भेरी अस्पतालको सेवाः सन्तुष्टि भन्दा असन्तुष्टि धेरै


भेरी अस्पतालको सेवाः सन्तुष्टि भन्दा असन्तुष्टि धेरै

नेपालगन्ज : प्रस्तावित लुम्बिनी प्रदेशको एक मात्र संघीय भेरी अस्पताल अस्पतालको सेवाबाट सन्तुष्टि लिने भन्दा असन्तुष्टि हुनेको संख्या दिनप्रतिदिन बढ्दै गएको छ ।

यहाँ आउने विरामीमध्ये ९३ प्रतिशतले अस्पतालको सेवा सुविधा, चिकित्सकको व्यवहार सररसफाईप्रति असन्तुष्टि देखिएका छन् । अस्पतालमा दैनिक एक हजारको हाराहारीमा बिरामी उपचारका लागि आउने गरेको अनुमान गर्न सकिन्छ । तर, अस्पतालसँग दैनिक आउने विरामीको यकिन विवरण लिपिबद्ध छैन् ।

आईतबार अस्पतालमा भेटिएका अधिकांश विरामी र उनका आफन्तले अस्पतालको उपचार सेवा, चिकित्सकको व्यवहार राम्रो नभएको गुनासो गरेका छन् । अस्पतालमा चिकित्सक र नर्सले गर्ने व्यवहारदेखि सरसफाइ, खानेपानी र फार्मेसी सेवा सम्बन्धमा पनि बिरामीले गुनासो गरेका छन् । सद्भावले अस्पतालले दिने सेवा सम्बन्धमा आईतबार गरेको अध्ययनमा अधिकांश बिरामीले अस्पतालको सेवाबाट असन्तुष्टि व्यक्त गरेका छन् ।

सद्भावको सर्वेक्षणअनुसार अस्पताल आउने बिरामीमध्ये ९३ प्रतिशत बिरामीले अस्पतालको सेवाबाट सन्तुष्ट नभएको बताएका थिए ।
बाँकी सात प्रतिशत बिरामीले मात्रै अस्पतालको सेवा राम्रो भएको प्रतिक्रिया दिएका थिए । बिरामीले अस्पतालमा चिकित्सक र नर्सले गर्ने व्यवहार समेत ठिक नभएको बताएका थिए ।

Kanti Aarogya Hospital Nepalgunj

अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये ६९ प्रतिशतले चिकित्सकको व्यवहार ठीक नभएको प्रतिक्रिया दिएका थिए । अस्पताल आउने सात प्रतिशत बिरामीले मात्रै चिकित्सककोे व्यवहार ठिक लागेको बताएका छन् ।

अस्पतालमा उपचारका लागि आउने बिरामीले प्रश्न गर्दा चिकित्सक र नर्सहरूले उत्तर दिन झर्को मान्ने, बिरामीसँग राम्रो व्यवहार नगर्ने गुनासो यसअघि पनि गर्दै आएका थिए ।

अस्पतालको उपचार सेवा, सरसफाइ, खानेपानी र फार्मेसी सेवाका विषयमा समेत अधिकांश बिरामीले गुनासो गरेका छन् । अस्पतालको फार्मेसीमा सबै किसिमका औषधि नभएका कारण ७० प्रतिशत बिरामीले अस्पताल बाहिर निजी क्लिनिकबाट औषधि खरिद गर्नु परेको बताए ।
अस्पतालमा आएका बिरामीमध्ये ल्याब जाँच गर्नुपर्ने बिरामी चिकित्सक र नर्सको सिफारिसमै निजी क्लिनिकमा जाने गरेका छन् । अस्पतालमा ल्याब परीक्षण गराउँदा सस्तो पर्ने भए पनि आफूलाई आउने कमिशनका कारण चिकित्सक र नर्सले निजी क्लिनिकमा ल्याब परीक्षण गर्न पठाउने गरेका छन् ।

त्यसरी चिकित्सक र नर्सको सिफारिसमै ल्याब जाँच गर्न बाहिर जाने बिरामी ४० प्रतिशत रहेका छन् । अस्पतालको सरसफाइमा सुधार हुन नसक्दा बिरामीका गुनासा पुरानै छन् । बिरामीले प्रयोग गर्ने शौचालय समेत प्रयोग गर्न लायक छैन । शौचालयको दुर्गन्धका कारण अस्पतालमा बस्न समेत समस्या भएको बिरामीको गुनासो छ । अस्पताल आउने ९७ प्रतिशत बिरामी अस्पतालको सरसफाइ राम्रो नभएको बताउँछन् ।
यो अस्पतालमा प्रस्तावित लुम्बिनका मात्रै नभई कर्णाली र सुदुरपश्चिम प्रदेशबाट समेत विरामीहरू उपचारका लागि आउने गरेको अस्पतालमा मेडिकल सुपेरिटेण्डन डाक्टर रूपानन्द अधिकारी बताउँछन् ।

अस्पतालको सेवा प्रभावकारी बनाउन कर्मचारीको अनुशासन, सरसफाई र व्यवहारलाई विशेष ध्यान दिएको मेसु अधिकारीको दाबी छ ।
अस्पतालमा प्रायः सबै रोगका विशेषज्ञ छन् । तर, अस्पतालका जागिरे चिकित्सकले अस्पतालभित्र भन्दा बाहिरका निजी क्लिनिकमा बढी समय दिदै आएका छन् । यद्यपी यहाँका डाक्टरहरू राउण्ड समेत ढोका बाहिरैबाट गर्ने गरेको विरामीको गुनासो छ ।