करोडका उपकरण अलपत्र


करोडका उपकरण अलपत्र

नेपालगन्ज : बाँकेको नेपालगन्जमा रहेको मध्यपश्चिम क्षेत्रीय प्रहरी अस्पतालमा करोडौं मुल्यका उपकरणहरू प्रयोगबीनै थन्किएका छन् ।
सहयोग तथा अनुदानमा आएका एक करोड रुपैयाँको उपकरण प्रयोगविहीन अवस्थामा थन्किएका हुन् ।

प्रदेश पाँच आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा प्रदेश प्रहरी कार्यालय दाङमार्फत उक्त अस्पताललाई यसअघि डिजिटल एक्सरे मेसिन, ल्याबका उपकरण, डेन्टल चियरलगायतको एक करोडको उपकरण प्रदान गरिएको थियो ।

२०५५ असारमा भाडाको घरमा सञ्चालन गरिएको १५ शैयाको अस्पताल २०५८ मा कारकाँदोस्थित आफ्नै भवनमा सञ्चालन हुँदै आएको छ ।
भौतिक पुर्वाधार अभावका कारण भएका उपकरण यसरी प्रयोगविहीन भएको अस्पतालका प्रहरी निरीक्षक डाक्टर महादेव देउजा बताउँछन् । संरचना निर्माण नभएसम्म यी उपकरण प्रयोग गर्न सक्ने अवस्था नभएको अस्पताल बताउँछ ।

अस्पतालमा आबश्यकता अनुसारको जनशक्ति पनि अभाव देखिएको छ । अस्पताल समस्याबाट ग्रसित भएपनि यहाँ उपचारका लागि आउने बिरामीको चाप भने दैनिक बढेको छ ।

Kanti Aarogya Hospital Nepalgunj

भूतपूर्व प्रहरी, अमर प्रहरी र बहालवाला प्रहरीका परिवारका सदस्य बिरामी भएमा निःशुल्क उपचार सेवा प्रदान गरिँदै आएको छ । कूल १५ शैयाको अस्पतालमा यतिबेला बिरामीको चाप धेरै रहेको अस्पताल प्रशासन बताउँछ ।

चार डाक्टरको दरबन्दी रहेको अस्पतालमा दुई जनाले सेवा दिनुपरेको छ । दैनिक ६० बढी बिरामी उपचारका लागि यहाँ आउने गरेको प्रहरी निरीक्षक डाक्टर महादेव देउजा बताउँछन् ।

उनकाअनुसार साउनयता बिरामीको भीड लाग्ने गरेको छ । नयाँ प्रहरी भर्ना र तालीमको समयमा अस्पतालमा बिरामीको चाप बढ्छ । भेरी अस्पतालमा कार्यरत कार्डियोलोजिष्ट डाक्टर विपीन आचार्य र अर्थोपेडिक डाक्टर प्रकाश थापामार्फत बिरामीलाई सेवा दिइरहेको डाक्टर देउजा बताउँछन् ।

अस्पतालमा चार जना डाक्टरको दरबन्दी छ । तर, अहिले दुई जनाका भरमा उक्त अस्पताल चलिरहेको छ । बिरामीको चाप बढेपछि भेरी अस्पतालबाट डाक्टर ल्याएर सेवा दिएको देउजाले बताए । गम्भीर प्रकृतिका बिरामीको यहाँ उपचार हुन नसके नेपालगन्ज मेडिकल कलेजमा पठाउने गरी सम्झौता भएको प्रहरी निरीक्षक डाक्टर देउजा बताउँछन् ।

स्टाफ नर्समा दुई जनाको दरबन्दी छ । तर, अहिले प्रहरी नायब निरीक्षक रेखा भुसाल मात्रै कार्यरत छन् । दुई डाक्टरसहित एक स्टाफ नर्स, १५ सिएमए र एक ल्याब टेक्निसियन गरी १९ जनाले उपचार सेवालाई चुस्त बनाउनुपर्ने बाध्यता रहेको नर्स भुसाल बताउँछिन् ।

अस्पताललाई प्रदेश मातहत राख्ने निर्णय भएसँगै प्रदेश सरकारले स्तरोन्नति गर्ने तयारी गरेको थियो । तर, अस्पताललाई पुनःसंघ मातहत राख्ने निर्णय भएसँगै स्तरोन्नति रोकिएको डाक्टर देउजाले बताए । उनकाअनुसार स्तरोन्नति गरेर ५० शैया बनाउने योजना थियो । तर, सरकारले यस विषयमा चासो देखाएको छैन ।

अस्पताल सीमित स्रोत साधन र जनशक्तिमै पनि अब्बल सेवा दिइरहेको डाक्टर देउजाको दाबी छ । अहिलेकै स्रोत साधन र जनशक्तिलाई अधिकतम प्रयोग गरेर सेवालाई प्रभावकारी बनाउन लागिपरेको उनी बताउँछन् । प्रहरी तालीम केन्द्रमा विभिन्न तहको तालीम हुँदा बिरामीको चाप बढ्ने गरेको छ ।

गत पाँच आर्थिक वर्षमा १८ हजार २ सय २८ जनाले बहिरङ् सेवा लिएको अस्पतालको तथ्याक छ । सबैभन्दा धेरै आर्थिक वर्ष २०७३/०७४ मा चार हजार २ सय ७७ ले उपचार सेवा लिएका छन् । सबैभन्दा कम आव २०७०/०७१ मा दुई हजार ४ सय ३७ जनाले सेवा लिएका छन ।

अस्पतालको इमरजेन्सी वार्डबाट आव २०७०/०७१ देखि आर्थिक वर्ष २०७५/०७६ सम्म १२ हजार २ सय ७२ जनाले उपचार गरेको तथ्याक छ ।
अस्पतालले इमरजेन्सी र जनरल ओपिडी सेवासँगै डेण्टल, फिजियो थेरापी, हाड जोर्नी तथा नशारोग र मुटुरोगसम्बन्धी उपचार सेवा दिन्छ । विभिन्न समयमा स्वास्थ्य र रक्तदान शिविर चलाउने गरेको उनले बताए ।