मन्त्री राईको नमूना अस्पताल अस्तव्यस्त
नेपालगन्ज : भेरी अस्पतालमा मृगौलाका विरामी दैनिक बढेका छन् । तर, अस्पतालमा आवश्यकता अनुसारका उपकरण छैनन् । भएका उपकरण बिग्रिएका छन् । चारमध्ये दुई उपकरण कामै नलाग्ने भएका छन् । भने अस्पतालमा विरामी र कुरुवाको लागि आवश्यक शौचालय समेत छैन् ।
विरामीलाई एक ठाँउबाट अर्कोठाँउमा लैजान ह्विल चियर छैन । दक्ष जनशक्ति मेडिकल र स्टाप नर्सको अभाव छ । अस्पतालको डायलासिस यूनिट समस्यै–समस्याले ग्रसित छ । तर, पनि यसको व्यवस्थापन, मेशिनको मर्मत सुधार र नयाँ मेशिन थप्ने काममा अस्पताल प्रशासन, व्यवस्थापन र मेडिकल सुपेरिटेण्डन समेत उदासिन देखिएका छन् ।

भेरीमा उपचारमा आउने विरामी निमुखा र गरिव नै आउने भएकोले मेशिनको अभावमा डायलासिसको लागि पालो कुरेका बिरामीहरु मृत्यु पर्खेर बस्नु परेको यर्थात भएको छ । गरिब निमुखा विरामीलाई डायलासिस मेशिन थपेर सेवा दिनुपर्ने मृगौला पीडित विरामीहरूको माग छ ।
भेरी अस्पताल मध्य र सुदूरपश्चिम नेपालको अघोषित रेफरल सेन्टर हो । यसैले हेमोडायलासिस युनिटमा उपचारको लागि डायलासिस मेशिन, दक्ष जनशक्ति र युनिट सञ्चालनको लागि आवश्यक स्पेस सहितको कोठा थपको माग गर्दै आफूले मेसु अधिकारीलाई पत्राचार गरेको डाक्टर पारस श्रेष्ठ बताउँछन् । उनकाअनुसार अहिले पनि भेरीमा २३ जना विरामी पालो कुरेरै बसेका छन् ।
डायलासिस विभागका प्रमुख डाक्टर श्रेष्ठ र यहाँ कार्यरत स्वास्थ्य कर्मचारीले यसअघि पटक/पटक अस्पताल व्यवस्थापन, प्रशासन र मेसुसँग मेशिन मर्मत सुधार र व्यवस्थापनका लागि आग्रह गरेपनि सम्बन्धीत निकायले अहिलेसम्म कुनै पहल नगरेको र चासो पनि नदेखाएको बुझिएको छ । अहिले दैनि दुई सिफ्ट चलेको डायलासिसमा चार जनाले मात्र डायलासिस गर्न पाएका छन् । अरू विरामी पालो कुररै बसेका छन् ।
डायलासिस विभागकाअनुसार अहिले हप्तामा १२ जनाले मात्र जसोतसो डायलासिस गरिरहेका छन् । मृगौला रोगीले भेरीमा डायलासिस पालो नपाएर नीजि नर्सिङ होममा महँगो रकम तिरेर डायलासिस गर्न बाध्य छन् । भेरीका उपकरण थन्किएर बसेका छन् ।
दरबन्दीअनुसार विशेषज्ञ डाक्टरको अभाव छ । अहिले हेमोडायलासिस युनिट प्रमुख डाक्टर श्रेष्ठले उपचारका लागि आउने विरामीको सेवा गरिरहेका छन् । उनकाअनुसार विरामीको चाप बढेको छ । तर, मेशिनको अभाव छ । भएका चारवटा मध्ये दुईवटा मेशिन कामै नलाग्ने गरी बिग्रिएका छन् । अहिले दुईवटा चलिरहेका छन् ।
उनले भने ‘चलिरहेका दुईमध्ये पनि एउटा मेशिनले डायलासिस गर्दा–गर्दै पटक÷पटक धोका दिइरहेको छ ।’ बिरामीका आफन्त हरेक दिनजसो आउनुहुन्छ पालो आएको छैन भनेर पठाउन बाध्य भएको डाक्टर श्रेष्ठ बताउँछन् । बिरामीको चापअनुसारको डायलासिस मेसिन र दक्ष जनशक्तिको अभाव हुँदा बिरामी मर्कामा परेका छन् ।
शहरी विकासमन्त्री ईस्तियाक राईले भेरी अस्पताललाई प्रदेशकै नमूना अस्पताल बनाउने पटक÷पटक आश्वासन दिएपनि अहिलेसम्म डायलासिसका बिषयमा उनले कुनै सहयोग समेत गर्न चासो देखाएका छैनन् । मन्त्री राईको नमूना अस्पताल आश्वासनमा मात्रै सीमित रहेको छ ।
अस्पतालका मेसु अधिकारीले चिकित्सक नै नभएका र विरामी नै नआउने विभागमा मेशिन लगायतका उपकरण खरिद गर्न चासो देखाएपनि डायलासिस जस्तो अति महत्वपूर्ण विभागमा मेशिन मर्मत गर्न समेत चासो देखाएका छैनन् । समयमै डायलासिस उपचार नपाएका कारण बाँकेमा पनि केही मृगौला पीडितको मृत्यु भइसकेको छ ।
बिग्रिएको डायलोसिस मेसिन मर्मतको प्रयास भइरहेको अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डाक्टर रुपानन्द अधिकारी बताउँछन् । मृर्गाैलाका बिरामीलाई अस्पतालले सहज रुपमा डायलासिस सेवा उपलब्ध गराउँदै आएको मेसु अधिकारीको दाबी छ । तर, मेशिनको अभावमा विरामीले पालो समेत पाउन सकेका छैनन् । यसप्रति मेसु अधिकारी अझै मौन बसिरहेका छन् ।

मृर्गौला रोगीका लागि भेरी अस्पतालमा दुई सिफ्ट मात्रै नभई २४ सै घण्टा डायलासिस सेवा शुरू गर्नुपर्ने मृगौला पीडितहरूको माग छ । दिउँसो र विहान मात्र दिइँदै आएको डायलासिस सेवा साँझ र रातीमा पनि दिनुपर्ने र यसका लागि अस्पतालले आवश्यकता अनुसार जशक्ति र मेशिनको व्यवस्थापन गर्नुपर्नेमा मृगौला पीडितहरूले आवाज उठाएका छन् ।
अहिले दैनिक ४ जनाको डायलासिस हुँदै आएकोमा सेवा अवधि थप भएपछि डालासिस सेवा पाउने विरामीको संख्या पनि बढ्ने र डायलासिस नै गर्न जिल्ला बाहिर र नीजि नर्सिङ होममा महँगो रकम तिर्नु पर्ने बाध्यताको अन्त्य हुने छ ।
तत्कालिन स्वास्थ्य मन्त्री गगन थापाको पहलमा डायलासिस सेवा शुरु भएको भेरीमा पर्याप्त स्रोत र उपकरण नहुँदा आकस्मिक भर्ना भएका र नयाँ बिरामीले लामो समय कुर्दा पनि पालो नपाएर अन्यत्र जानुपर्ने बाध्यता छ ।