नेपालगन्ज: नेपाल टेलिकमले रारामा फोरजी सेवा सुरु गरेको छ । नेपालकै सबैन्दा ठूलो ताल तथा कर्णाली प्रदेशको प्रमुख पर्यटकीयस्थलका रुपमा रहेको रारामा नेपाल टेलिकमले फोरजी सेवा सञ्चालन गरेको हो ।
फोरजी सेवा सञ्चालनमा आएसँगै रारा आउने पर्यटक र विकट मुगुका बासिन्दाले उच्च गतिको मोबाइल इन्टरनेट सेवा प्रयोग गर्न पाउने भएका छन् ।
रारामा फोरजी सेवा सञ्चालन गर्नका लागि केही दिन अघि मात्र नेपाल टेलिकमको टोली त्यहाँ पुगेको थियो । बिहीबारदेखि मुगुको रारामा फोरजी सेवा सञ्चालनमा ल्याइएको नेपाल टेलिकमले जनाएकोछ ।
नेपाल टेलिकमका वरिष्ठ इञ्जिनीयर प्रेमबहादुर क्षेत्रीसहित चार जनाको टोली फोरजी सेवा सञ्चालनका लागि रारामा बसेको छ । नेपाल भ्रमण वर्ष–२०२० लाई लक्षित गर्दै टेलिकमले दु्रत गतिको फोरजी सेवा सञ्चालनमा ल्याएको हो ।
चाइना कम्युनिकेशन सर्भिसेस इन्टरनेशनलले जिम्मा लिएको उक्त फोरजी सेवा कर्णाली प्रदेशका सुर्खेतमा १५ टावर र दैलेखमा दुई टावर निर्माण गरी रारा तालमा समेत जडान गरिएको छ ।
टेलिकमले राराको हुटुमा फोरजीको टावर राखेर सेवा सञ्चालन गरेको हो । नेपाल टेलिकमका अनुसार एक हजार ८०० मेगाहर्जमा फोरजी सेवा सुरू गरिएको छ ।
यो सेवाले रारामा पुग्ने पर्यटकलाई सामाजिक सञ्जाल प्रयोग गर्न, आफूले खिचेका फोटो तथा भिडियो तत्काल सामाजिक सञ्जालमा राख्न सहज हुनेछ ।