File Photo
नेपालगन्ज: नेपालगन्ज उपमहानगरपालिका सार्वजनिक शौचालय अपाङ्गमैत्री नभएको पाइएकोछ । नेपालगन्ज उपमहानगरपालिकाद्वारा नेपालगन्जका विभिन्न ठाउँमा यसअघि निर्माण गरिएका र निर्माणाधिन सार्वजनिक शौचालयहरु अपाङ्गमैत्री नभएको पाइएको हो ।
अपाङ्गता भएका व्यक्तिका लागि पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार सेवा निर्देशिका–२०६९ ले नेपाल सरकार, स्थानीय निकाय, अन्य सम्बन्धित निकाय, संस्था वा व्यक्तिले सर्वसाधारणलाई खुला गरिएका सार्वजनिक भवन निर्माण गर्दा वा गराउँदा अपाङ्गता भएका व्यक्तिको पहुँचयुक्त बनाउनु पर्ने स्पष्ट कानूनी व्यवस्था हुँदाहुँदै पनि उपमहानगरपालिकाले भने मापदण्ड नै पूरा नगरि धमाधम शौचालय बनाइरहेको छ ।
स्थानीय सरकार सञ्चालन ऐन, भवन निर्माण आचारसंहितालाई समेत लत्याउँदै उपहानगरपालिकाले नगरका विभिन्न ११ स्थानमा सार्वजनिक शौचालय निर्माण गरिरहेको छ । शौचालयलाई अपाङ्गमैत्री गराउनु पर्ने माग गर्दै अपाङ्ग सशक्तिकरण एंव सञ्चार केन्द्र, डेक नेपालले आईतवार सो विषयमा नेपालगन्ज उपमहानगरपालिकाको ध्यानाकर्षण गराएको छ ।
डेकका कार्यकारी निर्देशक देविदत्त आचार्य नेतृत्वको टोलीले कानून र ऐन विपरित बनिरहेका संरचनालाई अपाङ्गमैत्री बनाउन मेयर डाक्टर धवल शम्शेर राणाको ध्यानाकर्षण गराएको हो ।
त्यसक्रममा मेयर राणाले निर्माणाधिन शौचालयलाई अपाङ्गमैत्री बनाउन इन्जिनियरलाई निर्देशन दिएका छन् । जनहितका लागि सार्वजनिक शौचालय आयोजना अन्तर्गत उपमहानगरपालिकाले जयसपुर चोक, जमुनाह भन्सार, बालेगाउँ, भज्जुपुर, थुकैला चोक, हनुमान मन्दीर, बसुदेवपुर, पुरैनी, पुरैना, राँझा चोकमा शौचालय निर्माण भइरहेको हो ।
यी स्थानमा १२ करोड ४१ लाख ९४ हजारको लागतमा उपमहानगरपालिकाले गत बैशाख महिनाबाट निर्माण सुरु गरिएको छ । ३ महिनामै सक्नेगरी दिप बिल्डर प्रालिले शौचालय निर्माणको काम सुरु गरेपनि ७ महिना वितिसक्दा समेत शौचालय निर्माणको काम पूर्णरुपमा सकिएको छैन् ।