औषधी पसलहरुमा अनुगमन


औषधी पसलहरुमा अनुगमन

नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिका अन्तर्गत् गठित बजार अनुगमन टोलीले बिहीबार नेपालगन्जका औषधी पसलहरुमा अनुगमन
गरेको छ । जिल्लाका सरोकारवाला निकाय सम्मिलित उपभोक्ता हकहित सरंक्षण समिति अन्तर्गतको बजार अनुगमन टोलीले नेपालगन्ज मेडिकल कलेज वरपरका तीन वटा औषधी पसलमा अनुगमन गरेको हो ।


रामलिला मेडिकल हल, सिटी फार्मेसी र सिद्धिविनायक फर्मास्युटिकल्स प्रालि फर्मा डिभिजनमा अनुगमन गरिएको हो । औषधी व्यवस्था विभाग शाखा कार्यालय नेपालगन्जका प्रमुख निनु श्रेष्ठका अनुसार रामलिला मेडिकलमा अभिलेख राख्ने तरिका नियम अनुसार नमिलेकाले त्यसलाई शुक्रबारसम्ममा मिलाएर पेश गर्न निर्देशन दिइएको छ ।

Kanti Aarogya Hospital Nepalgunj


त्यस्तै सिटी फार्मेसीमा सञ्चालक नभेटिएको र कमर्श पढेका व्यक्ति मेडिकलमा बसेकाले मेडिकल सञ्चालक स्वयम् औषधी व्यवस्था विभागको नेपालगन्ज कार्यालयमा उपस्थित नहुँदा सम्मका लागि मेडिकल बन्द गराइएको श्रेष्ठले बताईन् । सिद्धिविनायक औषधीको थोक विक्रेता भएकाले २ वटा औषधी जाँचका लागि नमुनाको रुपमा लिइएको र त्यसलाई औषधी व्यवस्था विभाग केन्द्रिय कार्यालयमा पठाइनेछ ।

टोलीमा उपमहानगरपालिकाका वरिष्ठ कार्यक्रम अधिकृत शरदकुमार पौडेल, जिल्ला प्रशासन कार्यालयका नायब सुब्बा लक्ष्मी प्रसाद शर्मा, औषधी व्यवस्था विभाग शाखा कार्यालय नेपालगन्जका प्रमुख श्रेष्ठ, स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत रामबहादुर चन्द र जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी सहायक निरीक्षक गणेश विष्ट थिए ।