरी कार्यालय भुरीगाँउका प्रमुख बसन्तराज पाण्डेले छाडा पशुचौपायाका कारण पछिल्ला दिन सानाठूला सवारी दुर्घटना हुने र धनजनको नोक्सानी समेत बढेको बताए । यसरी सडकमा रहेका छाडा पशुचौपायाकै कारण पनि सडक असुरक्षित बनिरहेकोछ ।