नेपालगन्ज : बाँकेका मुस्लिम समुदायले धुमधामका साथ मोर्हरम मनाएकाछन् ।
मुस्लिम समुदायमा दुःख प्रकट गरी मनाइने मोहर्रमको अन्तिम दिन मंगलबार बिभिन्न कार्यक्रमका साथ सम्पन्न भएको छ ।
मोहर्रम पर्वलाई सौहार्द पूर्वक सम्पन्न गराउन अहम भुमिका खेलेको भन्दै करबरला संरक्षण समितिले बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्का, बाँके प्रहरी प्रमुख बीरबहादुर ओली, एपिएफ प्रहरी उपरीक्षक दीपक अधिकारी, पत्रकार महासंघ बाँकेका पूर्व अध्यक्ष रुद्र सुवेदी, हिन्दू स्वयमसेवक दिपक लोध लगायतलाई सम्मान गरिएको छ ।
उनीहरुलाई संविधान सभा सदस्य अब्दुल हमिद सिद्दिकी ‘भोला’, स्थानीय मुस्लिम धर्मगुरु मौलाना मन्सुर आरफी, करबला समितिका सदस्य मेराज हल्वाई लगायतले साफा (पकडी) बाँधेर सम्मान गरेका थिए ।
यसैबीच बागेश्वरी मन्दीरका मुल महन्त चन्द्रनाथ योगीले ईस्लाम धर्मावलम्बीहरुलाई मोर्हरम तथा ईस्लामिक नयाँ वर्षको शुभकामना दिएकाछन् ।
ईराकको करबलाको धार्मिक युद्धमा बिभिन्न षड्यन्त्र गरेर हत्या गरिएका ईमाम हुसेन र ईमाम हुसनलगायतको सम्झनामा मोहर्रम मनाइने गरिन्छ । यो दश दिनसम्म मनाउने गरिन्छ । हत्या गरिएका तिनै शहिदहरुको सम्झनामा तयार गरिएका बिभिन्न प्रकारका ताजिया नजिकको कर्बलामा लगेर सेलाएपछि मोहर्रमको समापन भएको हो ।
मोहर्रमका अवसरमा नगरका बिभिन्न स्थानमा ताजिया झकिझकाउका साथ सजाइएको थियो । सजाइएका ताजियाहरुलाई बाजागाजाका साथ ढोल र नगडाका तालमा नगरको परिक्रमा गराईएको थियो ।
ताजिया विर्सजनका क्रममा ईस्लाम धर्मावलम्बीहरुले दुःख प्रकट गर्दै विभिन्न झाँकी तथा गतिविधि गरेका थिए । नगरका बिभिन्न भागको परिक्रमा गरेर फूल्टेक्रा स्थित करबलामा ताजिया विर्सजन गरिएको करबला संरक्षण समितिका सदस्य मेराज हल्वाईले बताए ।