नेपालगन्ज : बाँकेको नेपालगन्ज र यहाँका आठवटै स्थानीय तहमा अबैद्य मेडिकल माफियाको बिगबिगी बढेको छ । यसले गर्दा सेवाग्राहीले प्रभावकारी र गुणस्तरीय सेवा पाउन सकेका छैनन् ।
उपभोक्ताहरू औषधि उपचारमा समेत ठगिदै छन् । तर, यहाँका स्थानीय तह र जनस्वास्थ्य कार्यालय यसको रोकथाम तथा नियन्त्रणका बारे उदासिनै देखिन्छन् ।
बाँकेका प्राय: स्वास्थ्य संस्थामा आबश्यकताअनुसारका चिकित्सक नहुँनु, प्रार्याप्त औषधिको अभाव हुनुलगायतका समस्या झेल्दै आएका नागरिकले यतिबेला ‘झोले चिकित्सक’को ठगि समेत झेल्नु परेको छ । उपचारका लागि चाहिने प्रविधि र औषधि अभाव हुँदा गाउँमा ‘झोले चिकित्सक’को दादागिरी नै छ ।
बाँकेको दुर्गम मानिने नरैनापुर, डुडुवा, बैजनाथ, राप्तीसोनारी गाँउपालिकामा मात्रै होइन सरकारी नियमनकारी निकायको पक्ष पहुँच भएका नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका र खजुरा तथा जानकी गाउँपालिकाका ग्रामीण क्षेत्रमा समेत यस्तो झोले चिकित्सक र मेडिकल माफियाको दबदबा रहेदै आएकोछ ।
अधिकांश स्वास्थ्य संस्था ‘झोले चिकित्सक’को भरमा चलेका छन् । ‘झोले चिकित्सक’कै उपचारका कारण वर्षेनी ज्यान गुमाउनेको संख्या पनि बढेको छ ।
गाउँमा कोही बिरामी हुँदा ‘झोले चिकित्सक’ बोलाइन्छ, बिरामीको मृत्यु हुन्छ, परिवारमा केही दिन रूवावासी हुन्छ, घटनाको चर्चा विस्तारै सेलाउँदै जान्छ र ‘झोले चिकित्सक’ले उन्मुक्ति पाउँछन् ।
यहाँको नरैनापुरमा ३५ भन्दा बढी ‘झोले चिकित्सक’ छन् । यहाँका अन्य स्थानीय तहमा यो समस्या उस्तै छ । यतिसम्मकी उपमहानगरपालिकामा रहेका स्वास्थ्य संस्थामा समेत झोले र माफिया चिकित्स्कको बिगबिगी छ । तर, उपमहानगरपालिकाको स्वास्थ्य शाखा र जनस्वास्थ्य कार्यालय यस बिषयमा बेवास्ता गर्दै आएको छ, मौन छ ।
कतिपयले त मुस्किलले १० कक्षासम्म पढेका र भारतको बहराइचलगायत केही शहरका क्लिनिकमा एक/दुई वर्षमात्र प्रशिक्षण लिएर सीमावर्ती गाउँमा ठूलै डाक्टरको रूपमा आफ्नो क्लिनिक स्थापित समेत गरेका छन् ।
‘झोले चिकित्सक’ले नरैनापुरको स्वास्थ्य सेवा धान्दै आएका छन् । बाँकेको नरैनापुर गाउँपालिकामा मंसिर १६ गते ‘झोले चिकित्सक’को उपचारबाट दुई जनाको ज्यान गएको थियो ।
बाँकेका स्थानीय तहमा रहेका अवैध औषधि पसल र ‘झोले चिकित्सक’को पहिचान शुरू भएको जनस्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । यस्तो पहिचान भएमा अवैध औषधि पसलमा शिल गरेर ‘झोले चिकित्सक’लाई कारवाहीको दायरामा ल्याउँने जनस्वास्थ्य कार्यालयका स्वास्थ्य अधिकृत रामबहादुर चन्द बताउँछन् ।
कतिपय झोले चिकित्सकहरू दुई दशकदेखि अवैध उपचार गर्दै आएको नरैनापुरका स्थानीय मयाराम धोबी बताउँछन् ।