निरिह खानेपानी, नागरिक शुद्धपानीबाट बञ्चित


निरिह खानेपानी, नागरिक शुद्धपानीबाट बञ्चित

नेपालगन्ज : बाँकेको नेपालगन्ज उपमहानगरपालिका महानगरका लागि ताँतिरहेका यहाँको खानेपानी व्यवस्थापनमा सुधार आउन सकेको देखिदैन् ।

नगरबाट नेपालगन्ज उपमहानगर भइसक्यो । अब यसबाट पनि महानगरको तयारीमा लागिरहेको छ । तर, यहाँको खानेपानी संस्थान जहाँको त्यहिँ छ । खानेपानीका पाइपलाईन दशक अघि जहाँसम्म थिए, अहिले पनि त्यति नै छन् ।

यहाँ हरेक बर्ष हरेक कुरामा विकास हुँदैछ । सुधार हुँदैछ । तर, सत्प्रतिशत नागरिकका घर–घरमा शुद्ध पिउने पानीका धारा अझै विस्तार र जडान हुन सकेको देखिदैन् ।

उपमहानगरपालिका नागरिककोे स्वास्थ्यप्रति गम्भीर देखिदैन । कतिपय नागरिकले खानेपानी संस्थानको शुद्ध पिउने पानी पिउन पाएका छैनन् । राष्ट्रिय जनगणना २०६८ अनुसार उप–महानगरपालिकाको कुल जनसंख्या १ लाख ३८ हजार ९ सय ५१ रहेको छ । तर, अहिलेको बस्ती विस्तारलाई निहाल्दा उपमहानगरपालिकामा करिब पाँच लाखको हाराहारीमा पुगिसकेको अनुमान गर्न सकिन्छ ।

Kanti Aarogya Hospital Nepalgunj

खानेपानी संस्थानमा रहेको कागजी तथ्यांक अनुसार, पाँच हजार उपभोक्ताको घरमा खानेपानी संस्थानको पानी पुगेको छ । तर, यसमध्ये पनि दशक अघि जडान गरिएका धारा बिग्रिएर, लिकेज भएर, बील भुक्तानी नगरेर बन्द भइसकेका छन् ।

उपमहानगरपालिका विभिन्न वडामा बढेको जनघनत्व अनुसार खानेपानी संस्थानले आफ्नो सेवा विस्तार नगर्दा उपभोक्ता दुर्षित एवम् महंगो मूल्य तिरेर पानी पिउन बाध्य छन् । खानेपानी संस्थानले शुद्ध पिउने पानी पु¥याउन नसक्दा पैसा हुनेले महँगा फिल्टर मेशिन, जार तथा बोतलको पानी उपभोग गर्दै आएका छन् ।

तर, यहाँ धेरैजसोले ह्याण्ड पम्प र कुवाको पानी पिउन बाध्यछन् । खानेपानी संस्थानले धारा जडान नगरीदिदाँ अहिलेसम्म आफ्नै हेण्डपम्पको पानीलाई शुद्धिकरण गरेर पिउने गरेको कारकाँदोकी स्मृति डिसी बताउँछिन् ।

खानेपानी संस्थानले कहिलेसम्म पानी वितरण गर्ने हो, अत्तोपत्तो छैन । उनले भनिन् ‘संस्थानले सेवा विस्तारका लागि भन्दै कारकाँदोस्थित भगवती टोलमा एउटा ओभरहेड ट्यांकी निर्माण गरेको छ । तर, यहाँको पानी कहिले घरघरमा पुग्छ थाहा छैन् ।’

नेपालगन्जका धेरै वडामा नयाँ बस्ती विस्तार भएपनि धेरै जसो ठाउँमा खानेपानी संस्थानको सेवा पुग्न सकेको छैन । तेजनगर, बसपार्क, सुर्जीगाउँ, जिल्ला प्रहरी कार्यालयको दक्षिण क्षेत्र, कोरियनपुर, भृकुटीनगर, बाँकेगाउँ, गोसाईगाउँ, आर्दशनगर, बेलासपुर, फुलटेक्रा, रामनगर, लग्दहवा, भुजईगाउँ लगायत स्थानमा जनघनत्व ह्वात्तै बढेको छ । तर, खानेपानी संस्थानले पानी पु¥याएको छैन ।

सरकारले एक घर, एक धाराको नीति अगाडी सारेपनि नेपालगन्जबासी दुषित पानी पिउन बाध्य छन् । भृकुटीनगरका रमेश अधिकारीले खानेपानी संस्थानले पानी वितरण गर्न नसकेको गुनासो गरेका छन् । खानेपानी संस्थानले अहिलेसम्म चार दशक पुरानो पानी ट्यांकीमार्फत नेपालगन्जमा पानी वितरण गर्दै आएको छ ।

वडा नम्बर दुईमा संस्थानको साढे चार लाख लिटर क्षमताको एउटा ओभरहेड ट्ंयाकी रहेको संस्थान बताउँछ । उक्त ट्यांकीमार्फत पिउने पानी उपभोक्तालाई वितरण गर्दै आएको संस्थान शाखा कार्यालयका सूचना अधिकारी बुद्धिप्रकाश केसी बताउँछन् ।

नगरका विभिन्न तीन स्थानमा गाडेको डीप ट्युबेलबाट दैनिक करिव ३० लाख लिटर पानी तानेर झण्डै पाँच हजार उपभोक्तालाई पानी वितरण गरिरहेको छ । केहीवर्ष अघि संस्थानकै पानीमा ‘कोलिफम’ जीवाणु फेला परेको थियो । संस्थानले पानी शुद्धिकरण गर्न विलेचिङ पाउडर हाल्ने गरेको खुलेको छ ।