काठमाण्डौं: काठमाण्डौको भृकुटीमण्डपमा मिडिया प्रर्दशनी हुने भएकोछ । आगामी अप्रील १२, १३ र १४ मा मिडिया प्रदशनी हुन लागेको हो ।
एकेडमी अफ मिडिया एण्ड ईभेन्टम्यानेजमेन्टले गत बुधबार राजधानीमा पत्रकार सम्मेलनगरि सो जानकारी दिएको हो ।
परियोजना प्रमुख डम्बर साहुले–नेपालमै पहिलो पटक हुन लागेको मिडिया प्रर्दशनी नेपालको मिडिया क्षेत्रको समग्र विकास र बिस्तारको लागि एक खुड्किलो सावित हुने बताए । उनले यस प्रर्दशनीले मिडिया तथा सम्बन्धित क्षेत्रमा साना, मध्यम तथा ठूला गरि सबै प्रकारका सरकारी, गैह्रसरकारी तथा निजी लगानीबाट सञ्चालित र प्रसारित एवं प्रकाशित सबै किसिमका सूचना÷सञ्चार÷प्रबिधी सम्बन्धी कम्पनीहरु, संघसंस्थाहरु र ती संघसंस्थाहरुसंग आबद्ध सरोकारवालाहरु एउटै छाता मुनी आउने विस्वास व्यक्त गरे ।
नेपालमै पहिलो पटक हुन लागेको मिडिया प्रर्दशनीमा नेपालका बिभिन्न सरकारी तथा गैह्रसरकारी संघ–संस्थाहरुले सहकार्य गरेका छन् । जसअन्तर्गत नेपाल पत्रकार महासंघ, सामुदायीक रेडियो प्रसारक संघ, नेपाल, नेपाल केबुल टिलिभिजन महासंघ, नेपाल विज्ञापन संघ, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल च्याम्बर अफ कमर्स र सि.ई.ओ क्लब लगायतका सरकारी,गैह्रसरकारी लगायतले सहकार्य र सहयोग गरेको साहुले जानकारी दिए ।
नेपाल बिज्ञापन संघका अध्यक्ष रबिन्द्र कुमार रिजालले भने मिडिया र बिज्ञापन सम्बन्धि बिभिन्न कार्यक्रमहरु सरकार वा संघले गर्नुपर्नेमा परियोजनाले गर्नलागेकोमा धन्यबाद ब्यक्त गरे ।
कार्यक्रममा सामुदायिक रेडियो प्रसारक संघ नेपालका अध्यक्ष सुवास खतिवडाले एक्स्पोले रेडियो तथा टेलिभिजन क्षेत्रलाई नयाँ मोड दिने र प्रर्दशनीमा दर्शकहरुले विश्वमा हाल प्रयोग भैरहेको उच्चतम मिडिया प्रबिधिहरुबारे जानकारी पाउने बताए ।
नेपाल अनलाईन पत्रकार संघका अध्यक्ष शिवकुमार सत्यालले यस्ताखाले मिडिया प्रर्दशनीले नेपालको अनलाईन मिडिया ईन्डस्ट्रिको लागि कोसे ढुङ्गा हुने बताए ।
आयोजक संस्थाका अनुसार हालसम्म २३ देशका १५० भन्दा धेरै कम्पनी तथा संघ–संस्थाहरुले सहभागी जनाउने अपेक्षा गरिएको जानकारी दिदै हालसम्म ३१ वटा कम्पनीहरुले बुकिङ्ग गरिसकेको जनाएकोछ । प्रर्दशनीमा करिब ४५ हजार दर्शकहरुले अवलोकन गर्ने आयोजकले आशा राखेकोछ । प्रदशनिलाई शसक्त र व्यवस्थित गर्नका लागि बोर्डकास्टिङ प्याभिलियन, आई.सि.टि.प्याभिलियन, न्यू मिडिया र अनलाईन मिडिया प्याभिलियन, एडभर्टाईजिङ प्याभिलियन गरि ४ भागमा विभाजन गरिएको छ ।