नेपालगन्ज : जनशक्ति अभावका कारण अत्याधुनिक प्रविधिको मौसमको पूर्वसूचना दिने राडार सञ्चालनमा आउन सकेको छैन । अमेरिकी कम्पनी इन्टरप्राइज इलेक्ट्रोनिक को–अपरेशनले विश्व बैंकको १७ करोड लागतमा नेपालको मौसम तथा जलसम्बन्धी अवलोकन कार्य प्रर्णालीलाई अत्याधुनिक एवं सुविधा सम्पन्न बनाउन राडार स्थापना गरेको हो ।
विश्व बैंकको सहयोगमा जल तथा मौसम विज्ञान विभागले वीरेन्द्रनगर–१४ स्थित रातानाङला डाँडामा नेपालमै पहिलो मौसमी राडार स्थापना गरिएको हो । नमूनाका रूपमा नेपालमा पहिलोपटक निर्माण गरिएको सो अत्याधुनिक प्रविधिको राडारमा पर्दछ । राडार ११७ फिट अग्लो छ । जलस्रोत, ऊर्जा तथा सिँचाइ मन्त्रालयले संघीय संरचनाअनुसार वीरेन्द्रनगरमा रहेको मध्य तथा सुदूरपश्चिम क्षेत्रीय हावापानी कार्यालयलाई कोहलपुर सारेपछि राडारको भविष्य पनि अन्यौलमा परेको छ ।
मौसमविद्का अनुसार राडारले वर्षा, वर्षाको प्रकार तथा तीव्रता, वायु प्रणालीको बहाव, बादलको अवस्था, चक्रवातको बहिर्भावको स्थिति, असिना, हिउँ, चट्याङ, बाढीलगायत जोखिमको पूर्वानुमान गर्नेछ । राडारले प्रदेश पाँच, कर्णाली र सुदूपश्चिम प्रदेशको तीन सय किलोमिटर दूरीसम्मको मौसमको पूर्वअवस्था बारे जानकारी दिनेछ ।