काठमाडौं। एप्पलले आफ्नो पहिलो फोल्डेबल स्मार्टफोन ‘आईफोन डुओ’ सार्वजनिक गरेको छ। क्यालिफोर्नियामा बुधबार आयोजित कम्पनीको उत्पादन सार्वजनिक कार्यक्रममा नयाँ फोल्डेबल आईफोन सार्वजनिक गरिएको हो।
एप्पलका अनुसार फोन खोल्दा ७.६ इन्चको इनर डिस्प्ले रहने भएकाले यो हालसम्मकै सबैभन्दा पातलो आईफोन बनेको छ। इनर स्क्रिनमा नानो–टेक्स्चर फिनिस प्रयोग गरिएकाले प्रकाशको परावर्तन कम हुने र भिडियो हेर्ने, गेम खेल्ने तथा मल्टिटास्किङका लागि ठूलो स्क्रिनको अनुभव मिल्ने कम्पनीको दाबी छ।
फोन बन्द गर्दा ५.४ इन्चको बाहिरी डिस्प्ले उपलब्ध हुन्छ, जसले आईफोन १८ प्रोको करिब ९० प्रतिशत स्क्रिन क्षेत्रफललाई कम्प्याक्ट डिजाइनमा समेटेको छ। दुवै डिस्प्लेमा समान आस्पेक्ट रेसियो भएकाले सामग्री सहज रूपमा स्केल हुने एप्पलले जनाएको छ।
नयाँ चिप, दोहोरो ब्याट्री र एआई सुविधा
आईफोन डुओमा नयाँ ए२० प्रो चिप प्रयोग गरिएको छ। भेपर च्याम्बरसहितको नयाँ थर्मल व्यवस्थापन प्रणाली र दुईवटा ब्याट्रीलाई एउटै प्रणालीझैँ सञ्चालन गर्ने प्रविधिका कारण दिनभर टिक्ने ब्याट्री क्षमता प्रदान गर्ने कम्पनीको दाबी छ।
कम्पनीका अनुसार इनर डिस्प्ले प्रयोग गर्दा ३१ घण्टासम्म भिडियो प्लेब्याक, बाहिरी डिस्प्लेमा ४४ घण्टासम्म भिडियो प्लेब्याक तथा मिश्रित प्रयोगमा २४ घण्टासम्म ब्याट्री टिक्नेछ। फोनले करिब २० मिनेटमा ५० प्रतिशतसम्म फास्ट चार्ज तथा म्यागसेफ वा क्यूआई–२ वायरलेस चार्जिङमार्फत ३० मिनेटमा ५० प्रतिशतसम्म चार्ज गर्न सक्ने कम्पनीले जनाएको छ।
४८ मेगापिक्सेल क्यामेरा र नयाँ फोटोग्राफी सुविधा
आईफोन डुओमा ४८ मेगापिक्सेल फ्युजन मुख्य क्यामेरा दिइएको छ। यसले ४८ मेगापिक्सेल रिजोल्युसनमा तस्बिर खिच्न, २ गुणासम्म अप्टिकल गुणस्तरको टेलिफोटो जुम तथा न्यून प्रकाशमा पनि स्पष्ट तस्बिर खिच्न सक्ने कम्पनीले जनाएको छ।
फोल्डेबल डिजाइनका कारण नयाँ क्यामेरा सुविधा पनि थपिएका छन्। स्मार्ट टेक ले विषय तयार भएको बेला स्वचालित रूपमा तस्बिर खिच्छ भने डुओ प्रिभ्यू ले बाहिरी स्क्रिनमा लाइभ प्रिभ्यू देखाउँछ। किड क्यु ले बालबालिकाको ध्यान आकर्षित गर्न बाहिरी स्क्रिनमा एनिमेसन देखाउने सुविधा पनि उपलब्ध छ।
भिडियोका लागि फोनले ४के १२० एफपीएस डल्बी भिजन रेकर्डिङ, पोस्ट–क्याप्चर सिनेम्याटिक प्रभाव तथा ४के टाइम–ल्याप्स जस्ता सुविधा प्रदान गर्ने कम्पनीले जनाएको छ।
आईओएस २७ र एप्पल इन्टेलिजेन्स
आईफोन डुओमा आईओएस २७ र एप्पल इन्टेलिजेन्समा आधारित नयाँ सिरी एआई समावेश गरिएको छ। यसले प्रयोगकर्ताका सन्देश, इमेल, फोटो तथा स्क्रिनमा देखिएको सामग्रीको सन्दर्भ बुझेर आवश्यक जानकारी खोज्न, काम गर्न र प्रश्नको जवाफ दिन सक्ने कम्पनीले जनाएको छ।
एप्पल इन्टेलिजेन्सले तस्बिरको संरचना सुधार्ने, एआईद्वारा सम्पादन गरिएको तस्बिर पहिचान गर्ने तथा सफारीमा मूल्य घटेको वा स्टक उपलब्ध भएको जानकारी दिने सुविधा पनि प्रदान गर्ने कम्पनीले जनाएको छ।
ई–सिम र मूल्य
आईफोन डुओ विश्वव्यापी रूपमा ई–सिम मात्र सपोर्ट गर्ने डिजाइनमा आएको छ। यसले आन्तरिक स्थान बचत गरेर ब्याट्री क्षमता बढाउन सहयोग गर्ने कम्पनीको भनाइ छ।
यो फोन स्टार ह्वाइट र नाइट स्काइ गरी दुई रङमा उपलब्ध हुनेछ। २५६ जीबी, ५१२ जीबी, १ टीबी र २ टीबी स्टोरेज विकल्पमा आउने फोनको सुरुआती मूल्य १,९९९ अमेरिकी डलर तोकिएको छ। अक्टोबर १६ देखि प्रि–अर्डर खुल्ने र अक्टोबर २३ देखि बिक्री सुरु हुने एप्पलले जनाएको छ।
एप्पलका प्रमुख कार्यकारी अधिकृत जोन टर्नसले आईफोन डुओलाई ‘मूल आईफोनपछि आईफोनमा आएको सबैभन्दा ठूलो परिवर्तन’ भएको बताउँदै हार्डवेयर र सफ्टवेयरको संयोजनले फोल्डेबल स्मार्टफोनको प्रयोगलाई नयाँ स्तरमा पु¥याउने दाबी गरेका छन्। एएनआई
कर्णाली राजमार्ग: सडक पुरिएकाे महिना पुग्न लाग्याे, नेपालगञ्जबाट हिँडेका सयाै ट्रकहरू बाटाेमै
'भेरी नदी थुनिएकाे छैन, पहिराे करिडाेरमा पहिराे खसेकाे हाे'
एप्पलको ‘फोल्डेबल’ आईफोन कस्ताे छ, कति पर्छ?
भदौं २४ मा हाम्राे घर मात्रै होइन, ओलीलाई नै जलाउने उद्देश्य थियो : राधिका शाक्य
बिपदका बेला सत्ता होइन, नागरिक जोगाउनु सरकारको पहिलो धर्म हो : बासना थापा
प्रचण्डको प्रश्न: जेन-जीले खोजेको परिवर्तन कहाँ पुग्यो?