अति उत्तम(क) श्रेणीमा एउटै छैनन्
नेपालगन्ज : खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले बाँकेमा सञ्चालितमध्ये ४२ ओटा होटललाई वर्गीकरण गरेको छ ।
तीमध्ये तीन वटाले हरियो, आठले पहेंलोमा एउटा रातो र २५ वटा दुई वटा रातो थोप्ला भएको स्टिकर टाँसिएको छ । होटल रेष्टुरेन्ट स्तरीकरण गर्नेसम्बन्धी निर्देशिका २०७४ बमोजिम कार्यालयले होटल तथा रेष्टुरेन्ट वर्गीकरण गरेको कार्यालय प्रमुख जोयत्सना श्रेष्ठले बताईन् ।
यसरी वर्गीकरण गरिएका होटल तथा रेष्टुरेन्टमा स्टिकर टाँसेको उनले जानकारी दिईन् । उनका अनुसार बाँके जिल्ला भरमा एउटा होटल मात्रै उत्तम वर्गीकरणमा परेको छ । उनका अनुसार कोहलपुर दशबिगाहमा रहेको होटल कृष्णा उत्तमको श्रेणीमा वर्गीकरण भएको छ । कोहलपुरकै चर्चित होटल सेन्टर प्लाजाले भने सन्तोषजनक सूचीमा चित्त बुझाएको छ । अनुगमन र मूल्यांकनलाई आधार मानेर कार्यालयले वर्गीकरणको स्टिकर टाँसेकको हो । अन्य होटलमा समेत विस्तारै स्टिकर टाँसिने उनले जानकारी दिईन् । वर्गीकरण गरिएका अधिकाशं होटल तथा रेष्टुरेन्टहरू सन्तोषजनक र सामान्यमै देखिएका छन् ।
होटल तथा रेष्टुरेन्टको बाहिरी परिधिको सरसफाइको अवस्था, भुइँ, भित्ता र सिलिङको स्थिति, खाद्यवस्तुको सम्पर्कमा आउने स्थलको अवस्था, सरसफाइ गर्न प्रयोगमा ल्याइने रसायन तथा विषादी प्रयोग र भण्डारण तथा ढल निकासको व्यवस्थित प्रणालीलगायतलाई मूल्यांकनको आधार बनाइने उनले बताईन । वर्गीकरणका लागि निर्देशिकामा उल्लेख गरिएका ५० प्रश्नको उत्तर दिने क्रममा सबैभन्दा बढी अंक ल्याउने व्यवसायलाई अति उत्तम, त्यसपछि उत्तम, मध्यम (सन्तोषजनक) र सामान्य श्रेणीको प्रमाणपत्रको लोगो दिइने उनले जानकारी दिईन् । अति उत्तम श्रेणीको होटल /रेष्टुरेन्टले तीन तारा र (क) सहित अतिउत्तम लेखिएको हरियो स्टिकर पाउँछन् । यो लोगोे पाउन होटल रेष्टुरेन्टले तोकिएको मापदण्ड बमोजिम ९० भन्दा बढी अंक प्राप्त गर्नुपर्छ । त्यस्तै उत्तम श्रेणीको खाद्य व्यवसायले दुई तारा र (ख) सहित उत्तम लेखिएको हरियो स्टिकर पाउँछन् । यस्तो लोगोे पाउन ८० भन्दामाथि ८९ सम्म अङ्क प्राप्त गर्नुपर्ने हुन्छ ।
यसैगरी मध्यम श्रेणी (सन्तोषजनक)को लोगो पाउन ६५ देखि ७९ बीचको अंक प्राप्त गर्नुपर्ने निर्देशिकामा उल्लेख छ । यस्तो लोगो पाउने होटल रेष्टुरेन्टले एउटा तारा र (ग) सहित सन्तोषजनक लेखिएको हरियो स्टिकर पाउँछन् । बाँकेमा यस्ता होटल रेष्टुरेन्टको संख्या अधिक रहेको छ । सामान्य श्रेणीको लोगोमा (घ) सहित सामान्य लेखेको स्टिकर उल्लेख हुनेछ । यो श्रेणीको लोगो पाउन ५० देखि ६० बीचको अंक प्राप्त गर्नुपर्ने व्यवस्था छ । पानी आपूर्तिका पाइप तथा अन्य प्रयोगका पाइपको अवस्था, खाना बनाउने, खाना खुवाउने तथा भण्डारण कोठामा प्राकृतिक वा कृत्रिम प्रकाशको स्थिति, प्राकृतिक र यान्त्रिक भेन्टिलेसन, भाँडाकुँडाको व्यवस्थापन, सरसफाइ प्रयोजनका लागि पर्याप्त पानीको आपूर्ति, पिउने प्रयोजनका लागि प्रशोधित तथा पिउनयोग्य पानीको व्यवस्थालगायत पनि मूल्यांकन मापदण्डमा उल्लेख गरिएको छ ।