भेरी अस्पताल अझैं निमित्तको भरमा


भेरी अस्पताल अझैं निमित्तको भरमा

नेपालगन्ज : एउटै पूर्वाधार र उस्तै जनशक्ति भएर पनि प्रमुखको जथाभावी हेरफेरले सरकारी अस्पतालको व्यवस्थापनमा कस्तो प्रभाव पर्छ भन्ने उदाहरण नेपालगन्जस्थित भेरी अस्पताललाई हेर्न सकिन्छ ।

स्थापनाकालदेखि अहिलेसम्म आईपुग्दा उक्त अस्पताल लगभग निमित्त मेडिकल सुपेरिटेण्डेनका भरमा चलिरहेको छ । विगतमा सरकारले विनोद ढकाललाई प्रमुख मेडिकल सुपेरिटेण्डनमा नियुक्त गरेको थियो । अस्पतालले दिएको तथ्याकं अनुसार अहिलेसम्म तीन जना मात्रै प्रमुखका रूपमा नियुक्त भएका छन । अन्य सबै निमित्त नियुक्त भएका हुन् ।

यसअघि सरकारले गत बर्ष प्रकाश थापालाई निमित्त मेसुमा नियुक्त गरेको थियो । तर, राजनीतिक हस्तक्षेपका कारण उनी छोटो समयमै उक्त पदबाट निकालिएका थिए । अहिले उक्त स्थानमा डाक्टर रूपानन्द अधिकारीले उक्त पदमा बसेर काम गरिरहेका छन् । अहिले पनि एक वर्षदेखि भेरी अस्पताल निमित्त प्रमुखकै भरमा चलिरहेको छ ।

तीन-तीन महिनामा निमित्त प्रमुख फेरिने गरेकाले विकासे काम मात्र होइन उपचारका लागि आउने बिरामी समेत समस्यामा पर्न थालेका छन् । वास्तवमा तत्कालिन मेडिकल सुपरिन्टेन्डेन्ट डा. विमल ढकालको काठमाडौं सरुवा भएदेखि अस्पताल निमित्तको भरमा चल्दै आएको हो ।

Kanti Aarogya Hospital Nepalgunj

उनीपछि निमित्त प्रमुखको जिम्मेवारी डा. नरेन्द्रकुमार रायलाई दिइएको थियो तर, कर्मचारी आन्दोलनमा उत्रिएपछि डा. रायको कार्यावधिसम्म अस्पताल प्रशासनको कोठामा तालाबन्दी भएको थियो ।

समस्या समाधान गर्न डा. विनोदकुमार खेतानलाई निमित्तको जिम्मेवारी दिइएको थियो । तर, उनको सरुवा सुर्खेत भएपछि त्यतिबेला निमित्तको जिम्मेवारी बालरोग विशेषज्ञ डा. पीताम्बर सुवेदीले पाएका थिए ।

अस्पतालको कामकारबाही र विकासका योजनाबारे जानकारी लिन नपाउँदै निमित्त प्रमुख फेरिने गरेकाले समस्या हुने गरेको चिकित्सकले बताएका छन् ।

विशेषज्ञ चिकित्सकको अभावमा अस्पतालमा बिरामीले सामान्य उपचार मात्रै पाउने गरेका छन् । बिरामी महँगो पैसा तिरेर निजी अस्पतालमा उपचार गराउन बाध्य छन् ।

यसअघि स्वास्थ्य मन्त्रालयले ०७३ कात्तिकमा प्रमुख मेडिकल सुपरिटेन्ड डाक्टर श्यामसुन्दर यादवलाई हटाएर जुनियर रेडियोलोजिस्ट वीरेन्द्रबहादुर चन्दलाई निमित्त प्रमुख बनाएको थियो । १ कात्तिकमा यादवलाई हटाएर नारायणी उपक्षेत्रीय अस्पतालका प्रमुख डा. रामपरीक्षण यादवलाई भेरी अस्पतालमा सरुवा गरिएको थियो ।

स्वास्थ्य नियमावली अनुसार जनरल हेल्थ समूहबाट मात्र प्रमुख मेडिकल सुपरिटेन्ड नियुक्ति गर्न पाउने व्यवस्था छ । तर, निमित्तका रूपमा रेडियोलोजिस्ट पनि यस अस्पतालका प्रमुख भएका छन् ।

राजनीतिक हस्तक्षेपले सरकार परिवर्तनसँगै सरकारी अस्पतालमा प्रमुख फेरिने गरेका छन् । बितेको १० वर्षमा भेरी अस्पतालमा एघार पटक प्रमुख फेरिएका छन् । तीमध्ये आठ जना त निमित्त भएका थिए ।

यादवभन्दा अघि पनि सिनियर हँुदाहुँदै जुनियर डा. पीताम्बर सुवेदीलाई निमित्त प्रमुख बनाइएको थियो ।