नेपालगन्ज : उनकाअनुसार नेपालगन्जमा पनि पुरूष नर्सप्रति आकर्षण बढ्दै जान थालेको छ । उनले भने ‘पछिल्लो समय नर्सिङ पढ्नका लागि रूची देखाउँनेको संख्या धेरै देखिएको छ ।’ नर्सिङ क्षेत्रमा पुरूषलाई पनि सहभगाी बनाउँनुपर्छ भन्ने मान्यता अनुसार प्रत्येक नसिंङ कलेजमा १० प्रतिशत कोटा समेत छुट्टाईएको अस्पतालका मेट्रोन दुर्गालक्ष्मी श्रेष्ठ बताउँछिन् । उनका अनुसार अधिकाशं कलेजमा सोचे बमोजिमको नर्सिङ अध्ययनका लागि विद्यार्थी सहभागी हुन सकेका छैनन् ।
नेपालगन्जको हकमा पनि उक्त क्षेत्रको अध्ययनका लागि पछिल्लो समय तीन जना पुरूषले परीक्षा दिएका थिए । उनले भनिन् ‘परीक्षामा दुई जना पास भएका हुन् ।’ विदेशमा पुरूषले पनि नर्सिङ अध्ययन गर्ने गरेका छन् उनले भनिन् ‘नेपालको सन्दर्भमा विगतदेखि नै पुरूषहरूलाई नर्सिङ पेशामा ल्याउन प्रयास प्रभावकारी भएको छैन् ।’ यसअघि पहिलो चरणमा प्राविधिक शिक्षा तथा व्यायसायीक तालिम परिषद् (सिटिइभिटी) अन्तर्गत ६० जना पुरुष पिसिएल नर्सिङ पढेका थिए । नेपाल नर्सिङ काउन्सिलले चालु शैक्षिक शत्र २०७५/७६ देखि लागू हुने गरी १५ प्रतिशत पुरुषलाई नर्सिङ अध्ययनमा समावेश गराउने निर्णय गरेको थियो । सोही अनुसार सिटिइभिटी अन्तर्गतका कलेजहरुमा ६० जना पुरुष नर्सिङ पढ्दै छन् भने नेपालगन्जमा दुईजना अध्ययनरत छन् ।
पहिले महिलाले मात्रै अध्ययन गर्ने यो क्षेत्रमा अहिले पुरूषले पनि अध्ययन शुरू गरेका छन् । नर्सिङ अध्ययनका लागि सिटिइभिटी अन्तर्गतका कलेजमा दुई सय ४३ जना पुरुषले आवेदन दिएका थिए । आवेदन दिनेमा महिला र पुरुष गरी कुल १३ हजार ४ सय ७६ थियो । आवेदन दिएकामध्ये ६० जना मात्र अध्ययनका लागि कलेज भर्ना भएको सिटिइभिटीको तथ्याकंले देखाएको छ । सिटिइभिटी अन्तर्गत एक सय २५ भन्दा बढी नर्सिङ कलेजबाट वार्षिक ७ हजार ७ सय ४० जना नयाँ नर्सिङ जनशक्ति उत्पादन हुँदै आइरहेका छन् । नर्सिङ काउन्सिलले छुट्याएको १५ प्रतिशत कोटामा पुरुष भर्ना हुने हो भने वार्षिक ११ सय ५५ जना पुरुषले अध्ययनको अवसर पाउने छन् ।
२०४६ मा त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थानमा पुरुष नर्सको पढाइ शुरु भएको थियो । चार ब्याचसम्म मात्र अध्ययन भएको त्यो समयमा ८० जना पुरुष नर्स जनशक्ति उत्पादन भएका थिए । पछि पुरुषका लागि नर्सिङ पढ्ने अवसर बन्द भएको थियो । अहिले नेपाल नर्सिङ परिषदमा ८१ हजार ९० नर्स दर्ता छन् । जसमा स्टार्फ नर्स ४९ हजार ३४, अनमी ३१ हजार २ सय २१ र विदेशी नर्स ८ सय ३५ दर्ता छन् । दर्ता भई बर्षेनी लाइसेन्स दर्ता नवीकरण भने १३ हजार ८ सय ३६ स्टार्फ नर्स र तीन हजार ६ सय ३४ अनमीले मात्र गराएको परिषद्को तथ्यांक छ ।
पीसीएल नर्सिङ अध्ययन पूरा गर्न ७ देखि ८ लाख रूपैयाँ खर्च हुने परिषद्ले बताएको छ । नेपालमा २०५० सालभन्दा अगाडि लगातार चौथो वर्षसम्म पुरुष नर्स उत्पादन भएका थिए । तर, आकर्षण घटेपछि त्रिभुवन विश्व विद्यालयलेनै चौथो वर्षपछि सो विषय पुरुषका लागि स्थगित गरेको थियो ।
त्यो चार वर्षको अवधिमा नेपालमा ८० जना पुरुष नर्स जनशक्ति उत्पादन भएका थिए । नर्सिङ काउन्सिलको पछिल्लो तथ्यांकअनुसार अहिलेको कोटाका आधारमा नेपालमा वार्षिक ७ सय ७ जना पुरुष नर्स उत्पादन हुने देखिएको छ। एक दशक अघिसम्म नर्सहरूप्रतिको सामाजिक दृष्टिकोण नकारात्मक भए पनि अहिले अभिभावकहरुमा आफ्ना छोरीहरूलाई नर्स बनाउने चाहना बढेको छ । पहिले बोलाई–बोलाई पढाउनुपर्ने नर्सिङ विषयका लागि अहिले नेपालका नर्सिङ क्याम्पसहरुमा नर्सिङ विषयको अध्ययनका लागी कडा प्रतिस्पर्धा हुनथालेको भेरी अञ्चल अस्पतालका मेट्रोन दुर्गालक्ष्मी श्रेष्ठ बताउँछिन् । नर्सिङ विषयमा अध्ययन गर्नका लागि शुरुमा तीन वर्षको बेसिक कोर्स (आइ एस्सी नर्सिङ) गर्नुपर्छ । त्यसपछि दुईवर्षे बीएस्सी नर्सिङ गर्न सकिने उनले बताईन् ।
अझ् उच्च तहमा अध्ययन गर्न चाहनेहरूले एमएस्सी र पीएच डी पनि गर्न सक्छन् । तीन वर्षे प्रविणता प्रमाण पत्र तहको नर्सिङ अध्ययनगरी स्टाफ नर्स बनेपछि नर्स सेवा शुरु गर्नका लागि नर्सले आफूलाई नर्सिङ काउन्सिलमा दर्ता गराउनुपर्ने प्रवाधान छ । काउन्सिलमा अहिलेसम्म तीन हजार नौ सय ५३ स्टाफ नर्स दर्ता भएका छन् ।