नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४, गणेशपुरमा भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै ।
नेपालगन्ज : बाँकेका स्थानीय तहले सरकार तोकेअनुसार शनिबार र आईतबार दुई दिन ६ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइरहेका छन् ।
प्रदेश तथा स्थानीय तहसँग मिलेर राष्ट्रिय भिटामिन ए कार्यक्रम सञ्चालन गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बालबालिकाहरुलाई भिटामिन ए र जुकाको औषधि खुवाउन शनिबारदेखि शुरू गरेको हो ।
नजिकको खोप केन्द्र वा वडा कार्यालयमा स्वास्थ्य स्वयंसेविकाले भिटामिन ए र जुकाको औषधि खुवाउँछन् । शनिबार खान छुटेकाहरुलाई आइतबार खुवाइने छ । स्वास्थ्य स्वयंसेविकाले छ महिनादेखि पाँच वर्षसम्मका बालबालिकाको पोषण स्थिति जाँच गर्न ‘एमयूएसी’ टेपबाट पाखुराको नाप लिने छन् ।
स्वास्थ्य सेवा विभाग परिवार स्वास्थ्य महाशाखा पोषण शाखा प्रमुख केदार पराजुलीले पहिलो चरणअन्तर्गत ७५३ वटै स्थानीय तहका ६ महिनादेखि ५ वर्षसम्मका २७ लाख बालबालिकालाई भिटामिन ए र पाँच वर्षसम्मका २४ लाख बालबालिकालाई जुकाको औषधि (अलबेन्डाजोल) खुवाइने बताए ।
छ महिनादेखि दुई वर्षसम्मका बालबालिकालाई बालबिटा ट्याब्लेट बाँड्ने योजनासमेत छ । भिटामिन ए कार्यक्रमका लागि सबै स्थानीय तहमा कार्यरत ५० हजारभन्दा बढी महिला स्वास्थ्य स्वयंसेविका र स्वास्थ्यकर्मी परिचालित छन् ।
मन्त्रालयको अभियान अन्र्तगत बाँकेका विभिन्न पालिकाका बालबालिकाहरुलाई भिटामिन ए र जुकाको औषधि खुवाइएकोछ ।