नेपालगन्ज : यस वर्ष पनि बाँकेमा १० औं पटक हात्तीपाइले रोग निवारण अभियान संचालन गरिने भएको छ । अभियान सफल पार्न सोमबार नेपालगन्जमा हात्तीपाइले रोग निवारण आम औषधी सेवन कार्यक्रमको जिल्लास्तरिय योजना तर्जुमा गोष्ठी गरिएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय बाँकेद्वारा आईतबार नेपालगन्जमा आयोजित गोष्ठीमा हात्तीपाइले रोग निवारण अभियान, तथा कार्यक्रमका बारेमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका डाक्टर प्रकाशप्रसाद शाहले सहजिकरण गरे ।
जिल्ला समन्वय समिति बाँकेका संयोजक अजयकुमार श्रीवास्तवको अध्यक्षतामा भएको कार्यक्रममा कोहलपुर नगरपालिका मेयर लुटबहादुर रावत, राप्तीसोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारु, बैजनाथ गाउँपालिका अध्यक्ष मानबहादुर रुचाल, खजुरा गाउँपालिका उपाध्यक्ष एकमाया विक, डुडुवा गाउँपालिका उपाध्यक्ष शाहिदा बानो लगायतले आफ्ना विचार राखेका थिए ।
कार्यक्रममा स्वास्थ्य कार्यालय बाँकेका निमित्त प्रमुख अंगदबहादुर शाहीले बाँके जिल्लामा हात्तीपाइले रोग निवारणको अवस्थाबारे जानकारी गराएका थिए ।
कार्यक्रममा बाँकेका ८ वटै गाउँपालिकाका जनप्रतिनिधी, स्वास्थ्य शाखा प्रमुख लगायतको सहभागिता रहेको थियो ।
बाँके जिल्लाामा १० प्रतिशत हात्तीपाइले रोगका विरामी रहेका छन् । शुरुमा अभियान सञ्चालन गर्ने क्रममा २० प्रतिशत रोगी रहेकोमा अहिले आएर १० प्रतिशतमा झरेको स्वास्थ्य कार्यलय बाँकेका फोकल पर्सन दुर्गा गौतमले जानकारी दिइन् । उनका अनुसार बाँके जिल्लालाई शून्य प्रतिशतमा झार्ने लक्ष्यका साथ औषधी सेवन अभियान सञ्चालन गरिदैछ ।
बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर ५ र ६ रझेनामा हात्तीपाइले रोगका विरामीको संख्या बढी रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
यस वर्ष बाँकेमा माघ २५ गतेदेखि हात्तीपाइले रोग निवारण आम औषधी खुवाइने कार्यक्रम रहेको छ ।