डुडुवा(बाँके) :बाँके डुडुवा गाउँपालिकामा समग्र स्वास्थ्यको अवस्थाका बारेमा बृहत छलफल गरिएको छ । गाउँपालिकाले प्रवाह गर्ने घर(घरमा निशुल्क स्वास्थ्य सेवाको प्रभावकारिता, स्पष्ट स्वास्थ्य नीति, स्वास्थ्य सेवा कार्ड, तथा अन्य स्वास्थ्य सवालका बारेमा छलफल गरि विशेष रणनीति निमार्ण गरिएको छ ।
कार्यक्रममा स्वास्थ्य सेवा अभियानलाई थप प्रभावकारी बनाउन स्वास्थ्य सेवा कार्डको प्रयोजन तथा व्यवस्थापन गरिने, स्वास्थ्य समस्याको समाधानका लागि स्वास्थ्य निति निमार्ण गर्ने रणनितिका साथ अघि बढ्ने गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताए ।
अध्यक्ष चौधरीले डुडुवालाई स्वास्थ्यका क्षेत्रमा नमूना गाउँपालिका बनाउने योजनाका साथ अघि बढेकाले स्वास्थ्यलाई विशेष प्राथमिकतामा लिइएको बताए ।
गाउँपालिकाले अहिले दुई वटा निःशुल्क स्वास्थ्य प्रयोगशाला स्थापना गरि निःशुल्क स्वास्थ्य जाँच तथा उपचार सेवा दिदै आएको स्वास्थ्य शाखा प्रमुख धनबहादुर बुढाले जानकारी दिए ।
कार्यक्रममा समायोजन भई आएका ३२ जना स्वास्थ्य कर्मचारीलाई स्वागत समेत गरिएको छ । भने सो कार्यक्रममा समायोजनमा परेर डुडुवाबाट अन्यत्र जान लागेका ११ जना कर्मचारीलाई विदाई गरियो ।
सोही अवसरमा नयाँ कर्मचारीहरुलाई डुडुवामा स्वास्थ्यको नीति तथा योजना लगायतका विषयमा जानकारी गराइएको छ । गाउँपालिकामा करार सेवा सहित गरि हाल ६६ जना स्वास्थ्य शाखाका कर्मचारीहरु कार्यरत रहेको गाउँपालिकाले जनाएको छ ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष शाहिदा बानो, वडाध्यक्ष, तथा कार्यपालिका सदस्य र अन्य कर्मचारीहरुको उपस्थिती रहेको थियो ।