महिलाहरुको शरीर सन्तान जन्मिएको केही समयसम्म यौन सम्पर्कको लागि तयार भएको हुँदैन । सन्तान जन्मिदाको प्रसव पिडाबाट ठीक हुन केही समय लाग्छ । अब कुरा रह्यो कति दिनमा ठीक हुन्छ त महिलाहरुको शरीर ?
प्रसवको चोटबाट ठीक हुन कति समय लाग्छ भन्ने कुरा महिलाको शरीरमा निर्भर गर्छ । चिकित्सकहरुका अनुसार डलिभरी पछि महिलाको लागि केही समय आराम गर्नु अत्यावश्यक हुन्छ । यो अवधि ४ देखि ६ महिनाको हुन सक्छ । यो समयमा महिलाहरु यौन क्रियाकलापमा सहभागी नहुनु नै उपयुक्त हुने चिकित्सकहरुको सुझाव रहेको छ । डेलिभरी पछि लगत्तै यौन सम्पर्क गर्नाले फेरी गर्भ रहन सक्ने सम्भावना रहन्छ । यदि यो अवस्थामा यौन सम्पर्क भएर गर्भ रहन गएमा त्यो महिलाहरुको स्वास्थ्यको लागि निकै नै घातक हुन सक्छ । त्यसकारण पनि डेलिभरीको केही महिना महिलाहरुलाई आराम गर्न दिनुपर्छ र शारीरिक सम्बन्ध नगर्नु नै उत्तम हुन्छ ।
डेलिभरी पछि महिलाहरुले आराम गर्न नपाएको खण्डमा यसबाट कयौँ घातक स्वास्थ्य समस्या देखिन सक्छ । डेलिभरीको समयमा अधिकांश महिलाहरुको अत्याधिक रगत बग्ने गर्दछ । त्यसकारण जबसम्म रगत बग्न पूर्ण रुपमा रोकिन्न तबसम्म यौन सम्पर्क नगर्नु नै उपयुक्त हुने चिकित्सकहरुको भनाइ छ । त्यसका अलवा यस्तो अवधिमा महिलाहरुले नियमित रुपमा चिकित्सकबाट परामर्श लिनुपनि उत्तिकै जरुरी हुन्छ । डेलिभरीको समयमा हुने घाउलाई निको बनाउन टाँका लगाइएको पनि हुन सक्छ । यदि यस्तो बेलामा यौन सम्पर्क हुन गएमा टाँका लगाइएको ठाउँमा असर पर्न सक्छ ।
बच्चा जन्मिएको केही दिनमै यौन सम्पर्क गर्नाले संक्रमण हुन सक्ने सम्भावना पनि उत्तिकै हुन्छ । वास्तवमा बच्चा जन्मिएपछि महिलाहरुको पाठेघरको मुख फैलिएको हुन्छ । यस्तो अवस्थामा किटाणुहरु सजिलै पाठेघरमा पस्न सक्ने अवस्था रहन्छ । त्यसैकारणबाट पाठेघरको संक्रमणको जाखिम निकै बढि रहेको हुन्छ । यस्तो अवस्थामा यदि यौन सम्पर्क गरिएमा संक्रमणको सम्भावना अझ बढ्छ । यसकारण बच्चा जन्मिएको करिव ६ महिनासम्म यौन सम्पर्क नगर्नु नै अति उत्तम निर्णय हुने चिकित्सकहरुको सुझाव रहेको छ ।