पूर्वमन्त्री राईको एक करोड उदघोषमै सिमित
उचित आहारा र उपचारको अभावमा मरणासन्न कान्जि हाउसका पशुचौपाया । तस्विरः रवि कनोजिया/सेतोखरी
पुरैना(बाँके) : बाँकेको नेपालगन्जस्थित पुरैनामा रहेको काञ्जीहाउसमा दर्जनबढी गाईगोरू विरामी परेका छन् । वरिपरि लगाइएको पर्खालभित्र राखिएका ५३ वटा पशु चौपायामध्ये एक दर्जनबढी गाईगोरू विरामी अवस्थामा छन् । चिसो मौसम बढेसँगै उचित आहारा र औषधी उपचारको अभावमा यहाँका गाईगोरू विविध रोगको संक्रमणबाट ग्रसित छन् ।
काञ्जिहाउसमा बिहीबार मात्रै करिब एक दर्जन गाईगोरू विरामी भएको काञ्जि हाउसका इन्चार्ज राकेश भारती बताउँछन् । जसमा सातवटा गाईगोरू मरणासन्न अवस्थामा छन् ।

काञ्जि हाउसमा रहेका गाईगोरू यसरी विरामी पर्दा समेत सम्बन्धित निकाय नेपालगन्ज उपमहानगरपालिका, पशु सेवा कार्यालय ती पशु चौपायाको उचित उपचार तथा आहाराको व्यवस्थापनमा उदासिन देखिएका छन् । गाईगोरू र एउटा घोडाका लागि उचित आहाराको अभाव छ, काञ्जिहाउसका इन्चार्ज भारतीले भने ‘भुस र थोरै घाँसका भरमा राखिएको छ । यहाँ सबै चौपायाका लागि आवश्यकताअनुसारको पानी समेत छैन् ।’
विगतमा काञ्जि हाउसमा रहेका गाईगोरूलाई आहारा दिनका लागि नेपालगन्ज ग्यालरी लगायतका विभिन्न अभियान्ताले घाँस, पानी, भुस लगायतका आहाराको व्यवस्थापन गरेपनि अहिले ती अभियान्ता समेत यहाँका पशुचौपायाको उचित व्यवस्थापन र आहारका लागि उदासिन देखिएका छन् ।
एक ताका आफू र आफ्नो संस्थालाई सामाजिक सञ्जाल मार्फत चर्चामा ल्याउन अभियान्ता बनेका नेपालगन्जका सरकारी तथा गैरसरकारी संस्था र सामाजिक सञ्जालले लोकप्रियता कमाएसँगै उक्त अभियान नै बन्द गरेको इन्चार्ज भारती बताउँछन् । उनकाअनुसार अहिले काञ्जिहाउसका गाईगोरूको अवस्था बुझ्न बेमौसमी अभियान्ता मात्रै नभई सरकारी निकायका जिम्मेवार व्यक्तिहरू समेत आउन छाडेका छन् ।
नेपालगन्ज उपमहानगरपालिकाका मेयर डाक्टर धवलशम्सेर राणाको सक्रियतामा काञ्जिहाउसमा उचित पर्खालका साथै आवश्यक भौतिक संरचना निर्माण गरिएको छ । तर, अहिले ती पशुचौपायालाई उचित आहारा र औषधी उपचारको अभाव देखिएको छ ।
विरामी पशुचौपायाको उपचारका लागि उपमहानगरपालिकाले तत्कालै चिकित्सक र औषधी पठाएको खण्डमा मरणासन्न अवस्थामा रहेका पशुचौपायको उद्दार हुने र अन्य गाईगोरू विरामी हुनबाट बच्ने स्थानीय बताउँछन् ।

यसअघि तत्कालिन शहरी विकास मन्त्री मो. इस्तियाक राईले काञ्जि हाउस मर्मत तथा यहाँका गाईगोरूको उचित आहारा व्यवस्थापनका लागि नेपालगन्ज ग्यालरीलाई ५० हजार प्रदान गरेका थिए । यसपछि मन्त्री राईले काञ्जि हाउसको मर्मत, सम्भार तथा गाईगोरूको उचित आहारा र व्यवस्थापनका लागि एक करोड बजेट विनियोजन गरेको उद्घोष गरेका थिए ।
तर, अहिले काञ्जि हाउसका गाईगोरूले उचित आहारा र औषधी उपचार नपाई छ्टपटाईरहेका छन् । मन्त्री राईले उद्घोष गरेको एक करोड बजेट अहिले पनि काञ्जि हाउसका लागि प्रयोग हुन सकेको छैन् ।
मन्त्रीले उद्घोष गरेको उक्त विनियोजित बजेट कहाँ, कसरी कुन अवस्थामा कोसँग रहेको छ ? भन्ने बारे समेत नेपालगन्जबासी अनभिज्ञ छन् । यसबारेमा मन्त्री राईसँग बुझ्न खोज्दा बिहीबार साँझ यो समाचार तयार पार्दासम्म उनीसँग सम्पर्क हुन सकेन् ।
तत्कालिन अवस्थामा काञ्जि हाउसमा रहेका गाईगोरुलाई आहारा लगायत उनीहरूको व्यवस्थापनमा लागि परेको नेपालगन्ज ग्यालरीका परिकल्पनाकार समीरमान श्रेष्ठले शुरूमा ग्यालरीले पशुचौपायको व्यवस्थापनमा काम गरेको बताएका छन् ।
तत्कालिन अवस्थामा उपमहानगरपालिका लगायतले काञ्जि हाउसका लागि सबै व्यवस्था भइसक्यो भनेपछि हामीले काम गर्न छोडेका हौं श्रेष्ठले भने ‘मन्त्री राईले शुरूमा दिएको ५० हजारले शिविर सञ्चालन गरेका थियौं ।’ मन्त्रीले त्यसपछि अरू रकम दिनु भएन् उनले भने ‘ कान्जि हाउस व्यवस्थापन तथा निर्माणका लागि मन्त्री राईले एक करोड दिने उद्घोष त गर्नुभएको हो । तर, त्यो रकम आयो आएन थाहा भएन् ।’
यता नेपालगन्ज उपमहानगरपालिकाका मेयर डाक्टर राणाले काञ्जि हाउसमा गाईगोरू विरामी भएको बारे आफूलाई बिहीबार साँझसम्म कसैलेपनि खबर नगरेको बताएका छन् । काञ्जि हाउसमा देखिएको समस्या तत्कालै समाधान गर्ने र गाईगोरूको उपचारका लागि शुक्रबार नै चिकित्सक पठाउँने उनी बताउँछन् ।