औषधी खुवाउनै कठिन


औषधी खुवाउनै कठिन

नेपालगन्ज: सरकारले लाखौं खर्च गरेर वर्षेनी हात्तीपाइले रोगविरुद्धको औषधि सेवन अभियान चलाए पनि नेपालगन्ज उपमहानगरपालिकामा ठूलो संख्याले औषधि सेवन नगरिदिँदा बाँकेमा अभियान नै ‘फेल’ भइरहेको छ ।

वि.सं. २०६७ साल देखि बाँकेमा हात्तीपाईले रोगविरुद्ध औषधी खुवाउने कार्य चल्दै आएको छ । अभियान सञ्चालन गर्नुपुर्व २०६६ सालमा साविकको रझेना गाविसको ६ र ७ वडामा १ सय १ जनाको रगत जाँच गर्दा २१ जनामा अर्थात २१ प्रतिशतमा यो रोग देखा परेको थियो ।
पाँच वर्ष औषधी खुवाईसकेपछि २०७२ सालको माघको ३ र ४ गते नेपालगन्ज र रझेनाका ६ सय २४ जनाको रगत जाँच गर्दा ९९ जनामा यो रोग देखा परेको थियो ।

जिल्लामा दश वर्ष अभियान चल्दा जिल्लामा दश प्रतिशत बिरामी घटेका छन् । पहिलो चरणको अभियान चल्दा जिल्लामा २१ प्रतिशत रोगी थिए । अहिले १० प्रतिशत रहेको तथ्याङ्क छ ।

नेपालगन्ज उपमहानगरपालिकाको वडा नम्बर ३ मा गत वर्ष ६ प्रतिशतले मात्रै हात्तीपाइले रोगविरुद्धको औषधि सेवन गरे । ७ नम्बर वडामा १२ प्रतिशत, ८ नम्बर वडा र ११ नम्बर वडामा १३–१३ प्रतिशतले हात्तीपाइले रोगविरुद्धको औषधि खाए ।

Kanti Aarogya Hospital Nepalgunj

नेपालगन्ज उपमहानगरपालिकामा मात्रै सरकारले एकपटकको अभियानमा १७ करोड बढी खर्च गर्ने गर्दछ । यसपाली १७ लाख ३९ हजार ८ सय ५० रुपैयाँ खर्च गर्दैछ । अरु सात वटा पालिकाको खर्च जोड्दा ठूलो बजेट हुने देखिन्छ । तर, औषधी खाने दर भने बढ्न सकेको छैन ।

आगामी माघ २५, २६ र २७ गते बाँकेमा दशौँ पटक औषधि सेवन गराइँदैछ । यसपाली हरेकलाई औषधि खुवाउने रणनीति अनुसार नेपालगन्ज उपमहानगरपालिकाले मंगलबार स्थानीय तहस्तरीय योजना तर्जुमा तथा बहुनिकाय गोष्ठी गरेर ‘कसरी औषधिको कभरेज बढाउन सकिन्छ ?’ भन्ने विषयमा छलफल गरेको छ ।

नेपालगन्जका मेयर डाक्टर धवलशमशेर राणाले औषधि सेवनको कभरेज बढाउनेलाई पुरस्कृत र कम खुवाउनेलाई दण्डित गर्ने बताए । ‘जसले ८५ प्रतिशत भन्दा बढी खुवाउँछ । त्यसलाई म पुरस्कृत गर्छु । त्यसको वडामा बजेट थपिदिन्छु । जुन वडाले ६५ प्रतिशत औषधि खुवाउन सक्दैन, त्यसलाई कारबाही गर्छु’, मेयर राणाले भने, ‘औषधि खुवाएर जनतालाई बचाउन सकिँदैन भने बाटो बनाएर के गर्नु ?’

नेपालगन्ज उपमहानगरपालिकामा गत वर्ष ४० प्रतिशतले औषधि खाएको जिल्ला स्वास्थ्य कार्यालयका हात्तीपाइले रोगविरुद्धको फोकल पर्सन दुर्गा गौतमले जानकारी दिइन् । जिल्लाको कभरेज ५४.९८ प्रतिशत थियो ।

पहिलो वर्ष ८५.७४ प्रतिशतले औषधी खाएका थिए । पहिलो चरणमा भएका केही गल्तीले गर्दा दोस्रो चरणदेखि जिल्लावासीले औषधी खान कम गरिदिएका थिए । दोस्रो वर्ष ४७.४३ प्रतिशतमा झरेको थियो । त्यसपछि ६३.०२ प्रतिशत, ६७ प्रतिशत, ७१ प्रतिशत, ६५ प्रतिशत, ६७.१३ प्रतिशत, ६५.८९ प्रतिशत र सन् २०१९ मा ५४.९८ प्रतिशतले औषधी खाएका थिए ।

यसपालीको अभियानमा जनप्रतिनिधिले सम्झाउने, स्कूलमा खुवाउने व्यवस्था मिलाउने, औषधि सेवनपछि हुने इफेक्टका बारेमा बताउने लगायतका विषयमा छलफल भएका छन् ।

छलफलमा नेपालगन्ज उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख डिल्ली पोखरेल, जिल्ला स्वास्थ्य कार्यालयका अधिकृत अंगद शाहीलगायत जनप्रतिनिधिहरुको उपस्थिति थिए ।