नेपालगन्ज : बाँकेको नेपालगन्ज स्थित भेरी अस्पतालमा एचआइभी जाँच गर्ने ‘भाइरल लोड’ मेशिन अभाव छ । उक्त मेशिन नहुँदा एचआइभी परीक्षणमा समस्या देखिएको छ ।
अस्पतालमा एचआइभी भए/नभएको जाँच गर्न आउने दर्जनौं विरामीलाई मेशिनकै अभावमा जाँच गर्न धनगढी र काठमाडौं पठाउनुपर्ने बाध्यता
रहेको छ । यद्यपी अस्पताल प्रशासन सम्बन्धीत यूनिटका प्रमुख डाक्टरले समेत यसको व्यवसाथपनका लागि कुनैपनि चासो देखाएका छैनन् ।
भेरी अस्पतालबाट रगतको नमुना लिएर धनगढी र काठमाडौं पठाउँदा धेरै समय लाग्ने र विरामी तथा विरामीका आफन्तको खर्च पनि बढ्ने गरेको छ ।
धनगढीमा धेरै भीडभाड हुने भएकाले प्रायजसो विरामी नमुना रगत लिएर काठमाडौं जाने गरेका छन् । नेपालगन्जबाट पठाएको स्याम्पलको रिपोर्ट आउन सातदेखि १५ दिन लाग्ने गरेको छ । अस्पतालमा मेशिन नहुँदा बिरामीलाई समस्या भएको अस्पतालका प्रमुख रूपानन्द अधिकारी बताउँछन् ।
अस्पतालको रेकर्डअनुसार बाँकेमा पाँच सय ३५ पुरूष, चार सय १४ महिला र १३ तेस्रोलिंगी गरी एक हजार एक सय एक एचआइभी संक्रमित छन् । तीमध्ये दुई सय ४२ महिला र दुई सय १९ पुरूष गरी चार सय ६१ जनाले भेरी अस्पतालबाट एआरटी सेवा लिइरहेका छन् ।
सन् २०१९ मा चार सय ३३ जनाको एचआइभी जाँच गरिएको थियो । बाँकेमा ३० जना लागुऔषध प्रयोगकर्तामा पनि एचआइभी संक्रमण देखिएको छ । फेला परेका संक्रमितमध्ये हालसम्म एक सय ४५ जनाको एड्सका कारण मृत्यु भएको जनस्वास्थ्य कार्यालयको रेकर्डमा छ ।