नेपालगन्ज : नेपालगन्ज भन्सार कार्यालयले जमुनहा नाकास्थित यात्रु शाखामा जडान गरेको सामान जाँच गर्ने डेढ करोडको एक्स–रे मेसिन बिग्रिएको छ ।
बिग्रेको मेशिन बनाउँने तर्फ भन्सार कार्यालय उदासिन देखिएपछि उक्त मेशिन थन्किएको छ। जडान भएको हप्ता दिनमैै एक्स–रे मेसिन बिग्रिएपछि अहिले सामान जाँचको काम ठप्प भएको छ ।
गत १ कात्तिकमा जडान भएको मेसिन काम सुरु भएको हप्ता दिन नपुग्दै बिग्रिएर थन्किएको नेपालगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत शान्तिराम निरौला बताउँछन् ।
भारतबाट आउने यात्रुको झोलामा भएका भन्सार शुल्क लाग्ने सामानको जाँच गर्न एक्स–रे मेसिन जडान गरिएको थियो । झण्डै चार वर्षअघि भन्सार विभागले सो मेसिन पठाएको थियो ।
भौतिक पूर्वाधार निर्माण नभएर मेसिन जडान गरिएका कारण जोगाउन नसकिएको उनी बताउँछन् । सडक छेउमै यात्रुु शाखा भएकाले पनि मेसिनमा धुलो पर्ने गरेको उनको भनाइ छ ।
‘सडकछेउमै राख्दा धुलोबाट मेसिनलाई जोगाउन मुस्किल परिरहेको छ,’ प्रमुख भन्सार अधिकृत निरौलाले भने । प्रमुख भन्सार अधिकृत निरौलाले मर्मतका लागि प्राविधिक मगाएको बताए । मर्मतका लागि ठूलो रकम आवश्यक पर्ने भएकाले पनि समस्या परेको उनको भनाइ छ । ‘मर्मतमा मात्र ४० लाख रूपैयाँ खर्च लाग्ने प्राविधिकले अनुमानित लागत निकालेको उनी बताउँछन् ।
प्राविधिकलाई बाहिरबाट बोलाउनुपर्ने भएकाले ढिला भएको उनले बताए । बाहिरी देशबाट मर्मत गर्ने प्राविधिक आउने भएकाले समय लागेको उनले बताए ।
‘एक त मर्मत खर्च महँगो पर्ने भएको छ । भन्सार शुल्क लाग्ने सामान जाँच गर्ने मेसिन बिग्रिएपछि भन्सार कर्मचारीले छामेर झोलाका सामान जाँच गर्दै आएका छन ।