प्रेस स्वतन्त्रता सेनानी ‘चाचाजी’ को बृत्तचित्र प्रर्दशन गरिने


प्रेस स्वतन्त्रता सेनानी ‘चाचाजी’ को बृत्तचित्र प्रर्दशन गरिने

नेपालगन्ज : प्रेस स्वतन्त्रता सेनानी एवम् वरिष्ठ पत्रकार पन्नालाल गुप्त ‘चाचाजी’ को जीवनमा आधारित बृत्तचित्र नेपालगन्जमा प्रर्दशन गरिने भएको छ ।  पत्रकार सन्तोष रेग्मीद्वारा निर्देशित उक्त बृत्तचित्र नेपाल प्रेस युनियन बाँकेको संयोजनमा यही माघ १५ गते प्रर्दशन गरिने भएको हो ।

नेपालगन्ज निवासी वरिष्ठ पत्रकार ‘चाचाजी’ नेपाल प्रेस युनियन बाँकेको संस्थापक अध्यक्ष हुन । विगत ४ दशकभन्दा बढी समयदेखी प्रकाशित हुदै आएको स्थानीय किरण साप्ताहिकका प्रकाशकरसम्पादक समेत रहेका ९० वर्षिय गुप्तको विशेष आग्रहमा युनियनले उक्त बृत्तचित्र प्रर्दशन गर्ने निर्णय गरेको अध्यक्ष जयनारायण शाहले बताए । बृत्तचित्र प्रर्दशनी गरेर संकलन भएको रकम पन्नालाल गुप्त पत्रकारिता पुरस्कार कोष’ मा जम्मा गरिने उनले जानकारी दिए ।

बृत्तचित्र प्रर्दशनीका लागि युनियन बाँकेको कार्यसमिति बैठकले शुक्रबार एक तयारी समिति गठन गरेको छ । युनियनका केन्द्रिय सदस्य जयसिंह केसीको संयोजकत्वमा एक समिति गठन गरिएको हो । उक्त बैठकमा युनियनका केन्द्रिय उप–महासचिव प्रेम केसीले पत्रकारितामै आफ्नो जीवन सर्मपित गर्नु भएका प्रेस स्वतन्त्रता सेनानी ‘चाचाजी’ को बृत्तचित्र अवलोकन गर्न पाउनु बाँकेबासीका लागि महत्वपुर्ण अवसर भएको बताए । उनले– बृत्तचित्र प्रर्दशनी कार्यक्रमलाई भब्य रुपले सम्पन्न गर्न युनियनले कुनै कसर बाँकी राख्न नहुनेमा जोड दिए । युनियनका केन्द्रिय सदस्य एवम् तयारी समितिका संयोजक समेत रहेका जयसिंह केसीले बृतचित्र अवलोकनका लागि सरकारी तथा गैर सरकारी निकाय, जनप्रतिनिधी, उद्योगी, ब्यवसायी, पत्रकार, नागरिक समाज, साहित्यकार, कलाकार, प्राध्यापक, बिद्यार्थी, सर्वसाधारण सबैलाई निम्तो बाँडिने बताए ।

बृतचित्रका निर्देशक सन्तोष रेग्मीले चाचाजीको सम्मानका साथै पत्रकारितामा उहाँको योगदानबारे समाजलाई सुसुचित गर्न बृतचित्र निर्माण गरेको प्रष्ट्याउए । ‘चाचाजीको योगदान बारे समाजलाई सुसुचित गर्ने सानो प्रयास गरेको हुँ,’ उनले भने । युनियन बाँकेका सचिव अर्जुन ओलीले ‘चाचाजी’ को बृतचित्रले नेपाली पत्रकारिताको ईतिहासबारे समाजलाई सुसुचित गर्नुका साथै पत्रकारितामा आउन नयाँ पिढींलाई प्रेरणाको स्रोत बन्ने विश्वास गरे । युनियन बाँकेको अधिवेशनको तयारी सँग–सँगै बृत्तचित्र प्रर्दशनीको तयारी गर्न लागिएको सचिव ओलीले बताए ।