डुडुवा(बाँके) : डुडुवा गाउँपालिका वडा नम्बर–५मा नवनिर्मित भवनको शनिबार उदघाटन गरिएको छ । कम्दी स्वास्थ्य चौकीको साढे दुई तले भवन गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले उद्घाटन गरेका हुन् । नउले पालिकास्तरमा १५ सैयाको अस्पताल निमार्णको तयारी भईरहेको समेत बताए ।
उनले अस्पताल निमार्णका लागि चाहिने जग्गाको व्यवस्थापन भईरहेको भन्दै गाउँपालिकामा स्वास्थ्य सम्वन्धी समस्याको समाधानका लागि आवश्यक बजेट तथा जनशक्तिको व्यवस्थापन गर्ने बताए ।
अध्यक्ष चौधरीले समुदायस्तरमा महिला स्वास्थ्य स्वयम्सेविकाहरुको भुमिका महत्वपुर्ण भएकाले उनीहरुको योगदानको प्रंशासा गर्दै कार्यक्षेत्रमा साईकलको व्यवस्थापन गर्ने बताए । उनले वडा नम्बर–५, ठुलो भौगोलिक क्षेत्र र जनसंख्या भएकाले सेवाग्राहीलाई पायक पर्ने स्थान डलैपुरमा सामुदायिक स्वास्थ्य सेवा इकाई स्थापना गर्ने समेत जनाए ।
उद्घाटन समारोहमा गाउँपालिका स्वास्थ्य शाखा संयोजक धनबहादुर बुढा, स्वास्थ्य चौकी इन्चार्ज थीरमानसिंह रोकाय, महिला स्वयम्सेविका सरस्वती बुढाथोकी लगायतले शुभकामाना दिएका थिए ।
वडाध्यक्ष प्रशुराम बुढाथोकीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भवन निमार्णका जग्गादान गर्ने ६ जनालाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । ७ कठठा जमिनमा रु २ करोड ४७ लाख ४१ हजार ८१६ को लागतामा साढे दुई तलाको भवन निमार्ण भएको स्वास्थ्य चौकी इन्चार्ज थीरमानसिंह रोकायले बताए ।
सो भवनमा निःशुल्क प्रयोगशाला र बर्थिङ्ग सेन्टर सञ्चालनमा रहेको छ भने १५ जना जनशक्तिले २४ सै घण्टा सेवा दिईरहेको छ ।गाउँपालिकाको वडा नम्बर २ र ५ मा स्वास्थ्य चौकीको अत्याधुनिक भवन निमार्ण भईसकेको छ ।