‘ईपोफिट’ अभावले मृगौला विरामी समस्यामा

भेरीमा बिग्रेका मेशिन बनाउन अस्पताल उदासिन, दर्जन विरामी प्रभावीत


‘ईपोफिट’ अभावले मृगौला विरामी समस्यामा

नेपालगन्ज : बाँकेको नेपालगन्जमा मृगौला विरामीका लागि प्रयोग गरिने ईपोफिट इन्जेक्सनको अभाव देखिएको छ । यसले डायलासिसका लागि भेरी अस्पतालमा आउने विरामी उक्त ईन्जेक्सन लगाउँनबाट बञ्चित भएका छन् ।

भेरी अस्पतालमा रहेको अस्पतालकै फार्मेसीले उक्त ईन्जेक्सन महँगो भन्दै नल्याउने र बजारमा रहेका अन्य मेडिकलमा नपाईने गरेपछि विरामीले विगत एक महिनादेखि इकोफिट ईन्जेक्सन लगाएका छैनन् ।

नेपालगन्जको बजार मूल्यअनुसार एक हजार पाँच सय पर्ने ईपोफिट बजारमा नपाएपछि अहिले कतिपय विरामीहरू दुई हजार एक सयदेखि दुई हजार पाँच सयसम्म रकम तिरेर महँगोमा अर्को ईन्जेक्सन लगाउन बाध्य भएका छन् ।

भारतको बहराइचमा उक्त ईन्जेक्सन सहजै पाइने भएपनि महगाेंमा उस्तैखाले अर्को ईन्जेक्सन बिक्रि गर्न पाइने भन्दै नेपालगन्जका मेडिकल सञ्चालकले ईपोफिट ईन्जेक्सन ल्याउन चासो नदेखाएको र्मिगौला पीडितहरूको गुनासो छ । 

नेपालगन्जको भेरी अस्पतालमा अहिले दैनिक चार जनाले डायलासिस गराईरहेका छन् । डायलासिस गरिरहेका सत्तप्रतिशतले हप्तामा एक वा महिनामा दुई पटक ईपोफिट इन्जेक्सन लगाउने गरेका थिए ।

तर, अहिले एक महिनादेखि उक्त ईन्जेक्सन बजारमा अभाव देखिदै कतिपयले महगोमा अर्कै कम्पनीको ईन्जेक्सन लगाइरहेका छन् एक मृगौला विरामीले भने ‘म जस्ता आर्थिक अभाव भएका दर्जन विरामीले एक महिनादेखि ईपोफिट दुई पटक लगाउन सकेका छैनौं ।’ यसले विरामीको स्वास्थ्यमा प्रतिकुल असर पारिरहेको छ ।

भेरीमा रहेका चारवटामध्ये दुईवटा मेशिन बिग्रेको करिब ६ महिना भइसक्दा पनि उक्त मेशिन बनाउनतर्फ अस्प्तालका मेसु डाक्टर रूपानन्द अधिकारी मौन छन् । उनले तिहार अघि उक्त मेशिन बनाउन प्राविधिक आउने बताएपनि अहिलेसम्म मेशिन मर्मत गर्न सकेका छैनन् । मेशिन बिग्रेको यति महिना भइसक्दा समेत मेसु अधिकारीले डायलासिस युनिटमा गएर ती मेशिनको प्रत्यक्ष हेरफेर समेत नगरेको स्वास्थ्यकर्मी नै बताउँछन् ।

एक स्वास्थ्यकर्मीले भने ‘विरामीको चाप बढेको बढ्यै छ । मेशिन बिग्रेका छन् । चलिरहेका दुईमध्ये एउटाले कहिलेकाँही काम गर्ने छाडेको छ । एउटा मेशिनको भरमा डायलासिस विभाग चलिरहेको छ । यहाँका मेशिन मर्मत र सुधारका लागि अस्पताल प्रशासन र व्यवस्थापन उदासिन देखिएको छ ।’

विरामीद्वारा आन्दोलनको चेतावनी
विरामीको चाप दैनिक बढेको र अस्पतालले बिग्रेका मेशिन मर्मत गर्नेतर्फ चासो नदिएको भन्दै मृगौला विरामीले अस्पताल विरूद्ध आन्दोलनको चेतावनी दिएका छन् ।

साधन स्रोतको अभाव रहेको डायलासिस युनिटमा भएका मेशिन समेत प्रयोगका लागि मर्मत नहुँदा दर्जनौ विरामीले अस्पतालबाट सहज सेवा पाउन सकेका छैनन् ।

मृगौला विरामीले डायलासिस युनिटमा भएका सबै मेशिन प्रयोगमा ल्याउनुपर्ने, बिग्रेका मेशिन तत्काल मर्मत गर्नुपर्ने, आवश्यकताअनुसारका डाक्टर दरबन्दी र जनशक्तिका लागि अस्पताल व्यवस्थापन र प्रशासनले पहल गर्नुपर्ने लगायतका माग राखी आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।

यसअघि पनि अस्पतालका मेसु अधिकारीले तत्काल मेशिन बनाउँने प्रतिबद्धता जनाएका थिए । तर, उनले अहिलेसम्म बिग्रेका मेशिन मर्मत गरी प्रयोगमा ल्याई विरामीलाई हसज डायलासिसको व्यवस्थापन गर्न चासो नदेखाएको मृगौला विरामी बताउँछन् ।

अहिले पनि दुई दर्जनबढी मृगौलाका विरामी मेशिनको अभावमा पालो कुरेरै बसेको युनिट ईन्चार्ज डाक्टर पारस श्रेष्ठ बताउँछन् । उनकाअनुसार अहिले पनि दैनिक नयाँ विरामी डायलासिसका लागि सम्पर्कमा आउने गरेको छन् । तर, बिग्रेका मेशिन समयमै मर्मत हुन नसक्दा यस्ता विरामीलाई फिर्ता गर्नुको विकल्प छैन् ।

यता अस्पतालका मेसु अधिकारीले भने आफू बिग्रेका मेशिन मर्मतका लागि सम्बन्धित निकायसँग छलफलमै रहेको बताउँदै आएका छन् । उनले छलफलमा भएको भनि बाहाना बनाउँन लागेको पनि करिब पाँच महिना वितिसकेको अस्पतालका कर्मचारी नै बताउँछन् । तर, अस्पतालका मेशिन मर्मत हुन सकेका छैनन् ।