१०४ वर्षकी बृद्धाको सफल शल्यक्रिया


१०४ वर्षकी बृद्धाको सफल शल्यक्रिया

कम्मरको हड्डी भाँचिएकी १०४ वर्षीया बृद्धा महिलाको शल्यक्रिया गर्दै डाक्टर प्रकाश थापाको टिम ।

नेपालगन्ज : हिजोआज वयस्कहरूमा ‘पोस्चरल’ वा ’लो ब्याक पेन’ अर्थात् ढाड र कम्मरको हड्डी दुख्ने समस्या बढ्दै गएको छ । नेपालमा वार्षिक करीब पाँच हजार व्यक्तिलाई यस्तो समस्या हुने गरेको अनुमान । तर, उपचारका लागि अस्पताल पुग्नेको संख्या लगभग एक हजार मात्र छ । यो अवस्थाले समस्याको गम्भीरता आकलन गराएको छ ।

भेरी अस्पतालमा पनि ढाड र कम्मरको हड्डी भाँचिएका विरामीको संख्या बढ्दै जान थालेको छ । अस्पतालले बिहीबार बर्दियाकी एक सय चार वर्षिय महिला साउनी धितालको कम्मरको हड्डीको सफल शल्यक्रिया गरेको छ ।

एक हप्ताअघि हिड्डा हिड्डै गर्दा एक्कासी कम्मरको हड्डी भाँचिएर उपचारका लागि भेरी अस्पताल आएकी धितालको बिहीबार अस्पतालका बरिष्ठ कन्सल्टेन्ट अर्थोपेडिक सर्जन डाक्टर प्रकाशबहादुर थापा र एनेस्थेटिक डाक्टर पारस पाण्डेको टीमले सफल शल्यक्रिया गरेको हो ।

अस्पतालमा धेरै यस्ता हड्डी भाँचिएका धेरै विरामीको शल्यक्रिया भएपनि १ सय ४ वर्षकी बृद्धाको शल्यक्रिया भने सम्भवत् पहिलो पटक भएको डाक्टर प्रकाश बहादुर थापा बताउँछन् । यति उमेर समुहका बृद्धाको सफल शल्यक्रिया भएकोमा खुशी व्यक्त गर्दै डाक्टर थापाले शल्यक्रियामा सहभागी चिकित्सक र मेडिकल टीमलाई धन्यवाद समेत दिएका छन् ।

Kanti Aarogya Hospital Nepalgunj

ढाड तथा कम्मरको दुखाइ धपेडी, भारी उचाल्दा स–साना चोट थुप्रिएर वा हड्डी खिइएर पनि हुन सक्ने चिकित्सकको बिशेषज्ञ डाक्टर थापा बताउँछन । भेरी अस्पतालमा मात्रै मासिक औषतमा ६०/७० जना हाडजोर्नीको समस्या भएका विरामी आउने गरेका छन् ।

हाडजोर्नी सम्बन्धी सबै किसिमको उपचार हुने र कतिपय उपचारमा एक लाखसम्मको उपचार फ्रि हुने पनि उनी बताउँछन् । डाक्टर थापाले सरकारी स्तरमा डेक्सा स्क्यान मेशिन भेरी अस्पतालमा मात्र भएकोले विरामीलाई सहज रूपमा उपचार गर्न सकिएको बताएका छन् ।