भवन बन्यो, उपचार भगवान भरोसे
नेपालगन्ज : दशक लगाएर निर्माण गरिएको नरैनापुर गाउँपालिकास्थित लक्ष्मणपुर प्राथमिक स्वास्थ्य केन्द्र अहिलेपनि समस्यै समस्याबाट ग्रसित बनिरहेको छ ।
अठार महिनामा निर्माण पुरा गर्नुपर्ने सम्झौताका साथ काम शुरु गरिएको उक्त तीनतले भवन दश वर्षमा मात्र भर्खरै पुरा भएको छ । उक्त भवनका सहरी विकासमन्त्री मोहम्मद ईस्तियाक राईले केही दिन मात्रै तामझामका साथ उद्घाटन गरेका छन् । तर, उक्त केन्द्रमा खानेपानी, विजुलीका साथै चिकित्सक र औषधीको व्यवस्थापनमा मन्त्री राईको समेत नजर र ध्यान जान सकेको छैन् ।
दश बर्षको अवधीमा भवन निर्माण भएपनि औषधी र चिकित्सकको अभावमा गाउँलेले अझै प्रभावकारी सेवा पाउन सकेका छैनन् । केन्द्रमा चिकित्सक र आवश्यकताअनुसारको औषधी ढुवानीका लागि गाउँपालिका र जिल्ला जनस्वास्थ्य कार्यालय समेत उदासिन रहदै आएको छ ।
स्वास्थ्य केन्द्रका इञ्चार्ज मोहम्मद तैराव राई नवनिर्माण गरिएको भवनमा बिजुली–पानीको सहज पहुँच समेत नभएको बताउँछन् । उनी भन्छन्: ‘विजुली पानीको त राम्रै व्यवस्था छैन औषधी र चिकित्सक त कुरै छोड्नुहोस् ।’
उक्त केन्द्रमा दैनिक ४०/५० जना विरामी आउँछन तर, सामान्य रोगका समेत विरामीलाई रिफर गर्नेबाहेक अरू उपाय छैन । स्वास्थ्य संस्थामा आवश्यक आधारभूत प्रविधि र जनशक्ति नहुँदा यहाँका बिरामी नेपालगन्ज अथवा भारत जान बाध्य भएका छन् ।
यहाँ चिकित्सकसहित १३ स्वास्थ्यकर्मीको दरबन्दी छ । अहिले १० जना कार्यरत छन् । दक्ष चिकित्सक छैनन् । उक्त स्वास्थ्य केन्द्रमा डाक्टर आउँदैनन् । डाक्टरको अभावमा अनमि र नर्सले स्वविवेक प्रयोग गरेर उपचार गर्नुको विकल्प देखिदैन् । स्टाफ नर्स मीरा रावलले ४ वर्षदेखि स्वास्थ्य चौकीमा काम गरिरहेको बताइन् ।
विशेषज्ञ चिकित्सक नहुँदा बिरामीलाई निको हुने आश्वासन दिएर पठाउनु बाहेक अरु विकल्प छैन् स्टानर्स मीरा रावलले भनिन् ‘भवन बन्दैमा उपचार पाइदैन् ।’ बिरामीले समयमै प्रभावकारी उपचार नपाउँदा ज्यान गुमाउनुपर्ने बाध्यता रहेको उनी बताउँछिन् ।
गाउँमा स्वास्थ्य संस्था भएपनि औषधी र चिकित्सको अभावले आफूहरु सानो रोगको उपचारका लागि पनि महँगो रकम खर्च गरेर भारत जाने गरेको नरैनापुर–३ की रजिया खाँ बताउँछिन् ।
आर्थिक अवस्था मजोर रहेकी उनी त्यहाँ जानेआउने भाडा, खाने खर्च र उपचार खर्च गरी एक पटकमा ३० हजार रुपैयाँ खर्च हुने गरेको बताउँछिन् । उनकाअनुसार उक्त स्वास्थ्य संस्थाको अत्याधुनिक भवन बनेपनि चिकित्सक र औषधी नहँदा बिरामीलाई झनै समस्या छ ।
एमबीबीएस डाक्टरको दरबन्दी पुरानै भएको गाउँपालिकाका स्वास्थ्य संयोजक मोहम्मद माइन खाँ बताउँछन् ।
उनकाअनुसार डाक्टर स्थायी रूपमा यहाँ बस्दैनन् । औसीपुर्णे भै आउन जानेमात्र हो । डाक्टरको दरबन्दी रहेको उक्त संस्था लामो समयदेखि अहेव, अनमिको भरमा भगवान भरोसे चलिरहेको छ ।