भेरीमा डायलासिसका दुई वर्ष: मेशिन अझै बनेनन्

१ हजार ६ सय ५५ लाई सेवा प्रदान


भेरीमा डायलासिसका दुई वर्ष: मेशिन अझै बनेनन्

File Photo

नेपालगन्ज : सरकारले दिएको राहतले धेरै हदसम्म सुविधा दिएपनि अझै अत्यधिक गरिब तथा विपन्नहरू पैसा र डायलासिसको पहुँच अभावका कारण मृत्युवरण गर्न बाध्य छन् ।

कुनैपनि संकेत बिना नै ठूलो क्षति गराईसक्ने मृगौला रोगको चंगुलमा पर्नेहरूको संख्या पछिल्लो समय बढ्दै गएको छ । झण्डै ९० प्रतिशतसम्म मृगौलाको नोक्सानी हुँदासम्म पनि केही संकेत देख्न नसकिने भएकोले यसलाई ‘साइलेन्ट किलर’ भनिन्छ । मृगौला रोगीहरूको उपचारको लागि मात्रै सरकारले हरेक वर्ष करोडौं रूपैयाँ खर्च गर्ने गरेको छ ।

मृगौला रोगीबाट ग्रसित व्यक्तिका लागि नेपालगन्जस्थित तत्कालिन भेरी अञ्चल अस्पतालमा पहिलो पटक २०७४ पुस १२ गते देखि निःशुल्क डायलासिस सेवाको थालनी भएको थियो ।

स्वास्थ्य मन्त्रालयले नयाँ चारवटा मेसिन र चिकित्सकका लागि तालिमको व्यवस्था गरेपछि भेरीमा उक्त सेवा विस्तार गरिएको हो । शनिबार यहाँ होमोडायलासिस सेवा थालनी भएको दुई वर्ष पुगेको छ ।

Kanti Aarogya Hospital Nepalgunj

यसअघि करिब एक दशक पहिला ल्याइएका मेसिन विशेषज्ञ चिकित्सक अभावमा काठमाडौं फिर्ता पठाइएको थियो । दुई बर्षअघि नयाँ मेसिन र तालिम प्राप्त भएपछि भेरी उक्त सेवा थालनी गरेको डाक्टर पारस श्रेष्ठ बताउँछन् । अस्पतालका तत्कालिन मेडिकल सुपरिटेन्डेन्ट डाक्टर वीरेन्द्रबहादुर चन्दको सक्रियता र प्रयासले उक्त सेवाको थालनी भएको थियो । सेवाथालनीसँगै भेरीमा पहिलो पटक शुभम् गुप्ताको डायलासिस भएको अस्पतालको रेकर्डमा उल्लेख छ ।

तत्कालिन अवस्थामा अस्पतालमा कार्यरत मेडिकल अधिकृत डाक्टर पारस श्रेष्ठले भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रबाट दुई महिनाको तालिम लिएर आएका थिए । उनीसहित अस्पतालमा कार्यरत तीन नर्सहरूलाई तीन महिनाको र प्राविधिकलाई दुई महिनाको तालिम दिइएको थियो ।

अस्पतालका अनुसार त्यतिबेला चार मेसिनमध्ये तीनवटा चालु अवस्थामा राखिका थिए । एउटा मेसिन आपतकालीन अवस्थामा प्रयोग गरिने भनिएको थियो । मेसु चन्दको पहलमा शुरु भएको उक्त सेवा त्यतिबेला बिहान ९ देखि दिउँसो ४ बजेसम्म शुचारू हुँदै आएको डायलासिस युनिटमा कार्यरत स्वास्थ्यकर्मी बताउँछन् ।

मृगौलाका बिरामीलाई सातामा दुईदेखि तीन पटकसम्म डायलासिस सेवा दिनुपर्ने हुन्छ । तर, निःशुल्क नहुँदा बिरामी लामो समयदेखि मर्कामा पर्दै आएका थिए ।

तर, भेरीमा उक्त सेवा शुरू भएपछि अहिले पनि विपन्न र दुर्गम क्षेत्रका बिरामीले लाभ पाइरहेका छन् । अस्पतालको सम्पर्कमा आएका मृगौलाका बिरामीको तथ्यांक संकलन गरी पालो तोकेर उपचारको व्यवस्था मिलाइएको डाक्टर श्रेष्ठ बताउँछन् ।

तत्कालिन मेसु वीरेन्द्रबहादुर चन्दको पहलमा भेरी अस्पतालमा यो सेवा शुरू भएदेखि अहिलेसम्म एक हजार ६ सय ५५ जनाले अस्पतालबाट यो वा त्यो रूपमा सेवा लिएका छन् । आकस्मिक सेवाअन्तर्गत ९४ जनाले सेवा लिएका छन् । अहिलेपनि नियमित रूपमा हप्तामा १३ जना विरामीले डायलासिस गरिरहेका छन् । पाँच जनाले डायलासिसको पालो पर्खिरहेका छन् । यसले पनि यहाँ उपचारका लागि आउने विरामी र उनका आफन्तले तत्कालिन मेसु चन्दलाई भगवान मान्दै आएका छन् ।

