खजुरा: स्वास्थ राज्य मन्त्री नवराज रावतले सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको समस्या समाधान गर्ने बताएका छन् । बाँकेको खजुरामा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल सोमबार अवलोकन गर्नेक्रममा उनले यस्तो बताएका हुन् ।
अस्पताल अवलोकन गर्दै मन्त्री रावतले अस्पतालको समस्या समाधान गर्न पहल गर्ने भन्दै जनशक्ति अभावलाई पूरा गरिने प्रतिबद्धता व्यक्त गरेका छन् ।
स्वास्थ्य राज्य मन्त्री रावतले अस्पतालको बिकासका लागी आफू र मन्त्रालयले पहिलो प्राथमिकतामा राखेको बताउँदै क्यान्सर अस्पतालको मन्त्रालयमा रोकिएको फाइल आफै खोजेर काम गर्ने बताए ।
क्यान्सर अस्पताल अवलोकनका लागि खजुरा आएका स्वास्थ्य राज्य मन्त्री रावतसंगको भेटमा अस्पताल सञ्चालनमा आएपनि दरबन्दी अभावका कारण समस्या खेप्नुपरेको खजुरा गाँउपालिकाका अध्यक्ष किस्मत कक्षपतीले गुनासो गरे ।
उनले सञ्चालनमा आइसकेको तर कर्मचारी दरबन्दी र केहि उपकरण नहुँदा अस्पताललाई पुर्णरुपमा सञ्चालन गर्न गाह्रो भएको भन्दै आवश्यक पहल गरिदिन राज्यमन्त्री रावलसंग आग्रह गरे ।
क्यान्सर अस्पताल अवलोकनका लागि खजुरा आएका स्वास्थ्य राज्यमन्त्री रावतलाई वडाअध्यक्ष, गाँउपालिका तथा अस्पतालका कर्मचारी लगायतले स्वागत समेत गरेका थिए ।