मेडिकल कलेजको १३ बिगाह जमिन बेउपयोगी


मेडिकल कलेजको १३ बिगाह जमिन बेउपयोगी

नेपालगन्ज : बाँकेको कोहलपुर नगरपालिकास्थित लर्ड बुद्ध एजुकेसनल एकेडेमी लिमिटेडको १३ विगाह जमिन बेउपयोगी हुँदा गौचरणमा परिणत भएको छ ।

अस्पतालको भौतिक संरचना निर्माणका लागि तत्कालिन श्री ५ को सरकारले प्रदान गरेको उक्त जमिन एकेडेमीको लापरबाही र उदासिनताले अहिलेसम्म बेउपयोगी बनेको हो ।

उक्त जमिन २३ बर्ष देखि प्रयोगमा आउन सकेको छैन् । एकेडेमीले तत्कालिन श्री ५ सरकारसँग एकेडेमी सञ्चालनका लागि २३ बुदें सम्झौता गरी उक्त जमिन लिजमा लिएको थियो ।

सम्झौतामा उक्त लिजमा लिएको जमिनमा नै अस्पताल निमार्ण गरी सञ्चालन गर्ने सहमति भएको छ । तर, एकेडेमीले सम्झौता विपरित कोहलपुर नगर विकास समितिबाट सहुलियत दरमा १० विगाह जमिन लगेर सोही जमिनमा भौतिक संरचना बनाई अस्पताल सञ्चालन गरेको भेटिएको छ ।

Kanti Aarogya Hospital Nepalgunj

अहिले कोहलपुरमा रहेको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल सञ्चालन भएको जमिन नगर विकास समितिबाट प्राप्त सहुलियतको हो । अस्पतालले सरकारी जमिन जुन पहिले सरकारबाट प्राप्त गरेको छ त्यसैमा संरचना बनाएर अस्पताल शुरू गर्नुपर्ने हो एक जानकारले भने ‘उसले उक्त जमिन बाँझै वा अलपत्र छोडेर नगर विकासको जमिन कब्जा गरी भौतिक संरचना निर्माण गरेको देखिएको छ ।’

४९ वर्षका लागि लिजमा लिईएको जमिनमा एकेडेमीले अहिले सम्म कुनै पनि संरचना निर्माण नगरेको कोहलपुर नगर विकास समितिका अध्यक्ष लुटबहादुर रात बताउँछन् ।

तत्कालिन श्री ५ को सरकार शिक्षा मन्त्रालयका तर्फबाट निमित्त सचिब जयराम गिरी र लर्डबुद्ध एजुकेशनल एकेडेमीका अध्यक्ष मुकुन्दभक्त श्रेष्ठले २०५३ पौष ४ गते उक्त जमिन लिजका लागि २२ बुदेँ सम्झौैता पत्रमा हस्ताक्षर गरेको खुलेको छ ।

साविक रझेना गाविस.वडा नम्वर–४, को कित्ता नम्वर ९८ मा रहेको १३ विगाह जमिन लिजमा लिईएको थियो । अहिले उक्त कित्ता जमिनमा मन्दिर निर्माण र जनविश्वास सहकारी संस्थाको भवन यातायात व्यवस्था कार्यालयले ट्रायल स्थल र सिटिईभिटिको भवन निर्माण भएको छ ।
उक्त जमिनमा कोहलपुर नगरपालिकाको कभर्ड हल निर्माण गर्ने तयारी गरिएको छ । सोही जमिनमा अहिले मेडिकल कलेज कोहलपुरमा कार्यरत सुईपर पदका कर्मचारीको बसोबास रहेको छ ।

सम्झौतापत्र अनुसार वडा नम्वर २ मा रहेको उक्त जग्गा तथा भवनहरु बेचबिखन दान दातब्य वा अन्य कुनै तरिकाबाट अरू कसैलाई हस्तान्तरण गर्न पाउने छैन । उक्त जग्गा लिजमा लिए वापत एकेडेमीले नेपाल सरकारलाई वार्षिक रुपमा एक लाख भाडा दिने सहमति भएको छ । उक्त जमिन श्रेस्ता दर्ता गर्न केही भुमाफिया सक्रिय भएको समेत खुलासा भएको छ ।

एकेडेमी तथा नेपालगन्ज मेडिकल कलेजका प्रवन्ध निर्देशक सुरेश कनोडिया भने उक्त जमिन सरकारलाई फिर्ता गरिसकेको बताउँछन् । जग्गा नेपाल सरकारको हो, हामीले संस्थागत रूपमै निर्णय गरेर नेपाल सरकार लाई फिर्ता गरिसक्यौ उनले भने ‘अब सरकारले के गर्छ हामीलाई थाहा छैन् ।’

सम्झौता अनुरूप काम नभए पछि जग्गा फिर्ता लिने प्रक्रियामा अघि बढाईएको नगर विकास समितिका अध्यक्ष समेत रहेका कोहलपुर नगरपालिकाका मेयर लुटबहादर रावत बताउँछन् ।

लर्ड बुद्ध एजुकेशनल एकेडेमीले जग्गा प्रयोग गर्नुहोस भन्ने पत्र नगरपालिकामा पठाएको पनि बताएका छन् । नगरपालिकाले यातायात व्यवस्था कार्यालय नेपालगन्जलाई भवन निर्माणका लागि ५ कठ्ठा जमिन उपलब्ध गराएको उनी बताउँछन् । तर, जमिन उपलब्ध गराएको लामो समयसम्म पनि यातायातले ट्रायल सेन्टर मात्र चलाएको र भवन निर्माणका कुनै पनि काम हुन सकेको छैन् ।

सम्झौतापत्रमा ४९ वर्ष पछि जग्गा निर्माण भएको भवन लगायतका संरचना, उपकरण र अन्य सामाग्रीहरु नेपाल सरकारको मातहतमा हुने सहमति भएको छ । एकेडेमीले जमिन लिज वापत अस्पतालले एक जना विद्यार्थी बराबर सात शैयाको अस्पताल निर्माण गर्ने, आर्थिक अवस्था कमजोर रहेका असमर्थ नेपाली नागरिकलाई निःशुल्क औषधी र ३० प्रतिशत शैया पनि उपलब्ध गराउने सहमति भएको छ ।