भेरीमा रहेका चार वटामध्ये दुईवटा मेशिन बिग्रेका छन् । ती मेशिन बिग्रेको करीब आठ महिना भइसक्दा पनि उक्त मेशिन बनाउनतर्फ अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर रूपानन्द अधिकारी मौन रहेको अस्पताल स्रोतकै भनाइ छ ।

तिहारअघि नै मेशिन मर्मतका लागि प्राविधिक आउने यसअघि मेसु अधिकारीले बताएका थिए । तर, अहिले पनि यी मेशिन मर्मत हुन सकेका छैनन् । मेशिन बिग्रेको लामो समय हुँदा अस्पताल प्रशासन बेखबर रहेको स्वास्थ्यकर्मी बताउँछन् । एक स्वास्थ्यकर्मीले भने,‘बिरामीको चाप बढेको बढ्यै छ, मेशिन बिग्रेका छन् । चलिरहेका दुईमध्ये एउटाले कहिलेकाहीँ काम गर्न छाडेको छ । मेशिन मर्मत र सुधारका लागि अस्पताल प्रशासन र व्यवस्थापन मौन छ ।’

साधन स्रोतको अभाव रहेको डायलासिस युनिटमा भएका मेशिन समेत प्रयोगका लागि मर्मत नहुँदा दर्जनौ बिरामीले अस्पतालबाट सहज सेवा पाउन सकेका छैनन् । मिर्गौला बिरामीले डायलासिस युनिटमा भएका सबै मेशिन प्रयोगमा ल्याउनुपर्ने, बिग्रेका मेशिन तत्काल मर्मत गर्नुपर्ने, आवश्यकताअनुसारका चिकित्सक दरबन्दी र जनशक्तिका लागि अस्पताल व्यवस्थापन र प्रशासनले पहल गर्नुपर्ने बताउँदै आएका छन् ।

ढोकाबाटै डाक्टरको ‘राउण्ड’

भेरी अस्पतालमा रहेको हेमोडायलासिस युनिटमा डाक्टरहरूको दर्शन पाउनै मुश्किल हुने गरेको छ । उक्त युनिट मेडिकल विभागअन्तर्गत राखिएपछि अस्पतालले मृगौला विरामीको अवस्था बुझन केही डाक्टरलाई राउण्डमा पठाउँने व्यवस्था गरेको छ । तर, उक्त युनिटमा राउण्ड चेकजाँचका लागि आउने डाक्टरहरूले ढोकाबाटै राउण्ड चेकजाँच गर्ने र फर्किने गरेका छन् ।

विरामी उपचार कक्षमा पीडादायि अवस्थामा छ्टपटाईरहेका हुन्छन् राउण्डमा आउने डाक्टर ढोकामै उभिएर यहाँ कार्यरत स्वास्थ्यकर्मीलाई केछ ? कसो छ ? सबै ठिकछ नि ? भन्दै त्यहिबाट बाहिरीन्छन् एक विरामीले भने ‘राउण्डमा आउने डाक्टरले विरामीको अवस्था विरामीसँग पो सोध्ने होला त ?’

जानकारहरूकाअनुसार राउण्ड चेकजाँच भनेको डाक्टर विरामीकै छेउमै पुगेर उसको अवस्थाका बारे बुझनु र सामान्यत् सल्लाह सुझाव दिनु र आबश्यक परे आकस्मिक सधन उपचार गर्नु हो । तर, भेरीको डायलासिस युनिटमा डाक्टर विरामीको छेउमा जानु त परै जओस् ढोकाबाटै भित्र नपस्ने गरेको विरामी बताउँछन् ।

अहिले उक्त युनिट मेडिकल विभागमा राखिएपछि डाक्टर राजन पाण्डे, रजनी केसी लगायतले ढोकाबाटै राउण्डचेकजाँच गर्दै आएको विरामीहरू बताउँछन् । यद्दपी यसअघि डाक्टर पारस श्रेष्ठ कहिलेकाही आएपनि विरामीकै छेउमा पुगेर अवस्था बुझने र उपचार गर्ने गर्दै आएका थिए । अहिले उनी देश बाहिर रहेका छन् ।यसले मृगौला विरार्मीले चिकित्सकबाट राउण्डको समयमा पाउनुपर्ने सल्लाह सुझाव, उपचार र परामर्श पाउन सकेका छैनन् । दैनिक नयाँ बिरामी डायलासिसका लागि सम्पर्कमा आउने गरेका छन् ।

अस्पतालका मेसु अधिकारीले बिग्रेका मेशिन मर्मतका लागि सम्बन्धित निकायसँग छलफल भइरहेको बताउँदै आएका छन् । तर, छलफल भइरहेको भन्दै मेसु अधिकारी आफनो जिम्मेवारीबाट पन्छिन थालेको आधा बर्षबढी बितिसकेको अस्पतालका कर्मचारीको गुनासो छ ।