लुम्बिनी प्रदेशमा १८.९ प्रतिशत नागरिकमा जोर्नीको समस्या

भेरी अस्पतालमा पनि विरामी बढ्दै


लुम्बिनी प्रदेशमा १८.९ प्रतिशत नागरिकमा जोर्नीको समस्या

हाडजोर्नी विरामीको उपचारमा डाक्टर प्रकाशबहादुर थापा लगायतको टिम । तस्विर: सेतोखरी

नेपालगन्ज : प्रदेशको राजधानी र नामाकरणको जिम्मेवारी पाएको बिशेष समितिले प्रस्तावित गरेको लुम्बिनी प्रदेशमा १८ दशमलव ९ प्रतिशत नागरिकमा जोर्नीको चरम समस्या देखिएको छ ।

समयको गतिसँगै मानिसको खानपान, रहनसहन, जीवनशैली, कामको प्रकृति र सोचमा निकै परिवर्तन आएसँगै जोर्नीको मसमस्यापनि उत्तिकै देखिएको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को अध्ययनले देखाएको छ ।

व्यस्तताका कारण मानिसले खाने परिकार, व्यायाम तथा आचरणमा त्यति ध्यान नदिइरहेको उक्त अध्ययनले प्रष्ट पारेको छ । फलस्वरूप मानिस विभिन्न रोगको सिकार बनिरहेका छन् । पछिल्लो समय नेपालीमा बढी देखिने स्वास्थ्य समस्यामा ढाडको हड्डी तथा कम्मर दुख्ने समस्याले प्रमुख स्थान लिइरहेको चिकित्सकहरू नै बताउँछन् ।

प्रदेश पाँच अर्थात प्रस्तावित लुम्बिनी प्रदेशमा यस्तो समस्या २० वर्षे युवाअवस्थादेखि नै देखिन थालेको छ । ढाड तथा कम्मरको दुखाइ धपेडी, भारी उचाल्दा स–साना चोट थुप्रिएर वा हड्डी खिइएर पनि हुन सक्ने चिकित्सकको भनाई छ ।

Kanti Aarogya Hospital Nepalgunj

सुरूमा कम्मर ज्यादै दुख्छ । पछि खोक्दा, हाच्छ्यूँ गर्दा वा दिसा गर्दा दुखाइ खुट्टासम्म पनि सर्न थाल्छ । समान्यतया गर्दनको पछाडि (घिच्रो) र नितम्ब (हिप) बीचको मध्यरेखामा हुने दुखाइलाई ढाड दुख्नु भनिने भेरी अस्पतालका हाडजोर्नी बिशेषज्ञ डाक्टर प्रकाशबहादुर थापा बताउँछन ।
मेरूदण्डको निर्माणमा सहभागी हड्डी र मांसपेशीलाई असर गर्ने रोग र अवस्थाले ढाड दुख्छ डाक्टर थापाले भने ‘यस्तो दुखाइ मेरूदण्डमा जहाँकहीँ पनि हुन सक्छ ।’ उनकाअनुसार भेरी असप्तालमा मात्रै मासिक औषतमा ६०/७० जना हाडजोर्नीको समस्या भएका विरामी आउने गरेका छन् ।

गत बर्षको तुलनामा चोटपटक बाट हड्डी जोर्नीको समस्या हुनेहरूको संख्या अत्याधिक बढेको डाक्टर थापा बताउँछन् । उनकाअनुसार यसरी उपचारका लागि भेरीमा आउने विरामीलाई घुँडाको दुरविनबाट गरिने अप्रेशन न्युनत्तम चार्जमा गरिने गरिएको छ । भेरीमा हाडजोर्नी सम्बन्धि सबै किसिमको उपचार हुने र कतिपय उपचारमा एक लाखसमको उपचार फ्रि हुने पनि उनी बताउँछन् । डाक्टर थापाले सरकारी स्तरमा डेक्सा स्क्यान मेशिन भेरी अस्पतालमा मात्र भएकोले विरामीलाई सहजरुपमा उपचार गर्न सकिएको बताएका छन् ।

प्रदेशगत रूपमा हेर्दा कर्णाली प्रदेशवासीमा सबैभन्दा बढी जोर्नीको समस्या छ । कर्णालीका २० दशमलव ९ प्रतिशत जनतामा जोर्नी वा जोर्नी वरिपरि दुखाइ, अररोपन हुने वा सुन्निने समस्या रहेको उक्त अध्ययनले देखाएको छ ।

परिषद्ले पछिल्लो एक वर्षको समस्यालाई लिएर जोर्नी तथा ढाडको दुखाइका विषयमा हालसालै उक्त सर्वेक्षण गरेको छ । सर्वेक्षणमा दुर्घटनाबाहेक अन्य कारणले एक महिनाभन्दा बढी समयसम्म जोर्नी वा जोर्नीवरिपरि दुखाइ, अररोपन हुने, सुन्निने समस्या १७ प्रतिशतमा भएको छ । यसमध्ये पुरूषमा १३ दशलमव ६ प्रतिशत र महिलामा २० दशमलव १ प्रतिशतमा यस्तो समस्या रहेको छ ।

भेरीले रकम भुक्तानी पाउने 

सरकारको स्वास्थ्य मन्त्रालयले नेपालगन्जको भेरी अस्पताललाई असोजदेखि कात्तिकसम्म दुई महिनाको रकम भुक्तानी गर्ने भएको छ । विपन्न नागरिक औषधोपचार कोषअन्तर्गत तोकिएका जटिल तथा असाध्य रोग लागेका नागरिकलाई निःशुल्क उपचार सेवा दिएबापत सरकारले दिनुपर्ने दुई महिनाको भुक्तानी रकम अस्पताललाई भुक्तानी गर्ने भएको हो ।

विपन्न नागरिक औषधोपचार कोष निर्देशका २०७५ बमोजिम अस्पतालबाट शोधभर्ना माग रकम नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाअन्तर्गत सामाजिक स्वास्थ्य सुरक्षा शाखाबाट विश्लेषण एवम् रूजु गरेका आधारमा ‘विपन्न नागरिक औषधोपचार व्यवस्थापन समिति’को बैठकले भेरी अस्पताल लगायतका ५६ वटा अस्पताललाई २२ करोड भुक्तानी गर्ने निर्णय गरेको हो ।

ती अस्पतालले २२ करोड ८२ लाख ५३ हजार ४७ रूपैयाँ भुक्तानी पाउने भएका छन् । विपन्न नागरिक उपचार कोषअन्तर्गत तोकिएका असाध्य रोगमध्ये सबैभन्दा बढी सुविधा मिर्गौला पीडितले पाउँदै आएका छन् ।

मिर्गौला प्रत्यारोपण तथा प्रत्यारोपणपूर्वको परीक्षणका लागि एक लाख पचास हजारका दरले २५ जनालाई ३६ लाख ४८ हजार ८ सय रूपैयाँ दिने निर्णय भएको छ ।