काठमाडौं: यस वर्षको पहिलो चरणको राष्ट्रिय भिटामिन ए कार्यक्रम कार्तिक २ र ३ गते हुने भएकोछ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यस आर्थिक वर्षको पहिलो चरणको राष्ट्रिय भिटामिन ए कार्यक्रम आगामी कात्तिक २ र ३ गते गर्ने भएको हो।
पहिलो चरण अन्तर्गत देशका ७ सय ५३ वटै पालिकाको ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकाहरुलाई भिटामिन ए र १ देखि ५ वर्षसम्मका बालबालिकाहरुलाई जुकाको औषधि खुवाउने कार्यक्रम तय भएको छ ।
यस्तै शीघ्र कुपोषणको एकीकृत व्यवस्थापन लागू भएका जिल्लाहरुमा पाँच वर्ष मुनिका बालबालिकालाई ‘एमयुएसी’ टेपबाट पोषण स्थिति लेखाजोखा एवं ६ देखि २३ महिनाका बालबालिकालाई बहुसूक्ष्म पोषक तत्व बालभिटा वितरण गर्ने कार्यक्रम मन्त्रालयले अघि सारेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका सवै स्थानीय तहबाट सहयोग समन्वय तथा प्रचारप्रसार एवं आवश्यक सहजीकरणको लागि पत्र पठाई अनुरोध समेत गरेको छ । साथै समन्वयका लागि संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयलाई समेत पत्राचार गरेको छ ।