१ सय ३० करोड जनता हिन्दू: भागवत


१ सय ३० करोड जनता हिन्दू: भागवत

नेपालगन्ज: राष्ट्रिय स्वयंसेवक सङ्घले भारतका जनताको संस्कृति र धर्म जे भए पनि देशका १ सय ३० करोड जनतालाई हिन्दू मान्छ । आरएसएस प्रमुख मोहन भागवतले बुधबार तेलङ्गानामा आयोजित तीन दिवसीय विजय सङ्कल्प शिविरमा यो बयान दिएका हुन् ।

‘जो राष्ट्रवादी छन्, जो भारतीय संस्कृतिलाई सम्मान गर्छन्, उनीहरु सबै हिन्दू हुन्’ उनको भनाइ छ । उनले सबै समाज आफ्नो भएको बताउँदै सङ्घले एकजुट समाज निर्माण गर्न चाहेको औल्याए ।

शिविरलाई सम्बोधन गर्दै उनले भने, ‘जब सङ्घले हिन्दू भन्छ, त्यसमा सबै सामेल हुन्छन्, जो भारतलाई उनको मातृभूमि मान्छन् । जो मानिस देशको पानी, जमिन, पशु र जङ्गलसँग माया गर्छन्, र जो देशको महान् संस्कृति र परम्परालाई जिउँछन्, उनीहरु सबै हिन्दू हुन् ।’

‘भारत माताका सबै सन्तान, चाहे उनीहरुले कुनै पनि भाषा बोलुन्, जुनसुकै क्षेत्रका हुन्, कुनै पनि स्वरुपमा पूजा गर्छन्, या पूजामा विश्वास गर्दैनन्, ती सवै हिन्दू हुन् । यस सम्बन्धमा सङ्घका लागि सबै १ सय ३० करोड जनता हिन्दू समाज हुन् ।’ उनले भने ।

सङ्घका प्रमुखले आरएसएसले सबैलाई स्वीकार गर्दै उनीहरुको बारेमा राम्रो सोच्ने र उनीहरुको जीवनस्थरलाई उच्च स्थानमा लैजान चाहेको जिकिर गरे ।

‘एक प्रचलित वाक्य छ – विविधतामा एकता । हाम्रो देश यसमा एक कदम अगाडि छ । यहाँ केवल विविधतामा एकता छैन, एकतामा पनि विविधता छ । हामी विविधतामा एकता खोजिरहेका छैनौँ । हामी त्यो एकता खोजिरहेका छौँ जसमा विवधता निस्कन्छ,’ उनले थपे–‘भारतका जनताको संस्कृति र धर्म जे भए पनि देशका १ सय ३० करोड जनता हिन्दू हुन् ।’