नेपालगन्ज : बाँकेको कोहलपुरमा काटिएका सडक रेलिङ्ग पुनः जोड्न सुरु गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय बाँकेले कोहलपुरमा काटिएका रेलिङ्गलाई पुरानै स्वरुपमा फर्काउन निर्देशन दिएपछि कोहलपुर उद्योग वाणिज्य संघले काटिएका रेलिङ्ग जोड्न सुरु गरेको हो ।
शनिबार जिल्ला प्रशासन कार्यालयमा भएको सर्वपक्षिय छलफलका क्रममा काटिएका रेलिङ्गको संरचना पुरानै अवस्थामा फर्काउने सहमती भएको थियो ।
सोही सहमतीलाई कार्यांन्वयन गर्ने क्रममा कोहलपुर उद्योग वाणिज्य संघले रेलिङ्ग जोड्न लागेको हो । यद्यपी रेलिङ्ग जोड्ने बिषयमा आफुलाई कुनै जानकारी नभएको कोहलपुर उद्योग वाणिज्य संघका महासचिव तेजप्रसाद अधिकारीले बताएका छन् ।
काटिएका रेलिङ्ग जोड्ने कुरा भएपनि संस्थागत रुपमा आधिकारीक निर्णय नभएको र त्यसका बारेमा आफुलाई जानकारी नभएको अधिकारीले बताए । वाणिज्य संघका अध्यक्ष चक्रबहादुर अधिकारीसँग फोन सम्पर्क हुन सकेन ।
उनकै निर्देशनमा यसअघि ती रेलिङ काटिएा थिए । एसियाली विकास बैंक (एडिवी) ले निर्माण गरेको फोर लेन सडकसँगै राखिएका रेलिङ्गहरु कोहलपुर उद्योग वाणिज्य संघको नेतृत्वमा रातारात काटिएका थिए ।
दुई हप्ताअघि कोहलपुर एनटिभी रोड देखि बिद्युत रोडसम्म सडकको दुबैतर्फ ५४ ठाँउका रेलिङ्गहरु काटिएका थिए ।