नेपालगन्ज : विश्व शौचालय दिवसका अवसरमा बाँकेका अधिकारकर्मीहरुले स्थानीय तहको ध्यानाकर्षण गराएका छन् ।
दिवसका अवसर पारेर मङ्गलबार सार्वजनिक शौचालयको सरसफाई र प्रभावकारी व्यवस्थापन गरिनुपर्ने माग गर्दै स्थानीय तहको ध्यानाकर्षण गराइएको हो ।
सूचना र मानव अधिकार अनुसन्धान केन्द्रको अगुवाईमा अधिकारकर्मीहरुको एक समुहले नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर उमा थापामगरलाई ध्यानाकषर्ण पत्र समेत बुझाएको छ ।
नगरभित्र रहेका सार्वजनिक शौचालयहरुको सरसफाई र निःशूल्कको व्यवस्था, नगर बसमा जेष्ठ नागरिक, अपाङ्ता भएका, बालबालिका तथा विद्यार्थीका लागि छुट्टै सिट, तथा छुटको व्यवस्था, सार्वजनिक स्थलमा धुम्रपानको अन्त्य गर्नुपर्ने जस्ता विभिन्न माग राख्दै उपमहानगरपालिकाको ध्यानाकर्षण गराएको हो ।
केन्द्रका अध्यक्ष विश्वजीत तिवारीका अनुसार ध्यानाकर्षण पत्र बुझ्दै उपमहानगरपालिकाकी उपमेयर उमा थापा मगरले सार्वजनिक शौचालयका विषयमा गम्भीर भएको बताउँदै सर्वसुलभ र प्रभावकारी शौचालय व्यवस्थापनमा उपमहानगरपालिका प्रयासरत रहेको बताइन् ।
शौचालय अनि यसको महत्वलाई सबैसामु उजागर गर्दै हरेक वर्ष नोभेम्बर १९ तारिखमा विश्व शौचालय दिवस मनाउने गरिन्छ । सन् २०३० सम्मको दीर्घकालीन विकास लक्ष्यमा संसारका हरेक बासिन्दालाई सरसफाईका श्रोत र सुविधाका साथ खेर जाने पानीलाई पुनः प्रयोग गर्ने स्रोत र संरचना पनि सुलभ बनाउने लक्ष्य छ ।
शौचालयको प्रयोगपछि नछुटाई गर्नुपर्ने पहिलो काम भनेको साबुन पानीले हात धुने र साबुन नभएमा खरानी पानीले धुन चिकित्सकहरुको सुझाव छ । अझै पनि संसारभरि लगभग अढाई करोड मान्छेहरूले शौचालय प्रयोग नगरेको तथ्याङ्क छ ।
यसैबीच केन्द्रको अगुवाईमा सडक दुर्घटनामा परि ज्यान गुमाएकाहरुको सम्झनामा मंगलबार साँझ नेपालगन्जको विपी चोकस्थित सडकमा मैनबत्ती प्रज्जवलन गरिएको छ ।
सडक सुरक्षा दिवसको अवसरमा नेपालगन्जका नागरिक अभियन्ताहरुको सहभागितामा मैनबत्ती प्रज्वलन कार्यक्रमले सडक दुर्घटना न्यूनीकरण, सुरक्षित सवारी साधनको प्रयोग, ट्राफिक व्यवस्थापन जस्ता कुरामा विशेष ध्यान पु¥याउन सन्देश प्रवाह गरिएकोछ ।