नेपालगन्ज : बाँके जिल्ला अदालतमा विभिन्न प्रकृतिका मुद्दाको चाङ नै लागेको छ । अदालतमा मुद्दा दर्ता हुने क्रम दैनिक जसो बढिरहेको छ । अदालतमा दर्ता भएका मध्ये सम्बन्धविच्छेद गर्नेको संख्या अध्यधिक बढेको छ ।
अदालतको तथ्यांक अनुसार, बाँकेमा गत आर्थिक वर्ष ०७५/७६ मा सात सय ८२ वटा सम्बन्ध विच्छेदका मुद्दा दायर भएका छन् । दायर भएका मुद्दामध्ये तीन सय ४७ थान मुद्दा फच्छ्यौट भएका बाँके जिल्ला अदालतका तहसिलदार हेमराज तिमिल्सैना बताउँछन् ।
उनकाअनुसार मुलुकी देवानी (संहिता) ऐन, ०७४ कार्यान्वयन भएपछि सम्बन्धविच्छेदका मुद्दामा वृद्धि भएको हो । भदौ ०७५ देखि कार्यान्वयन भएको मुलुकी देवानी (संहिता) ऐनले सम्बन्ध विच्छेदका लागि पुरुषले पनि अदालतमा मुद्दा दायर गर्न पाउने व्यवस्था गरेपछि अदालतमा सम्बन्ध विच्छेदका मुद्दामा वृद्धि भएको उनी बताउँछन् ।
आर्थिक वर्ष ०७५/७६ को तुलनामा आर्थिक वर्ष ०७४/७५ मा न्यून मुद्दा दायर भएका थिए । तिमिल्सैनाका अनुसार आव ०७४/७५ मा एक सय ६१ जना महिलाले पतिसँग सम्बन्ध विच्छेदका लागि मुद्दा दायर गरेका थिए ।
आव ०७५/०७६ मा बहुविवाहका ६१ र बालविवाहका १४ थान मुद्दा दायर भएको बाँके जिल्ला अदालतले जनाएको छ । पत्नी छँदाछँदै अर्को विवाह गरेको र उमेर नपुगेर विवाह गरे–गराएको भन्दै कारबाहीका लागि अदालतमा मुद्दा दायर भएको तहसिलदार तिमिल्सैना बताउँछन् ।
यसैबीच उच्च अदालत तुल्सीपुर, नेपालगन्ज इजलासमा परेका मुद्दा मध्ये अहिलेसम्म ७१ दशमलव २२ प्रतिशत मुद्दा फच्छ्योट गरेको छ । अघिल्लो वर्षको जिम्मेवारी सरेर आएका तीन सय ६६ र नयाँ दर्ता भएका एक हजार तीन सय ३७ गरी जम्मा एक हजार सात सय तीनमध्ये एक हजार दुई सय १३ मुद्दा फच्छ्योट गरेको हो ।
जिम्मेवारी सरेर आएकामध्ये दुई र आव ०७५/७६ मा दर्ता भएका चार सय ८८ गरी चार सय ९० थान मुद्दा फच्छ्योट हुन बाँकी रहेको अदालतले बताएको छ । अदालतका अनुसार लक्ष्यभन्दा १ सय १६ दशमलव ४१ प्रतिशत बढी मुद्दा फच्छ्योट भएका छन् ।
अदालतको रेकर्डअनुसार रिट र सुरु क्षेत्राधिकार भएको एक र देवानी प्रकृतिको एक गरी दुई थान मुद्दा मात्र एक वर्ष नाघेका छन् । ६ महिना नाघेका एक सय ३१, तीन महिना नाघेका एक सय ४० र तीन महिनाभित्रका दुई सय २८ थान मुद्दा विचाराधीन रहेको छन् ।