बर्थिङ सेन्टर र प्रयोगशाला सञ्चालनमा


बर्थिङ सेन्टर र प्रयोगशाला सञ्चालनमा

बनेपा: पनौती नगरपालिकाले वडा नं ७ मा रहेको पनौती स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर र प्रयोगशाला सञ्चालनमा ल्याएको छ । पनौतीको मुख्य बजारमा बढ्दो जनसङ्ख्याको चापलाई ध्यानमा राखेर बर्थिङ सेन्टर र ल्याब सञ्चालनमा ल्याइएको हो ।

प्रमुख नगर प्रमुख भीम न्यौपानेले पनौतीमा अस्पातल निर्माणका लागि पुनःनिर्माण प्राधिकरणबाट रु ६५ लाख रकम आएको जानकारी दिँदै उक्त रकमले छिट्टै भवन निर्माण हुने बताए ।

जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा नरेन्द्रकुमार झाले बार्थिङ सेन्टर र ल्याबबाट दिने सबै सेवाहरु निरन्तर दिन आग्रह गर्दै केन्द्र सञ्चालनको क्रममा हुने अवरोध तथा अप्ठ्यारो कार्यमा सबैको साथ/सहयोग निरन्तर प्रदान गर्नका लागि आग्रह गरे ।

बर्थिङ सेन्टरमा पहिलोपटक बच्चा जन्माउने महिलालाई वडा सदस्य पुरुषोत्तम कर्माचार्यले रु पाँच हजार ५सय ५५ नगद दिने घोषणा गरेका छन् । बर्थिङ सेन्टर र प्रयोगशालाका लागि आवश्यक जनशक्ति नगरपालिकाले उपलब्ध गराउने वरिष्ठ प्रशासकीय अधिकृत इन्द्रप्रसाद अधिकारीले बताए।

Kanti Aarogya Hospital Nepalgunj

पूर्वाधार भएको र जनघनत्व बढी भएकाले सो ठाउँमा बर्थिङ सेन्टरको स्थापनासँगै ल्याबमा जोड दिएको उनले बताए । बर्थिङ सेन्टर र प्रयोगशालामा एएनसी प्याकेजअन्तर्गत विभिन्न १८ प्रकारका खकार, रगत र पिसाब परीक्षण गरिने ल्याब प्रमुख दिपेश घिमिरेले जानकारी दिए । सो केन्द्रमा हेल्थ असिस्टेण्ट, अहेव, अनमी, ल्याब असिष्टेण्ट गरी नौ स्वास्थ्यकर्मी रहेका जनाइएको छ । -रासस